चर्को विवादमा तानिए अमित शाह: पाए बेवकुफको उपाधि - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

चर्को विवादमा तानिए अमित शाह: पाए बेवकुफको उपाधि



एजेन्सी- उत्तरपूर्वी भारतीय राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देवको अमित शाहले नेपाल र श्रीलंकामा पनि बिजेपी सरकार बनाउने योजना रहेको भन्ने अभिव्यक्तिमा प्रमुख प्रतिपक्षी कंग्रेस आईले आपत्ती जनाएको छ।

गृहमन्त्री अमित शाहको भनाइ उदृत गर्दै मुख्यमन्त्री देवले नेपाल र श्रीलंकमा भारतीय जनता पार्टी (भाजपा) सरकार बनाउन चाहेको अभिव्यक्ति दिएका थिए ।

भारतीय कंग्रेसले उनको अभिव्यक्तिलाई मुर्खतापूर्ण भनेको छ। ‘यस्तै मानिसहरूको बेवकुफीले भरिएका बयानले गर्दा आज भारतको छिमेकी देशसँगो सम्बन्ध सबैभन्दा खराब मोडमा पुगिसकेको छ,’ कंग्रेस आईले ट्वीट गर्दै भनेको छ।

यसअघि त्रिपुराका मुख्यमन्त्री देवले शाहले भारतीय जनता पार्टी नेपाल र श्रीलंकामा विस्तार गर्ने योजना बनाएको बताएका थिए।

गत शनिबार त्रिपुरा गएका भारतीय जनता पार्टीका पूर्वअध्यक्षसमेत रहेका शाहले पार्टी बैठकमा भारतका सबै राज्यहरूमा भाजपाको सरकार बनाइसकेपछि नेपाल र श्रीलंकामा पनि भाजपा विस्तार गरेर त्यहाँ पनि बिजेपीको सरकार बनाउन चाहेको बताएको देवको भनाइ छ।

‘हामी स्टेट गेस्ट हाउसमा कुरा गरिरहेका थियौं। उत्तरपूर्वी क्षेत्रका पार्टी सचिव अजय जमवालले भारतका धेरै राज्यमा बिजेपीले सरकार बनाएको बताउनुभयो। शाहले अब नेपाल र श्रीलंका बाँकी रहेको जवाफ दिनुभयो,’ देवको भनाइ उद्धृत गर्दै इस्ट मोजोले लेखेको छ,‘हामीले बिजेपीलाई नेपाल र श्रीलंकमा पनि विस्तार गर्नुपर्छ र सरकार गठन गर्न जित हासिल गर्नुपर्छ भन्ने उहाँको भनाइ थियो।’

शाहको तारिफ गर्दै मुख्यमन्त्री देवले उनकै नेतृत्वमा बिजेपी संसारकै ठूलो पार्टी बनेको बताए। आफूहरूलाई संसारकै पार्टी भन्ने कम्युनिष्टहरूलाई पनि बिजेपीले पछि पारेको उनको भनाइ थियो।

विपक्षी पार्टीहरूले बिजेपीको बैठकमा अमित शाहले मुख्यमन्त्री देवले भनेजस्तै कुरा बोलेका हुन् भने के भन्न खोजेका हुन् भनेर स्पष्ट पार्नु पर्ने बताएका छन्।

भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का नेता एंव पूर्वसांसद जितेन्द्र चौधरीले मुख्यमन्त्री देवलाई संविधान र प्रजातन्त्रको कुनै ज्ञान नभएको उल्लेख गर्दै उनले भनेजस्तै कुरा शाहले भनेका हुन भने त्यो विदेशी मुलुकको आन्तरिक मामलामा भारतको हस्तक्षेप हुने बताएका छन्।

उनले भारतका गृहमन्त्री शाह नेपालविरूद्धको षडयन्त्रमा संलग्न रहेको र त्यो कुराको प्रमाण त्रिपुराको संवैधानिक पदमा रहेका व्यक्तिले नै दिएको बताएका छन्। उनले देवको भनाइलाई सामान्य रूपमा लिन नसकिने भएकाले यसको जवाफ बिजेपी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिनुपर्ने बताएका छन्।

त्रिपुरा कंग्रेसका उपाध्यक्ष तपस देले अमित शाहको भनाइ भारतले थुप्रै वर्ष लडेको उपनिवेशजस्तै भएको बताए। उनले नेपाल र श्रीलंकाको सार्वभौम मामलामा भारतले हस्तक्षेप गर्न नसक्ने बताए।

देवको अभिव्यक्तिले भारतीय मिडियामा पनि चर्चा पाएको छ। द हिन्दुकी कूटनीतिक मामिला सम्पादक सुहासिनी हैदरले अमित शाहको यस्तो योजनाबारे भारतको विदेश मन्त्रालय के सोचिरहेको होला भन्दै ट्वीट गरेकी छन्।