भैँसी पालेर मासिक दुई लाख - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

भैँसी पालेर मासिक दुई लाख



विशाल पाण्डेय/कञ्चनपुर –
हो है …काम पाइएन डिग्री पास गरेर भैंसी पाले गाउतिर झरेर चिन्ताछैन केहि मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ, मलाई बेलायत नि यही ! गायक पशुपति शर्माको यो गितले भने जस्तै अहिले कञ्चनपुरका एक युवा आफ्नै व्यवसायमा रमाइरहेका छन् । उनी हुन् बेलौरी नगरपालिका -४ शान्तिपुरका युवा किशन ढकाल । तर , उनले डिग्री पास भने गरेका छैनन् ।

उमेरले ३९ वर्ष पुगेका ढकालसंग रोजगारीका लागि विगतमा विभिन्न देशहरूमा धेरैपटक भौतारिएको तितोमिठो अनुभव छ । विगतमा के गर्न सकिन्छ भनेर विभिन्न विकल्पमा अलमलिएर देश विदेश धाएका ढकालले व्यावसायिक रूपमा भैंसीपालन व्यवसायमा भविष्य देखेपछि ढाइ बर्षयता सत्गुरु भैंसी फार्म संचालन गरिरहेका छन् ।

करिब २० लाख लगानीमा ५ वटा भैंसी पालन बाट सुरु गरेका ढकालले हाल करिब ४५ वटा भैंसी तथा गाई पालन गरिरहेका छन् । बजारको दूधको मागलाई लक्ष्य गरेर उक्त माग पूर्ति गर्ने उद्देश्य राखी व्यवसाय थालेका ढकाललेहरेक दिन करिब ९० देखि १०० लिटर दूध बचेर मासिक करिब २ लाख आम्दानी गर्छन् ।

घरपरिवारको दैनिक आवश्यकता पूर्ति गर्न म पनि रोजगारीको लागि करिब ८ बर्ष बिदेशमा बिताए ।घरपरिवारसंगै आफ्नै ठाउँमा केही गरौं भन्ने सोच लागेर यहि व्यवसायिक रुपमा भैंसी पालन सुरु गरे । ढकालले भने ,” केही लगानी त चाहिन्छ तर लगानी गरिसकेपछि अलमलिनु हुँदैन, आफ्नो लक्ष्य पूरा गर्न डटेर लाग्नुपर्छ ।’ व्यावसायिक भैंसीपालन सुरु गर्दा सुरुवाती चरणमा खाशै आम्दानी नभएपनी हाल सम्पूर्ण खर्च कटाएर मासिक लगभग एक लाख नगद बचत भइरहेको उनको भनाइ छ ।

“भैंसी र गाईका लागि आवश्यक जैँ ,बर्सिम , बाजरा लगायतका घाँस व्यवस्थापनका लागि वार्षिक ३० हजारका दरले १५ कठ्ठा जग्गा भाडामा लिएको र आफनो १५ कठ्ठा गरि ३० कठ्ठामा घाँस खेती गरेको छु,” ढकालले भने, “भैंसीपालनमा आफूलाई श्रीमति र आमाले सघाउँदै आएकाले सहज भएको छ ।”

करिब ८ लाख लगानीमा युरोपको आइसल्याण्ड जानको लागि थाइल्यान्ड लगेर दलालले २ महिना अलपत्र पारेको विगत सम्झिदै अहिलेसम्म उक्त रकम नउठेको बताउदै ढकालले खाडीमा जानुभन्दा स्वदेशमै केही गरौं भन्ने भावले परिवारको साथले सफल व्यवसायी बनाएको बताए । युवा विदेशजानुभन्दा स्वदेशमै पशुपालन र कृषि पेशा गर्न ढकालले सुझाव दिएका छन् ।

तीन जनाले पाए रोजगार

करिब ४ बजे उठेर गोठमा काम सुरु गर्ने किसनलाई उनको श्रीमती पवित्रा र आमा हुमकली ढकालले साथ दिएका छन् भने अन्य तीन जनाले पनि रोजगार पाएका छन् । श्रीमतीले भैंसी दुनुका साथै गोठमा अन्य कामको लागि सहयोग गरिरहेकी छन् भने आमाले दोएर ल्याएको दूधलाई कसरी ,कहाँ व्यवस्थापन गर्ने भनेर सहयोग गरिरहेको उनले बताए ।

दुई जना पुरुष तथा एक जना महिला गरि तीन जनालाई रोजगार दिएका उनको आगामी उद्देश्य यस व्यवसायलाई व्यापक गरी जिल्लाभरीको दूधको मागलाई पूरा गर्ने छ । दूधसँगै प्रांगारिक मल पनि बिक्री गरेर आम्दानी गरिरहेका उनले नडराएर ठूलो उद्देश्य राखी व्यवसाय थाल्यो भने उन्नति गर्न सकिन्छ भन्ने कुरामा पूर्ण विश्वास रहेको बताए । अनुदानका नाममा दुई वटा भैंसी पाल्नेलाई भन्दा व्यवसायीक रुपमा भैंसी पालन गर्नेलाई अनुगमन गरि सरकारले अनुदान दिनुपर्ने उनको सुझाव छ ।