बीबीसीको एउटा खोज: जसले युट्युवका भिडियोमा विश्वास लाग्दैन - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

बीबीसीको एउटा खोज: जसले युट्युवका भिडियोमा विश्वास लाग्दैन



बीबीसी । दशवटा भाषामा युटुब सर्च गरेर हेर्दा बीबीसीले स्वास्थ्य सम्बन्धी गलत जानकारी दिइरहेका ८० भन्दा बढी भिडियोहरु फेला पारेको छ विशेषगरी क्यान्सर सम्बन्धी देखाइएका झुटा उपचार विधिहरु लाखौँ करोडौँ मान्छेले हेरिसकेको पाइएको हो । यस्ता धेरै भिडियोले ठुल्ठुला ब्रान्डको विज्ञापनमार्फत् समर्थन पाइरहेको पनि बीबीसीले पत्ता लगाएको छ ।

यसरी कुनै प्रमाण नभएका उपचार विधिहरुमा बिरामीलाई अनौठा वस्तुहरु सेवन गर्न लगाइन्छ, जस्तै बेसार, बेकिङ सोडा, जुसको डायट र भोकै बस्नेलगायतका धेरै गलत जानकारीहरु युटुबमा सर्वत्र भेटिएका हुन् । केही युटुबरहरुले त गधाको दूध पिउने र तातो पानी मात्र पिउने समेत भनेका छन् । तर वास्तवमा यस्ता कुनै पनि तरिकाले क्यान्सरलाई वास्तवमा ठीक गर्न सक्छ भन्ने कहिल्यै पुष्टि भएको छैन ।


यसरी क्यान्सरको उपचार सम्बन्धी फेक भिडियोले प्रचार पाउनका पछाडि केही विश्वचर्चित कम्पनीहरु रहेको समेत खुलासा भएको छ जस्तै हाइन्ज, सामसुङ, क्लिनिक आदि । यसको अर्थ युट्युब विज्ञापन प्रणालीमार्फत् युट्युब कम्पनी र भिडियो बनाउनेहरुले यस्तै गलत समाचार बनाएर पैसा कमाइरहेका छन् ।

अङ्ग्रेजीमा बन्द भए पनि अन्य भाषामा यस्ता फेक भिडियो प्रशस्तै पाइन्छन् ।

गत जनवरीमा मात्र युटुबले प्रयोगकर्ताहरुलाई हानि पुर्याउने किसिमका गलत सूचनाहरुलाई ‘रिकमेन्डेसन’ बाट हटाउने घोषणा गरेको थियो । यस अन्तर्गत गम्भीर रोग ठीक गर्ने चामत्कारिक किसिमका साधारण उपचार विधिहरु लगायतका भिडियो रहेका थिए । तर कम्पनीले अमेरिकी भिडियोहरुमा मात्र यो बदलाव ल्याइने र अङ्ग्रेजी भाषा बाहेकका अन्य क्षेत्रका युटुबमा चाहिँ यो लागु नहुने बताइएको छ ।

बीबीसीले अङ्ग्रेजीसहित पोर्चुगिज, अरेबिक, रुसी, पर्सियन, हिन्दी, जर्मन, युक्रेनियन, फ्रेन्च र इटालियन भाषामा युट्युबको निरीक्षण गरेको हो । यसमा उदाहरणका लागि रुसी भाषामा साधारण ‘क्यान्सरको उपचार’ भनि सर्च गर्दा बेकिङ सोडाले क्यान्सर ठीक गर्ने भन्ने जस्ता सयौँ भिडियोहरु आयो । यसरी कुनै प्रमाणबिना नै यी युट्युब च्यानलहरुले प्रयोगकर्ता माझ गलत जानकारी फैलाइरहेका छन् जसले व्यक्तिको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने सम्बन्धी चिन्ता व्यक्त गरिएको छ ।

‘डाटा एण्ड सोसाइटी इन्सटिटीउट’ का अनुसन्धान विश्लेषक एरिन मेक एवेनीका अनुसार युटुबको ‘अल्गोरिदम’ प्रणालीले एकपटक खोजेर हेरेको भिडियो जस्तै भिडियो बारम्बार रिकमेन्ड गरिरहने गरेकाले पनि यस्तो हुने गरेको हो । भिडियो जति फेक भए पनि युट्युबले प्रयोगकर्तालाई एकपछि अर्को गरी त्यस्तै भिडियोतर्फ मात्र लैजाने उनको भनाइ छ । उनले भनेका छन्, “कसैले क्यान्सर सम्बन्धी वास्तविक भिडियो हेरेको छ भने पनि युट्युबले अर्कोपटक ‘क्यान्सर’ शब्द भएको गलत र फेक भिडियो हेर्न लगाउन सक्छ । किनकि सिस्टमलाई कुन सत्य हो र के झुटो हो भन्ने थाहा हुँदैन । ”

