भैलो हो कि कन्सर्ट हो ? « Himal Post | Online News Revolution
Logo

भैलो हो कि कन्सर्ट हो ?



-दीपक घिमिरे

तिहार भनेपछि चिल्ला रोटी , देउसी भैलो अनि पटाका ! यी तीन कुराले हामीलाई तिहारको महत्त्व झल्काउथ्यो । हिन्दु संस्कार अनुसार दसैँलाई सबैभन्दा ठुलो चाड मानिन्छ तर हाम्रा लागी तिहार ठुलो चाड लाग्थ्यो किनकि तिहारको महत्त्व माथीका तीन कुराले प्रस्ट पार्दथ्यो । हामी तिहार भन्दा ठुलो दसैँ कहिल्यै मानेनौ । समयले हामीलाई फेरीदियो या हाम्रा चाडपर्वलाई फेरीदियो , त्यो ठुला ठुला समिक्षकहरु बसेर समीक्षा गर्दै होलान् तर यति बेला हाम्रा लागि चाडपर्व फेरीय जस्तै समीक्षा मैले गर्दैछु ।

तिहार भन्ने बित्तिकै तीन महत्त्वपूर्ण रमाइलो हाम्रा दिमागमा फनफन्ती घुम्थे । तर आजभोली ती तीन कुरा लोप हुने अवस्थामै पुगेछन । हामी त्यो तिहारका तीन रमाइलोलाई अहिले भुल्दै छौ र त्यसको ठाउँ मा पश्चिमा संस्कृति झल्कने संस्कारलाई भित्र्याउदै रहेछौ । मानव विकास र सामाजिक रहनसहन बदलिनु नौलो कुरा होइन । यसले आमूल परिवर्तन पनि ल्याउछ । हामी शताब्दि पार गर्दै युग परिवर्तन गर्दै एक्काईसौ शताब्दीको एउटा महत्त्वपूर्ण युगमा आईपुगेका छौ । यति बेला सानातिना र झिना मसिना कुरामा अडिनु ठिक पनि होइन तर विकास सँगै भित्रेको विकृतिले हाम्रो संस्कार र परम्परालाई कता डोर्‍याउदै छ त ? सोच्न आवश्यक छ ।

तिहारमा पाक्ने रोटीको भन्दा महत्त्व अहिले बजारमा भित्रेका मिठाईले लिन थाले । दिदी बहिनीले सगुन र प्रसादको नाममा रोटीलाई भन्दा बजारमा पाइने मिठाईलाई महत्त्व दिन थालेपछि गाउँ घरमा सिन्कामारी , पपरा अनि फिनि रोटी पाक्नै छाडे । घरको छानामा रातै पहेलै सुक्ने सिन्कामारी र पपरा अब फेसबुकको बालामा देख्न पाइन्छ तर घरमा देखिन छाडे । चिल्ला रोटीले महत्त्व दर्शाउने तिहारको बेला गाउँ घरमा रोटी पाक्न छाडेपछी आमाहरू भन्छन् ” ग्याष्ट्रीक र अरू तमाम रोगका डरले चिल्ला रोटी खानै छाडे , घरमा खाने मान्छे नभएसी कसले दुख गरोस । ”

साँच्चै भन्ने हो भने हाम्रा गाउँ घरमा उहिलेका जस्ता रोटी पाक्न छाडीसके । मान्छे अल्छी भएर हो या रोटीको महत्त्व अबको पुस्ताले नबुझेर हो , गाउँ घरमा चिल्ला रोटी धेरै कम पाक्छन । यस्तै हो भने अबको एउटा पुस्ता पछाडि तिहारमा पाक्ने फिनि , सिन्कामारी अनि पपरा जस्ता रोटी पकाउन जान्ने पुस्तानै रहदैन।

तिहारमा सबैभन्दा महत्त्व थियो देउसी भैलो । अहिले जस्तो पैसा र दक्षिणाको लागि उ बेला देउसी भैलो खेलिदैनथ्यो । दुई घण्टा मुखैले भट्याएपछी पाइने एक माना चामलले पनि धेरै खुसी दिन्थ्यो उ बेला । देउसी भैलो रमाइलोको लागि खेलिन्थ्यो अनि आशिष् आदानप्रदान गर्न भट्याईन्थ्यो । तर आजभोली कति सम्म विकृति भरिएर आयो भन्नेको कुनै लेखा जोखा छैन ।

