रहेनन सभासद "भक्ती पाण्डे" - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

रहेनन सभासद "भक्ती पाण्डे"



काठमाडौ,

नेकपा (माओवादी केन्द्र)का नेता एवम् सांसद भक्तिप्रसाद पाण्डेको सोमबार ६२ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित पाण्डे विगत एक वर्षदेखि उपचाररत थिए । उनको सोमबार बिहान ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो ।

पाण्डेको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि मंगलबार बिहान ९ देखि ११ बजेसम्म नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ । माओवादी समूहभित्र ‘चाचा’ उपनामले चिनिने पाण्डेले जनयुद्धकालमा पहिले आपूर्ति विभागमा रहेर केन्द्रीय सदस्य तथा पछि इञ्चार्ज भएर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

युद्धका क्रममा पाण्डेले निकै जोखिम मोलेर भारत र अन्य मुलुकबाट पार्टीका लागि स्याटलाइट फोन, हातहतियार, गोलीगठ्ठा र अन्य युद्ध सामाग्री भित्र्याएका थिए । पाण्डे सानैदेखि विद्रोही स्वाभावका थिए र त्यही विद्रोही स्वाभावकै कारण उनी १८ वर्षकै उमेरमा २०२९ सालमा अर्घाखाँचीमा भएको चर्चित हरेबर्रे आर्थिक एक्सनको सैनिक कमाण्डर बनेका थिए । ८ कक्षा पढ्दा अनेरास्ववियूको गुल्मी–अर्घाखाँची जिल्ला कमिटी सदस्य बनेका पाण्डेले २०२७ सालमा पुष्पलाल समूहको सदस्यता लिएर कम्युनिष्ट राजनीति सुरु गरेका थिए । पुष्पलाल समूह, नेकपा माले हुँदै ४० सालमा मोहन विक्रम सिहंको मसालमा प्रवेश गरेका पाण्डेले १४ वर्ष काम गरेर मसाल छाडे ।

नेकपा मसालले माओवादी जनयुद्धको चर्को विरोध गरेपछि दिनानाथ शर्माको नेतृत्वमा विद्रोह गरेर पार्टी गठन गरी तत्कालीन नेकपा माओवादीसँग एकता भएको थियो । उनी जनयुद्धका दौरानमा पार्टीभित्र चर्को अन्तरविरोध हुँदा पनि प्रचण्ड–बाबुराम दुवैले अत्यन्तै विश्वास गर्ने थोरै नेता मध्येका एक थिए । पार्टीभित्र इमान्दार, निडर र क्रान्तिकारी योद्धाको छवी बनाएका पाण्डेका श्रीमती, एकछोरा र दुई छोरी छन् । छोरा विश्वदीप पाण्डे नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईका स्वकीय सचिव हुन् ।