बास्कोटाले दिए पूर्व युवराज पारसलाई कारवाही गर्ने चेतावनी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बास्कोटाले दिए पूर्व युवराज पारसलाई कारवाही गर्ने चेतावनी



सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले कानून उल्लंघन गर्ने कसैलाई पनि नछोड्ने बताएका छन्।

मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालाय आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्काेटाले पूर्व युवराज पारस शाहप्रति लक्षित गर्दै कानूनी कारबाही गर्ने चेतावनी दिएका हुन्। संविधानभन्दा माथि कोही नरहेकोले कानून अनुसार पारसलाई दण्डित गर्ने मन्त्री बास्काेटाकाे भनाइ थियाे।

केही दिन अघि विमानस्थलमा पूर्व युवराज पारसले ड्युटीमा रहेका एक प्रहरी अधिकारीमाथि हातपात गरेको विषयमा सरकारले छानबिन गरिरहेको र आवश्यक कारबाही गर्ने मन्त्री बास्कोटाले जानकारी दिए। पुर्व युवराज पारसकाे उद्दण्डताबारे सञ्चारकर्मीकाे जिज्ञासामा उनले सरकारले ‘युवराज स्युवराज नचिन्ने नागरिक मात्रै चिन्ने’ बताए।

उनले भने, ‘पहिलाका खानदानी हौँ भन्नेहरुलाई केही सुरक्षा थ्रेट होला कि भनेर सरकारले सुरक्षाकर्मी दिएको हो। तर, सुरक्षा र छुट बेग्लै कुरा हो। सरकारले सुरक्षा दिन्छ, कसैलाई छुट दिँदैन।’

उनले नागरिकलाई सुरक्षा दिनु सरकारको दायित्व भएको बताए। उनले सुरक्षा कर्मीको दुरुपयोग हुन नसक्ने बताए। ‘सुरक्षाकर्मीको दुरुपयोग हुन सक्दैन। संविधानभन्दा माथि कोही पनि छैन’, उनले भने, ‘संविधानभन्दा माथि हुने चीजको अन्त्य गरेरै गणतन्त्र ल्याएको हो।’

मन्त्री बास्कोटाले राजतन्त्रका नाममा राजनीति गर्नेहरु डाइनोसर हुने ठोकुवा पनि गरे। उनले भने, ‘चिहानमा आराधना गरेर राजन्त्र फर्कँदैन। भूपू मायालुको यादमा तड्पनेहरु तड्पिरहुन्। हाम्रो भन्नु केही छैन।’ राजतन्त्रको हाउगुजी नदेखाउन चेतावनी दिँदै उनले भने, ‘को राजा? कस्तो राजा? कहाँबाट ल्याउने भनेको हो राजा? लावण्य देशबाट? हामीकहाँ त कुनै राजा छैन।’

उनले राजतन्त्रविरुद्ध लाखौँ जनता सडकमा उत्रेर राजतन्त्र अन्त्य गरेकोले गणतन्त्रको धरातल त्यति कमजोर नरहेको जिकिर पनि गरे।