यसअघि पनि युट्युबको रिकमेन्डेसन प्रणालीमाथि प्रयोगकर्तालाई जथाभावी फेक भिडियोको जालमा पारेको आरोप लागेको थियो । यस्तोमा कम्पनीले प्रयोगकर्तालाई विश्वसनीय भिडियो बढी देखाउने र गलत सूचना दिने किसिमका सामग्री न्युनीकरण गर्ने विश्वास दिलाएको थियो । यसरी युट्युबमा भनिएका पदार्थले व्यक्तिलाई प्रत्यक्ष असर नगरे पनि क्यान्सरका बिरामीको स्वस्थ्यमा ठूलो क्षति पुर्याउन सक्ने बताइएको छ । जस्तै उनीहरुले चिकित्सकले दिएका औषधि बेवास्ता गर्दै यस्ता भिडियोको पछि लागेमा जीवन जोखिममा पर्न सक्छ ।

यस्ता फेक भिडियोहरुलाई समर्थन गर्दै विज्ञापन राखिरहेका सामसुङ, हाइन्ज लगायतका ठूला कम्पनीहरुसँग बीबीसीले यसबारे प्रतिक्रिया माग्दा सबैले यसबारे जानकारी नभएको र आफूहरु प्रयोगककर्ताको सुरक्षाको पक्षमा मात्र रहेको भनि स्पष्टिकरण दिएका हुन् ।

जसपछि बीबीसीले यसबारे युट्युबलाई खबर गरेको हो । कम्पनीले यस्ता भिडियो बनाउने ७० वटा च्यानललाई युट्युबको भुक्तान नीति उल्लंघन गरेको भन्दै पैसा नदिइने निर्णय सुनाइसकेको छ । यसका साथै बीबीसी टोलीले त्यस्ता भिडियो बनाउने युट्युबरहरुसँग पनि सम्पर्क गरेको हो । बेकिङ सोडा सम्बन्धी भिडियो निर्माण गर्ने रुसकी तात्याना एफिमोभाले आफ्नो भिडियोमा अगाडि नै आफू कुनै डाक्टर र विज्ञ नभएको स्पष्ट पारेकी छन् भने सो भिडियो आफूले चिनेको एक व्यक्तिको वास्तविक कथा भएको बताएकी थिइन् । तर बीबीसीसँगको सम्पर्कपछि चाहिँ उनले त्यो भिडियो तुरुन्तै हटाएकी हुन् र आफ्ना लागि महत्वपूर्ण नभएको बताइन् ।

अर्का एक ब्राजिलियन युटुबर एलिजेउ कोरेइयाले पनि तितेपातिको चियाले ट्युमर ठीक गर्न सक्ने दाबी गरेका थिए उनीसँग प्रश्न गर्दा उनले त्यो कुनै हानिकारक वा विषालु चिया नभएको बताए । तर अहिले भने आफ्नो भिडियो प्राइभेटमा राखेका छन् । त्यस्तै हिन्दी मिडियाका सुन्यकलले बीबीसीसँग प्रत्यक्ष कुरा गरेनन् भने सम्पर्क गरेलगत्तै आफ्नो भिडियो हटाएका हुन् ।

हटाउनु अगाडि सो भिडियो १४ लाख भन्दा बढी पटक हेरिएको थियो । बीबीसीले गधाको दूधले क्यान्सर ठीक गर्छ भन्ने युट्युबरसँग पनि सम्पर्क गर्ने प्रयास गरेको थियो तर उनीबाट कुनै प्रतिक्रिया आएन ।

यता युट्युबले पनि अन्तर्वार्ताको अनुरोध अस्वीकार गरेको हो । र आफ्नो बयानमा यस्तो भनेको छ, “गलत सूचना वास्तवमै ठूलो चुनौति हो । र हामीले सो समस्या समाधानका निम्ति थुप्रै कदम उठाइसकेका छौँ भने त्यस्ता भिडियो प्रचार गर्ने विज्ञापनलाई पनि हटाइरहेका छौँ । हाम्रो प्रणाली सबै पक्षमा उत्कृष्ट छैन तर हामीले निरन्तर यसमा सुधार ल्याउने प्रयास जारी राखरहेका छौँ र युट्युबलाई सुरक्षित स्थल बनाउन प्रतिबद्ध छौँ । ”