गृहप्रशासन सुधार्न अभियान - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गृहप्रशासन सुधार्न अभियान



भैरहवा, ७ असोज । गृहप्रशासन सुधार अन्र्तगत गृहमन्त्रालयले ल्याएको प्रहरी हाम्रो टोल–टोलमा अभियान शुक्रबारदेखि रूपन्देहीमा पनि सुरु भएको छ ।
प्रहरी प्रशासनलाई जनउत्तरदायी बनाउने उद्देश्यले गृहमन्त्रालयले देशभर प्रहरी हाम्रो टोलमा भन्ने अभियान संचालनमा ल्याएको थियो । सोही अन्तरगत शुक्रबार भैरहवामा ¥यालीसहितको कार्यक्रमम गरी अभियान सुरु गरिएको हो । प्रहरी प्रशासनलाई जनउत्तरदायी बनाउने र शान्ति सुरक्षामा नागरिकको सहभागिता बढाउने लक्ष्यका साथ यो अभियानको सुरुवात गरिएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले जानकारी दिए । सबै मिलेर अपराधरहित सभ्य समाज निर्माण गर्ने यसको मुख्य उद्देश्य रहेको उनले बताए ।

यसअघि पनि जनतासमक्ष प्रहरी र प्रहरीसमक्ष जनता पुराउन तथा एक अर्कामा विश्वास अभिवृद्धि गर्नेसहितका विभिन्न कार्यक्रमहरू लागू गरिएको र अहिलेको अभियान बिगतका अभियानहरूको एकमुष्ट सहितको परिमार्जन रहेको प्रजिअ मैनालीले जानकारी दिए । अभियानको शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशासन र प्रहरी हाम्रो टोलटोलमा भन्ने मुख्य नारा रहेको छ । शहरका समाजलाई टोलका रूपमा विकास गरी टोल सुधार समिति निर्माण गर्ने र ग्रामीण भेगमा टोल सुधार समूह बनाएर स्थानीय प्रहरी, वडा प्रहरी, इलाका प्रहरी र प्रहरी पोष्ट र नागरिक मिलेर सामाजिक अपराध गुण्डागर्दी, ठगी, हिंसा तथा लागूऔषधलगायतका आपराधिक गतिविधिहरू नियन्त्रण गर्नका लागि यो कार्यक्रमको खाँचो रहेको भन्दै प्रहरी हाम्रो टोलटोलमा भन्ने अभियान संचालनमा ल्याएको प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाले बताए । नागरिक र प्रहरी अभिन्न अंग भएको भन्दै उनले यी दुवैमा सहकार्यलाई थप प्रभावकारी बनाउन यो अभियान ल्याइएको बताए ।

अभियानकै क्रममा एक प्रहरी एक टोल निर्माण गर्ने, स्थानीय टोल सुधार समितिहरू निर्माण गर्ने, निर्धारित स्थानहरूमा सिसिटिभीहरू जडान गर्ने, आफ्नो टोल छिमेका भएका सामाजिक संस्था, उद्योग कलकारखानाको विवरण तयार गर्नेजस्ता योजना रहेका छन् । अभियानले आगामी दिनमा शान्ति सुरक्षाको स्थिति बलियो बनाउन सघाउ पुग्ने, प्रहरी प्रशासनलाई अझ जनउत्तरदायी बनाउने, शान्ति सुरक्षामा नागरिकको सहभागिता बढाउने अपेक्षा लिइएको छ । यसको लागि नागरिक केन्द्रित सुरक्षा प्रणालीको स्थापना गर्ने, प्रहरी प्रशासन र स्थानीय नागरिकबीचको सम्बन्धलाई अझ सुधार बनाउने र शहरी तथा ग्रामीण क्षेत्रका हरेक टोलमा ‘ब्लक प्रहरी गस्ती’ को अवधारण लागू गर्ने रहेका छन् । यसको संयोजन प्रमुख जिल्ला अधिकारीले गर्ने व्यवस्था गरिएको छ । अभियानबाट समाजमा हुनसक्ने सामाजिक अपराध गुण्डागर्दी, ठगी, हिंसा, लागूऔषधलगायतका अन्य विकृति नियन्त्रण र सामाजिक विकास सुरक्षा प्रणालीको कार्यमा सघाउ पुग्नेछ ।

सो अभियानबाट नागरिक, प्रहरी र प्रशासनबीच सुमधुर सम्बन्ध स्थापना, समाजमा हुने सबै प्रकारका अपराधका घटनामा न्यूनीकरण, शान्ति सुरक्षा कायम राख्ने कार्यमा स्थानीयवासीको अपनत्व बढ्ने र नागरिक चेतनाको विकास हुने अपेक्षा गरिएको छ । त्यस्तै अभियानले गुण्डागर्दी नियन्त्रण, महिला हिंसा र दुव्र्यवहारको अन्त्य वा न्यूनीकरण, तस्कारी, ठगी, लुटपाट, लागूऔषध तथा यसका कारोवारवालाको नजिकबाट निगरानी तथा नियन्त्रण र घटना घट्नुपूर्व सावधानी अपनाउन सहयोग गर्ने अपेक्षा गृहमन्त्रालयले लिएको छ ।