प्रचण्डसँग गुहार माग्दै बतास समूह - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रचण्डसँग गुहार माग्दै बतास समूह



काठमाडौं- ऐतिहासिक नारायणहिटी दरबार संग्राहालयभित्र रेस्टुरेन्ट लगायतका संरचना बनाएको बतास समूह यतिबेला थाल खाउँ कि भात खाउँको अवस्थामा पुगेको छ ।

पर्यटनमन्त्री प्रेम आलेले संग्राहालयभित्र रेस्टुरेन्ट लगायतका संरचना बनाउन रोक लगाएपछि बतास समूहले पूर्ववर्ती सरकारलाई प्रलोभनमा पारेर कब्जा जमाएका अनेक तथ्यहरू बाहिरिन थालेपछि बतास समूह तनावमा परेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानमन्त्री पत्नी आरजु राणासँग घनिष्ठ सम्बन्ध रहेको बताउने बतास समूह उनीहरूले पनि कुरा सुन्न छाडेपछि नेताहरू फकाउन घरदैलोमा पुग्न थालेको छ । आफू केपी ओलीको ज्वाईँ भएको र कसैले केहि गर्न नसक्ने बताउने बतास समूहका प्रमुख आनन्द बतासले प्रमुख दलका नेताहरूलाई आफूलाई सहयोग गर्न आग्रह गर्न थालेका छन् ।

अन्य नेताहरूले सहयोग गर्न नसकिने बताएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अनुनय बिनय गरेको खुलेको छ । विवादित व्यवासायी सारदाप्रसाद अधिकारी मार्फत आफूलाई बचाइदिन प्रचण्डसँग आनन्द बतासले आग्रह गरेको खुलेको छ ।

बिहिबार साँझ हात्तिवन रिसोर्टमा अध्यक्ष प्रचण्ड परिवारसहित शारदा अधिकारी पनि पुगेको थिए । अधिकारीमार्फत आनन्द बतासले प्रचण्डलाई फोन गरेको स्रोतको दाबी छ । स्रोतले बताएअनुसार अधिकारीमार्फत बतासले ‘जे भयो भै हाल्यो, थप क्षती नगरिदिनुस, बरू मैले के गर्नुपर्छ त्यो गर्न तयार छु, मन्त्री आलेलाई सम्झाईदिनुस्’ भन्दै आग्रह गरेका थिए ।

स्रोतका अनुसार फोनमा त्यति लामो कुरा नगरेपनि बतासले निकै ‘अनुनय बिनय’ गरेका थिए । प्रचण्डका घरबेटी अधिकारीले मध्यस्थता गर्न खोजेको बुझिएको छ ।

तर प्रचण्डले भने आलेलाई कुनै दबाब नदिएको आलेनिकट स्रोतले बताएको छ ।

थप ‘एक्सन’मा मन्त्री आले

पर्यटनमन्त्री आलेले नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिइएको अनुमतिका विषयमा छानबिन समिति गठन गरेका थिए ।

उनले बिहीवार पर्यटन मन्त्रालयका सहसचिव होमप्रसाद लुईटेलको संयोजकत्वमा छानविन समिति गठन गरेका थिए । त्यसलगत्तै शुक्रबार नारायणहिटीभित्रका सबै संरचना हटाउन बतास समूहलाई आइतबारसम्मको अल्टिमेटम समेत दिइसकेका छन् ।

समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणी गौतम र कानूनका उपसचिव पुरुषोत्तम खतिवडा सदस्य रहेको स्रोतले बताएको छ ।

आलेले उक्त समितिलाई तीन दिनभित्र छानबिन प्रतिवेदन पेश गर्न निर्देशनसमेत दिएका छन् । आलेको यो निर्देशनले बतास समूह र तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई अप्ठेरोमा परेका छन् ।

नारायणहिटी दरबारभित्र क्याफेसम्म संचालन हुन सक्ने भन्दै तत्कालीन पर्यटनमन्त्री भट्टराईले संसदीय समितिमा अभिव्यक्ति दिएका थिए । भट्टराईले अस्वीकार गरेपनि नारायणहिटीभित्र क्याफे लगायतका अन्य व्यवसाय संचालन हुनुमा भट्टराईको समेत हात रहेको खुलासा भइसकेको छ ।

नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट चल्न थालेको समाचार ब्रेक भएपछि देशैभरबाट बतासको कब्जामा रहेका सरकारी सम्पत्तिका बारेमा भटाभट समाचारहरू आउन थालेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा पोखराको सेती नदी ४० वर्षसम्म बतासलाई उत्खनन गर्न लीजमा दिइएको खुलेको छ भने पशुपतिनाथ परिसर भित्र रहेको धर्मशालालाई होटेल बनाएर चलाइएको पनि खुलासा भएको छ ।

पोखराको संग्राहलय, पाटन दरबार स्क्वायरलगायत धेरै सरकारी र ऐतिहासिक महत्वका स्थानहरूमा बतासले आफ्नो कब्जा जमाएको बताइएको छ ।

जुन राजनीतिक दल सत्तामा हुन्छ त्यसैसँग निकट रहेर देशभरिका ऐतिहासिक स्थानहरू कब्जामा लिएर व्यवसाय गर्ने गरेको बतास समूह यतिबेला आफ्नो कर्तुत छोप्न प्रधानमन्त्रीलगायत अन्य नेताहरूको दैलो धाउन थालेको छ ।