महेश बस्नेतको दाबी- मेरो क्षेत्रको विकास भैसक्यो, २६ अर्बभन्दा बढी ल्याएँ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

महेश बस्नेतको दाबी- मेरो क्षेत्रको विकास भैसक्यो, २६ अर्बभन्दा बढी ल्याएँ



काठमाडौं- नेकपा एमालेका नेता एवं भक्तपुर २ का उम्मेदवार महेश बस्नेतले आफ्नो विजयमा कुनै शंका नभएको दाबी गरेका छन् ।

‘म घरदैलोको अन्तिम चरणमा छु । जनताको रेस्पोन्स र माया अत्यधिक छ । मिडियाका साथीहरु पनि मसँगै हिँडिरहनुभएको छ । मैले अनपेक्षित प्रश्न सामना गर्नुपरेको छैन । मलाई धन्यवाद दिने, माला लगाउने, माला खोल्न नदिने, योजना माग्ने गरिरहनुभएको छ । म आफ्नो विजयमा ढुक्क छु,’ रेडियो एनआरएनसँग कुरा गर्दै बस्नेतले भने ।

पूर्वमन्त्रीसमेत रहेका बस्नेतले आफ्नो क्षेत्रमा आधारभूत विकास भइसकेकाले अब स्मार्ट विकासको पहल हुने बताए । उनले थपे, ‘मेरो क्षेत्रमा कांग्रेसले तीन पटक जित्यो । संसदमा एक मिनेटको शून्य समय पनि सदुपयोग गरेनन्, विकासमा सिन्को भाँचेनन् । नेमकिपाले दुई पटक जित्यो । उसले पनि नियमापत्ति र विरोधलाई मात्र कर्तव्य सम्झ्यो । मैले आफ्नो निर्वाचन क्षेत्रमा २६ अर्बभन्दा बढी बजेट ल्याएर आधारभूत विकास गरें र अब स्मार्ट विकासमा केन्द्रित हुन्छु ।’

साथै उनले पराजित मानसिकता भएका उम्मेदवारले अनेक प्रपोगान्डा गरेको आरोप पनि लगाए । बस्नेतले भने, ‘जसले जति कुप्रचार गरे पनि भक्तपुरमा मैले जति परिवर्तन कसैले गरेको छैन । व्याख्या, विश्लेषण आआफ्नो कुरा हो । जनता न्यायाधीश हुन् । भक्तपुरमा एमालेको मत बढेको बढ्यै छ । मलाई पार्टीभन्दा बाहिरका मतदाताले पनि फरक ढंगले हेर्ने गरेका छन् ।’माओवादी केन्द्र र एकीकृत समाजवादीको उल्लेख्य भोट नभएकाले त्यसको सहारामा कांग्रेसले जित्न नसक्ने उनको ठोकुवा छ ।

उनले नेकपा एमालेको बहुमतका आधार धेरै भएको दाबी पनि गरे । उनले भने, ‘गठबन्धन भनेको राष्ट्रघात, महँगी र भ्रष्टाचारको पर्याय हो । एमाले भनेको देशभक्ति, समृद्धि र सुशासन हो । हाम्रो नेतृत्व र एजेन्डामा जनताको विश्वास छ ।’