बेन स्टोक्सको ठूलो छलाङ: बने विश्वकै सर्वोत्कृष्ट क्रिकेटर - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बेन स्टोक्सको ठूलो छलाङ: बने विश्वकै सर्वोत्कृष्ट क्रिकेटर



एजेन्सी– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टेष्ट वरियतामा इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले ठूलो छलाङ मार्दै अलराउन्डरतर्फ शीर्षस्थानमा उक्लिएका छन् ।

वेस्ट इन्डिजका कप्तान जेसन होल्डरलाई पछि पार्दै स्टोक्स ४ सय ९७ रेटिङ अंकका साथ शीर्ष स्थानमा उक्लिएका हुन् । दोस्रो स्थानमा रहेका होल्डरको ४ सय ५९ रेटिङ रहेको छ । ब्याटिङमा पनि स्टोक्सले ठूलो फड्को मारेका छन् । स्टोक्स नयाँ वरियतामा ब्याटिङमा तेस्रो स्थानमा उक्लिएका छन् । यसअघि उनी अलराउन्डरतर्फ दोस्रो र ब्याटिङमा दशौं स्थानमा थिए ।

स्टोक्स भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली भन्दा एक स्थान तल छन् । कोहली दोस्रो र अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथ शीर्षस्थानमा छन् । अष्ट्रेलियाका युवा ब्याट्सम्यान मार्नस लाबुसेन चौथो स्थानमा पुगेका छन् । स्मिथको ९ सय ११, विराटको ८ सय ८६ र स्टोक्सको ८ सय २७ रेटिङ अंक रहेको छ ।

बलिङमा इंग्ल्यान्डका स्टुअर्ट ब्रोड दशौं नम्बरमा उक्लिएका छन् । स्टोक्सले वेस्ट इन्डिजसँगको दोस्रो टेष्टको पहिलो इनिङमा १ सय ७६ बनाउनुको साथै १ विकेट लिएका थिए । दोस्रो इनिङमा ७८ रन जोड्नुको साथै २ विकेट लिएका थिए । जुन प्रर्दशनले स्टोक्सलाई वरियतामा ठूलो फाइदा पुगेको हो ।

स्टोक्सको उत्कृष्ट प्रर्दशनसँगै इंग्ल्यान्ड दोस्रो टेष्टमा १ सय १३ रनले विजयी भएको थियो । पहिलो टेष्ट वेस्ट इन्डिजले ४ विकेटले जितेको थियो । तीन टेष्ट सिरिजमा अन्तिम खेल २४ जुलाई देखि सुरु हुनेछ ।