नगरको समग्र समृद्धिमा अग्रसर हुने भक्तपुरका उम्मेद्वारहरुको प्रतिबद्धता - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

नगरको समग्र समृद्धिमा अग्रसर हुने भक्तपुरका उम्मेद्वारहरुको प्रतिबद्धता



भक्तपुर २२ बैशाख ।

 

आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरमा चुनावी चहलपहल बढेको छ । भक्तपुरमा रहेको चारवटै नगरपालिकामा सबै दलहरुले राजनीतिक चहलपहल बढाएका छन् ।

नगरपालिकाका नगरप्रमुख पदका उम्मेद्वारहरुले यहाँका नगरहरुको समग्र विकासका साथै देशकै नमूना नगरका रुपमा भक्तपुरका नगरलाई विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै भक्तपुरका विभिन्न नगरपालिकाका नगर प्रमुख उम्मेदवारहरुले यहाँको शिक्षा, स्वास्थ्य, सडक, ढल निकास, पर्यटन लगायतका क्षेत्रको समग्र विकासका लागि लागि पर्नेमा जोड दिएका छन ।

कार्यक्रममा मध्यपुरथिमी नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार अष्ट कबेले मध्यपुरको समग्र विकासका साथै मनोहरा र हनुमन्ते खोलाको फोहोर व्यवस्थापन गरी यस नगरलाई स्वच्छ, सफा र हरियाली बनाउने बताए । उनले नगरमा खेलकुदको विकासका साथै यहाँको कृषि क्षेत्र विकास गर्दै उत्पादन बद्धि गरी आम नगरबासीलाई कृषिमा आत्मनिभर बनाउने प्रतिबद्धता जनाउँदै मध्यपुर थिमी नगरलाई सूचनामैत्री बनाउने पनि योजना रहेको जानकारी दिएका छन् ।

यस्तै चाँगुनारायण नगरपालिकामा एमालेको तर्फबाट मेयरका उम्मेदवार सोम मिश्रले नगरको धार्मिक, साँस्कृतिक पर्यटन विकासका साथै यहाँको समग्र विकासमा लागि पर्ने बताउनु भयो । उहाँले वीर अस्पतालको चाँगुमा स्थापना गरी यस क्षत्रेका मात्रै नभई भक्तपुर जिल्लाकै नागरिकको स्वास्थ्यमा पहुँचबृद्धि गराउने बताए । उनले चाँगु क्षेत्र आफैमा पयटकिय क्षेत्र भएकोले यहाँको आन्तरिक तथा बाह्रय पर्यटनलाई अझै मजबुद बनाउँदै नमूना पर्यटकिय नगरको रुपमा चाँगुलाई विकास गर्ने जानकारी दिएका छन् ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार दिलकृष्ण तजले सूर्यविनायकलाई पर्यटकिय सूचना केन्द्रका रुपमा विकास गर्ने बताए । उनले सूर्यविनायकलाई धार्मिक तथा पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न डोलेश्वर महादेव, आशापुरी लगायतका यहाँका धार्मिक स्थलको संरक्षण गर्ने र एक घर एक रोजगारीको अभियान अघि बढाउने बताउँदै सूर्यविनायक क्षेत्रको सुरक्षा मजबुद बनाउनका लागि यस नगरपालिकाका विभिन्न स्थानमा सिसि क्यामरा जडान गर्ने र सुरक्षा व्यवस्था कडा पार्ने लगायतका योजनाहरु सार्वजनिक गरे ।

रफत सञ्चार क्लबका अध्यक्ष सुशिलबन्धु थापाको अध्यक्षतामा भएको कार्यक्रममा चाँगु नारायण नगरपालिकामा राप्रपाका तर्फबाट मेयरका उम्मेदवार रविन्द्रप्रताप शाहले हिन्दु राष्ट्र कायम गर्नुको साथै भष्टाचार मुक्त नगर स्थापना र यहाँको समग्र विकासका लागि आफु लागी पर्ने बताएका छन् ।