वायुसेवा निगमका अध्यक्षमाथि मन्त्री किरातीको 'एक्सन' - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

वायुसेवा निगमका अध्यक्षमाथि मन्त्री किरातीको ‘एक्सन’



काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षलाई १३ औं दिनमा दोस्रोपटक स्पष्टीकरण सोधेका छन् ।

पञ्चर भएको टायर फेर्न नसक्दा दिल्लीबाट निगमको जहाज २६ घन्टा ढिलो फर्किनुको कारण, कोपाइलटको अभावमा काठमाडौंबाट चैत १९ गते दुबई उड्नुपर्ने जहाज १२ घन्टा ढिलाई भएको घटना र ११ महिनासम्म पनि मलेसियाको नागरिक उड्डयन कार्यालयमा निगमको प्रमाणपत्र (फरेन एयर अपरेटर सर्टीफिकेट) नवीकरण हुन नसकेको विषयमा मन्त्री किरातीले तीनदिने स्पष्टीकरण सोधेका हुन् ।

त्यसैगरी मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यधिक यात्रुहरुको सामान चोरी हुनुको कारण र २ महिनाअघि पर्यटन मन्त्रालय सम्हाल्न आइपुगेका किरातीले ‘आफूले पदबहाली गरेपछि निगमका दुईवटा टुइनअटर कतिपटक ग्राउन्डेड भए ? टुइनअटर लगायत दिल्ली र दुबई उडानमा निगमलाई कति आर्थिक भार परेको हो ?’ भनी सोधिएको छ ।

मन्त्रालयले चैत १५ गते पहिलोपटक लिखित स्पष्टीकरण सोधेको थियो । अध्यक्ष अधिकारीले चैत १९ गते जवाफ पठाएका थिए ।

‘निगमबाट पेस भएको उक्त पत्रबाट स्पष्ट पार्नुपर्ने विषयहरु स्पष्ट नभएको हुँदा देहायको विषयमा थप स्पष्ट पारी तीन दिनभित्र मन्त्रालयमा पठाउनू,’ मन्त्रालयका सहप्रवक्ता टेक नारायण पौडेलले निगमलाई पठाएको पत्रमा लेखिएको छ ।