कांग्रेसभित्र अन्यायमा परेका नेताले एमालेसँग छलफल गरिरहेका छन्- महेश बस्नेत - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

कांग्रेसभित्र अन्यायमा परेका नेताले एमालेसँग छलफल गरिरहेका छन्- महेश बस्नेत



काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतले कांग्रेसभित्र अन्यायमा परेका नेताहरु आफ्नो पार्टीको छलफलमा रहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’सँग कुरा गर्दै बस्नेतले कांग्रेसका नेताहरू एमालेसँग निरन्तर छलफलमा रहेको बताए ।

“कांग्रेसभित्र संस्थापनको पेलाइमा परेका र अन्यायमा परेको भन्ने साथीहरुसँग पनि कुराकानी भइरहेको छ । त्यसले पनि चुनावमा जानेबारे मूर्त छलफल हुन बाँकी छ, उनले भने ।”

बस्नेतले लोसपाले आफ्नो स्ट्रेन्थभन्दा बढी सिट मागेको समेत बताएका छन । “हामी आफ्नै संगठनका भरमा निर्वाचन लड्ने तयारीमा छौं । राप्रपा, लोसपासँग पनि सहकार्यका लागि छलफल चलिरहेको छ । तर अन्तिम निष्कर्ष निस्केको छैन, उनले भने ।”

बस्नेतले एमाले अहिले गुटबन्दीमुक्त भएकाले चुनावमा सहज नतिजा आउने समेत बताएका छन् । उनले भने, “पार्टीमा पहिले संस्थागत गुटबन्दी थियो । माधव नेपाल, प्रचण्डहरू निस्केपछि पिलो निचोरेर फालेजस्तो भएको छ । आफ्नो सरकार ढालेर कांग्रेसलाई सत्ता बुझाउने प्रवृत्तिको अवशेष देखिएको छ, उनले भने ।”

घनश्याम भुसालले मिडिया खपतका लागि फरक मत राख्ने गरेको उनको आरोप छ । “घनश्याम कमरेडमा फरक देखाउने रोग छ । एक पाना लेखेर कमिटीमा र सार्वजनिक खपतका लागि मिडियामा बोल्नुहुन्छ । अरु नेतामा म त्यो समस्या देख्दिनँ, उनले भने।”

स्थानीय तहको निर्वाचनमा ८५ पालिकामा पार्टीकै अन्तरविरोधका कारण हारेकाले यसपटक सुधार्नुपर्ने पनि उनले  बताए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेका १० भाइलाई आत्मालोचना गर्न लगाएको भन्ने कुरा अफवाह मात्र भएको पनि बस्नेतको दाबी छ ।

उनले थपे, “१० भाइ त उहिलेको कुरा हो । अध्यक्ष ओलीले टिकट लिन सर्त राखेको भन्ने कुरा गलत हो । अब उहाँहरुलाई १० बुँदेका नजरले हेर्नु अन्याय हुन्छ ।” आफूले संघीयता खारेज गर्नेभन्दा पनि समीक्षा गरौं भनेको बस्नेतले स्पष्ट पारे ।