भक्तपुरको अस्पतालमा एकाएक १७ कोरोना संक्रमित आएपछि... - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

भक्तपुरको अस्पतालमा एकाएक १७ कोरोना संक्रमित आएपछि…



सिमसिम पानी परिरहेको थियो, शुक्रबारको दिन, मध्यान्हको करिव साढे १२ बजेको थियो।

भक्तपुरको थिमिस्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल बाहिर साइरन बजाउँदै आधा दर्जन एम्बुलेन्स हुँइकिएर आए।

एम्बुलेन्सको लस्कर देखेर अस्पताल वरपरका मानिस छक्क परे। घरको छत–छतबाट चियाएर हेर्न थाले।

त्यत्तिकैमा एम्बुलेन्सबाट एक-दुई गर्दै १७ जना कोरोना भाइरसका संक्रमितलाई निकालेर आइसोलेसन वार्डमा लगियो। तस्बिर खिच्नका लागि पत्रकारहरूको तछाडमछाड नै भयो।

बेपरवाह भएर सबै तस्बिर खिच्न झुम्मिए। सामाजिक दूरी मिचियो।

त्यसरी कोरोनाका बिरामी आउँदा अस्पतालका कर्मचारीलाई पनि हम्मेहम्मे पर्‍यो। कसलाई कसरी व्यवस्थित गर्ने उनीहरू निकै सकसमा देखिन्थे।

एकै पटक ६ वटा एम्बुलेन्स आउँदा सुरुमा त उनीहरूलाई के गर्ने, कसो गर्ने भयो। दुई वटा एम्बुलेन्स अस्पतालको इमरजेन्सी अगाडि नै रोकिए। तत्कालै उनीहरूलाई गेट बाहिर पठाइयो। र, ती एम्बुलेन्सबाट पनि कोरोनाका बिरामीलाई निकालियो।

उनीहरूलाई तत्काल आइसोलेसनमा लगेर उपचार थालियो। कोही बिरामी खोकिरहेका थिए। कोही काँपिरहेका थिए। कसैलाई कोरोनाको कुनै लक्षण देखिएको थिएन। तर, पिसिआरबाट कोरोना पोजेटिभ देखिएको थियो। कोही र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकाहरू पनि आफूमा कारोना भए नभएको पुष्टि गर्न आएका थिए।

तिनै १७ जना मध्ये कोही विदेशबाट आएर होम क्वारेन्टाइनमा बस्दासम्म पनि कुनै लक्षण नदेखिएपछि ‘ढुक्क’ हुनका लागि जँचाउन आएका थिए। किनकि विदेशबाट आएको लामो समयपछि पनि भाइरसको संक्रमण पुष्टि भएको छ।

यसरी विभिन्न प्रकृतिका कोरोना संक्रमित आउँदा चिकित्सकहरू भने उनीहरूको उपचारमा व्यस्त थिए। सत्य जस्तै लाग्ने यो दृश्य वास्तविक भने होइन।

मध्यपुर थिमि नगरपालिकाले आफ्नो नगरपालिकामा रहेको नेपाल कोरिया मैत्री अस्पतालमा कोरोना अस्पताल निर्माण गरेको छ।

अस्पतालबाट अलि पर छुट्टै दश बेडको व्यवस्थित आइसोलेसन कक्ष छ। जहाँ कोरोनाका बिरामीलाई उपचार गर्न आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार छन्। चिकित्सकहरूलाई पनि सम्भावित जोखिमका लागि तयारी अवस्थामा राखिएको छ।

तर, वास्तवमै कोरोनाका बिरामी आउँदा अस्पतालले थेग्न सक्छकी सक्दैन? भनेर नगरपालिकाले रेडक्रस भक्तपुर शाखासँग मिलेर गरेको पूर्व अभ्यास थियो। जसमा सबैले आ–आफ्नो भूमिका कुसलतापूर्वक निर्वाह गरेका थिए।

यस्तो किन गरे मेयरले

पूर्व अभ्यासमा सबैले निर्वाह गरेको भूमिका र जिम्मेवारी देख्दा थिमीका मेयर मदनसुदन श्रेष्ठ र अस्पताल प्रशासन मख्ख थिए।

यो अभ्यासपछि आयोजित पत्रकार सम्मेलनमा मेयर श्रेष्ठले मंगलबार बेलुका मात्रै आफूहरूले यस बारेमा सोचेको र दुई दिनको तयारीमा यो सबै सम्भव भएको सुनाए।
भक्तपुर रेडक्रसको सहयोगमा यो सम्भव भएको उनको भनाई छ। ‘साँच्चै कोरोना भित्रिहाल्यो भने अस्पतालले कसरी हेन्डल गर्न सक्छ?’ भन्ने कुराको परीक्षण गर्नका लागि यस्तो खाले पूर्व तयारी गरिएको उनले बताए।