देउसी भैलो रमाइलोको लागि होइन , कमाउनको लागि खेलिदो रहेछ भन्ने आगामी पुस्ताले सजिलै बुझ्नेछन । हिन्दी अनि रिमिक्स गीत , उत्ताउलो भट्याउने शैली अनि हेर्नै लाज लाग्ने डान्सले देउसी भैलोको परम्परागत शैलीलाई कहाँ मिल्काईदियो कहाँ । उ बेलाको जस्तो आशिष् सहितको भैलो त अब सहर बजारमा देख्न पाइने छैन होला । बरु कुनै साङ्गीतिक कन्सर्ट जस्तो देउसी भैलो चैँ टोल टोलमा माईक लगाएर नाचेको देख्न सकिन्छ ।

अझै पनि गाउँ घरमा भैलो खेल्न आउँदा खुसीले आगँनमा आउने घरबेटी प्रसस्तै छन् तर सहरमा देउसी भैलो परै देख्दा घरमा ताला ठोकेर छतमा लुक्न घरबेटी बाध्य छन् । कारण उत्ताउलो भैलोलाई दिइने दक्षिणा नै हो । दक्षिणा भनेको आफू खुसी भएर दिइने एउटा नगद या जिन्सी बस्तु हो तर यहाँ भैलो खेल्न आएकाले नै दक्षिणाको रकम तोक्छन अनि कसरी बसुन घरबेटी आगँनमा ? गेटमा ताला ठोकेर भाग्नुको विकल्प रहदैन ।

भैलोलाई मनोरन्जन र परम्परा ठान्नेहरु दक्षिणामा बार्गेनिङ गर्दैनन , उनीहरू नाच्न नचाउन अनि आशिष् दिनमै भैलोको महत्त्व ठान्दछन । तर विकृतिले गलाउदै लगेको भैलोलाई सानो कन्सर्टको रूप दिएर कमाउने बाटोको रूपमा लिन्छन । अनि टोल छिमेकलाई आजित पार्नेगरी रकम असुल्छन । यस्तै भैलोले गर्दा अब सुस्त सुस्त देउसी भैलो पनि कन्सर्ट हो जस्तै लाग्न थाल्यो ।

देउसी भैलो सँगै रमाउने अर्को पाटो थियो पटाका । तिहारमा केटाकेटी रमाउने भनेकै पटाका पटकाएर हुन्थ्यो । तर पटाका पनि विकृतिको मारमा परेर होला , नेपालमा पटकाउनै बन्देज भयो । मानव जीवनलाई असर नगर्ने खालका पटाका बिक्री गर्न दिनुपर्ने तर अनुगमनको कमीले गर्दा हरेक प्रकारका पटाका बिक्रीमा रोक लाग्यो अनि पाइन छाडे पटाका ।

हैसियत र सोर्स वालाहरु बम जस्ता पटाका घर आगँनमै पटकाउछन तर रमाइलो गर्न केटाकेटीले झिर्झिरे पटाका सम्म पाउदैनन । ठुला र खतरा हुने पटाकालाई बन्देज गरेर सामान्य खालका पटाका बिक्री वितरणमा अनुमति दिए खास्सै फरक पर्छ जस्तो मलाई लाग्दैन । बरु प्रशासनले कडाईचै गर्नु पर्छ ।

यस्तै धेरै कुराहरूलाई सोच्न थाल्ने हो भने अब आउने पुस्ता दसैँ तिहार भन्दा भ्यालेन्टाईन र क्रीसमसमा बढी रमाउने छन् । किनभने हाम्रा चाडपर्वहरुले पश्चिमा संस्कृति र परम्परालाई मिसाउन खोज्दैछन । तर पश्चिमाहरुका चाडपर्व नितान्त शुद्ध छन् । हामी हाम्रा पर्वलाई भन्दा उनीहरूका पर्वलाई महत्त्व दिन थालिसकेका छौ ।

भैलो कन्सर्टको रूपमा विकसित हुँदैछ , चिल्ला रोटीहरुको ठाउँ मिठाईले लिदैछ अनि पटाका पटकाउदै रमाउने अधिकार प्रशासनले खोस्दैछ । यस्तो खालको सांस्कृतिक रूपान्तरणलाई अब के भन्ने ? आमूल परिवर्तन कि अग्रगामी छलाङ ?