किन मानेन भारतीय पक्षले १९५० को सन्धि परिमार्जन गर्न ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

किन मानेन भारतीय पक्षले १९५० को सन्धि परिमार्जन गर्न !



हिमाल पोस्ट /चैत्र २६ 

नेपाल-भारतबीचको द्विपक्षीय सम्बन्धको बृहत् समीक्षा गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) का भारततर्फका संयोजक भगतसिंह कोसियारीले सन् १९५० को शान्ति तथा मैत्री सन्धि त्यसबेलाको समयमा ‘हचुवाका भरमा हस्ताक्षर नगरिएको’ टिप्पणी गर्नुभएको छ ।एक्काइसौँ शताब्दीअनुकूल नरहेको र नेपालका लागि असमान रहेकाले सन् १९५० को सन्धिका प्रावधान संशोधन गर्न इपिजी नेपालका सदस्यले ठोस प्रस्ताव राखेको भोलिपल्ट भारतीय पक्षले उक्त सन्धिका धारा परिवर्तनबारे आफू सकारात्मक नरहेको आशयको प्रतिक्रिया सार्वजनिक गरेको हो ।

नेपाली इपिजीका संयोजक भेषबहादुर थापाले तेस्रो इपिजी बैठकपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा सन् १९५० का धारा संशोधनमा भारतीय पक्ष सकारात्मक रहेको दाबी गर्नुभएको थियो । ‘सन् १९५० को सन्धि त्यतिबेला पनि निकै सुझबुझका साथ हस्ताक्षर गरिएको हो हचुवामा होइन । हाम्रा पूर्वजले दुवै देशको हितलाई हेरेरै सन्धि गरेका हुन् त्यतिबेला’, राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा कोसियारीले भन्नुभयो ।

कोसियारीले नेपालले सन् १९५० को सन्धिका पारामा परिमार्जन गर्न राखेको प्रस्तावका बुँदामा विस्तृत अध्ययन र गृहकार्य गर्न भारतीय पक्षले सुझाएको उहाँले बताउनुभयो । ‘हामीले नेपाली पक्षलाई भनेका छौँ कि सन्धिका धाराबारे कहाँकहाँ असझदारी छन्, सबै ल्याउनुहोस् । असान्दर्भिक भएका बुँदामा तथ्यसहित प्रस्तुत हुनुहोस् । तपाईंहरूले राखेको प्रस्तावमाथि हामी अध्ययन गर्नेछौँ’, उहाँले भन्नुभयो, ‘भारतको सुरक्षा सवाललगायत विषयमा हामीले छलफल गर्नुपर्छ । हामीले यो बुझ्नुपर्छ कि सन्धि त्यसबेला कुनै हचुवाका भरमा भएको होइन ।’

इपीजीको बैठकमा आफूहरूले नेपाली पक्षसँग खुलेर कुरा राखे पनि अहिले नै बाहिर ल्याउने अवस्थामा नरहेको र संवाद जारी रहेको उहाँको भनाइ थियो । सन् १९५० को सन्धिलाई पुनर्लेखन, खारेजी, संशोधन या परिमार्जन के गर्ने भन्नेबारे थप छलफल र अध्ययनबाट निष्कर्ष निकाल्न सकिने उहाँले बताउनुभयो ।