राष्ट्रपति भण्डारी सरकारसँग असन्तुष्ट - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

राष्ट्रपति भण्डारी सरकारसँग असन्तुष्ट



काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारसँग असन्तुष्टि व्यक्त गरेकी छन् । उनले देशको अर्थतन्त्र र व्यापार घाटालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेकी छन्।

उनले अहिलेको सत्ता वा प्रतिपक्षको गठबन्धन आफ्नो मामिला वा सरोकारको विषय नरहेको र गठबन्धन जसको भए पनि त्यो देशको हितमा हुनुपर्ने बताएकी छन् ।​

मङ्गलबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा विभिन्न सञ्चार माध्यमका सम्पादक, प्रकाशक तथा स्तम्भकारहरूसँग कुरा गर्दै राष्ट्रपति भण्डारीले सो बताएकी हुन्।

राष्ट्रपतिले भावुक हुँदै भनिन् ‘अति भयो ११७ खर्बको बजेट, १७ खर्बकै व्यापार घाटा हुन्छ ? आजकै समाचार हो यो, कसरी मुलुक अगाडि जान्छ ? ठूलो चिन्ताको विषय हो।’

राष्ट्रपतिले भनिन्, ‘गठबन्धन के कस्तो छ, मेरो मामिला होइन। जस्तो भए पनि जनतामा राम्रो होस्। कसले राम्रो काम गर्छ त्यसलाई जनताले हेर्छन्। तर, कमसेकम देश र जनताको हितमा हुनुपर्छ।’

नागरिकताको विधेयकबारेमा पत्रकारले राखेको जिज्ञासाको प्रत्युत्तरमा राष्ट्रपतिले विगतमा छोरीलाई अंश दिने कानूनी व्यवस्थाका लागि आफूले लबिङ गरेको समेत उल्लेख गर्दै छोरीलाई अंश दिने प्रावधानलाई बुज्रुक भनिने केही नेताहरूले नै उल्ट्याउन खोजेको र आफूले त्यसलाई रोकेको बताइन।

उनले अहिले के हुन्छ र के गर्ने त विषयको नागरिकता विधेयकबारे अध्ययन गरेपछि यसबारे धारणा बनाउने स्पष्ट पारेकी छिन्। संसदबाट विधेयक आइपुगेपछि आफूले अध्ययन गर्ने राष्ट्रपतिको भनाइ छ।

अहिले प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा छलफलका क्रममा रहेको नागरिकतासम्बन्धी विधेयकका कतिपय प्रावधानहरू ठीक नभएको भन्दै अधिकांश पत्रकारले राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए । नागरिकतासम्बन्धी विवाद आजको मात्र नभएर २००८/९ सालदेखिको धेरै पुरानो समस्या भएको उनले बताइन्।

राष्ट्रपति भण्डारीले भनिन्, ‘यो आजको रोग होइन, अङ्गीकृतका विषयमा संविधानले पनि बोलेको छ। केही हामीले अपनाउनुपर्ने विषय छ। पत्रकारको प्रश्नमा केन्द्रित हुँदै राष्ट्रपति भण्डारीले ‘नागरिकताबारे अध्ययन गर्नुपर्छ। पहिला यहाँ आओस्, त्यसपछि हेर्छु।’​

देशको परराष्ट्र सम्बन्ध, भ्रष्टाचार र ढिलासुस्तीका विषयमा पत्रकारहरूले राष्ट्रपतिको धारणा जान्न चाहेका थिए। तर राष्ट्रपति भण्डारीले भने आफूले सीमाभित्र रहेर काम गर्नुपर्छ भन्दै ‘कतिपय कुराहरू हामीले भन्न मिल्दैन। म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा सङ्केत गर्ने छैन भनेर हामीले शपथ खाएका हुन्छौँ।’

पत्रकारहरूसँगको भेटघाटको सुरुमै राष्ट्रपतिले देशको आर्थिक अवस्था विकराल बन्दै गएको निष्कर्षसहित चार पृष्ठको लिखित वक्तव्य पढेर सुनाएकी थिइन्। आफ्नो धारणा कुनै सरकारप्रति लक्षित नभएर विगत ५० वर्ष यताको लेखाजोखा गर्नु पर्ने पनि बताइन्।

राष्ट्रपति भण्डारीले भनिन्, ‘मैले त ५० वर्षको हिसाब गरौँ भनेकी छु। के यो कसैप्रति लक्षित हुन्छ ? अहिलेसम्म क–कसले कति सहयोग लिनुभयो ? कहाँ कहाँ लगानी भयो ? उपलब्धि के पायौँ ? कतिपय शब्दहरू प्रयोग गर्न मलाई पनि आउँछ तर म प्रयोग गर्दिनँ। देशको अर्थव्यवस्था, आर्थिक प्रणाली बलियो हुनुपर्छ।’