जसमा अस्पताल, रेडक्रस, नेपाली सेना, प्रहरीलगायत सबैको भूमिका अलग–अलग थियो। यसका लागि मेयर श्रेष्ठले सबैसँग कुसल कम्युनिकेसन गरेका थिए। जनताको स्वास्थ्य नै पहिलो प्राथमिकता भएकाले उनले आफूसँग रहेको जनशक्ति र स्रोत साधनलाई कुसलतापूर्वक प्रयोग गरिने उनले बताए।

उनले यो अभ्यासबाट अस्पताललाई आवश्यक पर्ने अन्य आवश्यक सामग्री र व्यवस्थापनबारे जानकारी भएकाले त्यसको परिपूर्ति पनि गरिने बताए। बलियो पूर्व तयारी गर्दा नै विपद्हरुबाट जोगिन सकिने उनले बताए।

यसरी ल्याएको थियो रेडक्रसले

मंगलबार बेलुका मेयर श्रेष्ठले रेडक्रस भक्तपुरका सभापति मनोज थापालाई अस्पतालमा कोरोनाको पूर्व तयारीका लागि आफूले पूर्वाभ्यास गर्न चाहेको बताए। रेडक्रसको टोलीले पनि दुई दिनको समय माग्यो।

नभन्दै सभापति थापाले दुई दिनपछि आफ्नो टोलीलाई पूर्ण रुपमा तयार गरे। उनले ६ वटा एम्बुलेन्समा आफ्नो टिमका विभिन्न १७ व्यक्तिलाई कोरोना संक्रमितको विभिन्न भूमिकामा ल्याए।

अस्पतालका सबै कर्मचारीलाई समेत यो पूर्वाभ्यास हो भन्ने थाहा थिएन। उनीहरूलाई थाहा थियो त त्यहाँ कोरोनाका १७ बिरामी आउँदैछन्। किनकी रेडक्रसले अस्पतालको रिसेप्सनमा फोन गरेर त्यहाँ कोरोनाका बिरामी आउँदै गरेको जानकारी गराएको थियो। यता अस्पतालमा गेट पालेदेखि, चिकित्सक, नर्स सबै उनीहरूको उपचारका लागि पिपिईलगायत आवश्यक सामग्रीका साथ तयार थिए।

यस्तो रह्यो कलाकार र चिकित्सकको अनुभव

कोरोना संक्रमितको भूमिका निर्वाह गर्ने विभिन्न व्यक्तिसँग पनि आफ्नै खाले अनुभव छ।

उनीहरू अस्पताल पुग्दा एम्बुलेन्सभित्र छटपटाइरहेका थिए। कोही ज्वरो आयो भन्दै काँपिरहेका थिए त कोही खोकी रहेका थिए। उनीहरूको हालत देख्दा लाग्थ्यो साच्चै उनीहरूलाई कोरोना संक्रमित भएको छ। र, उनीहरूको अवस्था निकै नाजुक छ।

तिनै मध्येकी एक थिइन् लक्ष्मी केसी। उनले कोरोना संक्रमणपछि लहरे खोकी लागेको भूमिका निर्वाह गरेकी थिइन्।

उनले आफूले आइसोलेसनमा गएर निकै जाडो भयो भन्दै सिरक मागेको तर त्यहाँ भनेकै बेला सिरक नआएर केही समय लागेको सुनाइन्।

निर्जला केसीको पनि उनको जस्तै अनुभव छ। भित्र चिकित्सकले राम्रो परामर्श गरेको बताउँदै कतिपय आवश्यक कुराको कमीरहेकाले पूर्व तयारीका लागि थप्न सुझाव दिएकी थिइन्।

ट्वाइलेटको समस्या, ट्वाइलेटमा साबुन र सेनिटाइजर नभएको लगायतका गुनासा उनीहरूले पोखेका थिए। पालै-पालो आफ्नो अनुभव सुनाएका सबै कलाकारले रचनात्मक सुझाव दिएका थिए।

मेयर श्रेष्ठले पनि सबैका सुझाव उपयुक्त रहेको भन्दै अस्पतालमा यी समस्याको चाडो भन्दा चाडो हल गर्ने बताएका थिए। उनले अझै थप तयारीका लागि फेरी एक पटक सुरक्षा संयन्त्र, रेडक्रस र चिकित्सकहरूको सहभागितामा आन्तरिक अभ्यास गरिने बताए।

यसरी बिरामीको भूमिका निर्वाह गरेका कलाकारको विचार सुनिसकेपछि उपचारमा संलग्न चिकित्सकहरूले पनि पालै पालो आफ्नो धारणा राखेका थिए। उनीहरूले भरपूर सावधानी अपनाएर बिरामीको उपचार गरेको बताएका थिए।

यसले आगामी दिनमा कुनै संक्रमित आए यसरी व्यवस्थापन र उपचार गर्नुपर्ने रहेछ भन्ने कुराको राम्रो ज्ञान भएका बताएका थिए। हेल्थपोस्टडटकममा यज्ञराज जोशी र सौरभ रानाभाटले यो सामाग्री तयार पारेका हुन् ।