राष्ट्रपति भण्डारीलाई रेड कार्पेट, मन्दिरमा सर्वसाधारणलाई निषेध - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

राष्ट्रपति भण्डारीलाई रेड कार्पेट, मन्दिरमा सर्वसाधारणलाई निषेध



जनकपुरधाम – राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरधामस्थित जानकी मन्दिरमा आयोजित जानकी महामहोत्सव विशेष समारोहमा सहभागी हुने भएपछि सर्वसाधारणलाई भने मन्दिर प्रवेशमा रोक लगाइएको छ ।

सीताको जन्मदिनको अवसरमा आयोजना हुने कार्यक्रममा राष्ट्रपति भण्डारी जनकपुरधामको जानकी मन्दिर आउने भएपछि स्वागतमा रेड कार्पेट बिछ्याइएको छ।

जानकी मन्दिर प्राङ्गणमा आयोजना हुने जानकी महोत्सवको विशेष समारोहमा सहभागी हुनका लागि बिहान करिब नौ बजे नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति भण्डारी जनकपुरधाम आउने कार्यक्रम रहेको छ ।

रामायणकालमा मिथिलाको भूमिमा राजा जनकले हलो चलाउँदा प्रादुर्भाव भएर जन्म भएकी सीताको धार्मिक मान्यताअनुसार प्रत्येक वर्ष यहाँ जानकी नवमी मनाउने गरिन्छ।

मन्दिरमा सर्वसाधारणलाई निषेध

राष्ट्रपति बिद्यादेवी भण्डारीको आगमन हुने भएपछि सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाइएको छ।  मन्दिर तथा आसपासका क्षेत्रहरूमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ। जनकपुरधामको एयरपोर्टबाट श्यामचोक, क्याम्पसचोक, मुरलीचोक, शिवचोक र जानकी मन्दिर परिसरमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ।

बिहानको समयमा जानकी मन्दिर दर्शन गर्न आउने पर्यटकलाई आवतजावतमा रोक लगाइएको छ। विशेषगरी पूजापाठको समय बिहान भएकाले मन्दिर परिसरमा दर्शनार्थीको अत्यधिक चापलाई मध्यनजर गर्दै सर्वसाधारणको आवतजावतमा रोक लगाइएको बताइएको छ।

यसअघि तीन वर्षअघि रामजानकी विवाह महोत्सवको अवसरमा राष्ट्रपति भण्डारी आउँदा मधेश आन्दोलनको क्रममा आन्दोलनकारीहरूले विरोध जनाएका थिए।