बामदेवले ईश्वरलाई बाटो तताउनुहोस् भनेपछि... - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

बामदेवले ईश्वरलाई बाटो तताउनुहोस् भनेपछि…



काठमाडौं- शनिबार दिउँसो बोलाइएको नेकपा सचिवालयको बैठकमा पहिले झैं अध्यक्ष तथा प्रधानमन्त्रीप्रति अन्तिममा निर्णायक समर्थन जुटाउन उपाध्यक्ष वामदेव गौतमको भैंसेपाटीस्थित गौतम निवास जाने जिम्मेवारी थियो उपप्रधानमन्त्री ईश्वर पोखरेललाई ।

शुक्रवार साँझ झण्डै डेढ घण्टा भएको वार्तामा पोखरेलले धेरै कोणबाट कुरो कोट्याउँदा पनि गौतम नगलेपछि अन्ततः पोखरेल नै गौतमको कुरो सुन्न बाध्य भएको बताइन्छ ।

गौतमको हवाला दिँदै स्रोत भन्छ ‘हेर्नुस् कमरेड, अब तपाईं पनि त्यतातिर नलाग्नोस् । केही हुनेवाला छैन । त्यता लागेकोमा म तपाईंको पनि भविश्य देख्दिँन । अब जे गरेपनि तपाईंलाई न अध्यक्षमा अघि सार्छन् न प्रधानमन्त्रीमा । त्यसैले बरु बेलैमा बाटो तताउनुहोला ।’

उता, महासचिव विष्णु पौडेलसँगको भेटमा पनि गौतमले पोखरेललाई जस्तै मिहिन ढङ्गले सम्झाएर पठाएको स्रोतको दाबी छ । पार्टिभित्रको गतिरोधको सम्बन्धमा शनिबारको सचिवालय बैठकबाट जसरी पनि समाधान निकाल्ने गरी गौतमसँग भेट्न पुगेका महासचिवलाई उनको जवाफ थियो ‘जो नेता पार्टीको बैठक बोलाउनसमेत आनाकानी गर्छ जसले, त्यतातिर लहसिएर, टाँसिएर पनि हुन्छ ? नियमानुसार बोलाउनुपर्ने बैठकको बिरुद्धमा लाग्ने अध्यक्षको पक्षमा किन तपाईं लागिरहनुभएको ?’

पार्टीभित्रको गतिरोध र अन्तरबिरोध चुलिएको बेला अघिल्लो साता प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग काँग्रेस सभापति शेरबहादुर देउवा र रमेश लेखकले बालुवाटारमा झण्डै तीन घण्टा भेटघाट गरेका थिए ।

भेटघाटबाट निस्कनेबित्तिक्कै लेखकले नेकपाका खुमलटार निकट एकजना नेतालाई फोन गरेर प्रधानमन्त्रीले आफूहरुसँग भनेको कुरो जस्ताको तस्तै फ्याट्टै भनिदिए ‘ल है कमरेड, प्रधानमन्त्रीले मसक्क आँटिसक्नुभएको रहेछ ।

त्यस्ताहरूलाई दिनु र नजिकिनुभन्दा बरु तपाईंहरूसँग मिल्नु बेस देखेको छु । अब, उनीहरूसँग कुनै हालतमा सँगै बस्न सकिँदैन भन्नुभयो । पार्टी एकजुट रहिरहलाजस्तो देखिन है ।’ जनआस्थाले लेखेको छ ।