भानुभक्तका घतलाग्दा प्रसङ्ग « Himal Post | Online News Revolution
Logo

भानुभक्तका घतलाग्दा प्रसङ्ग



लालबहादुर भुजेल

भेटघाटको सिलसिलामा, कसैले भानुभक्तको नाउँ, गाउँ, कुल– कुटुम्ब सोध्ने सन्दर्भमा कवितामै मीठोपारामा जवाफ लेखेको ज्ञात हुन्छ ।  जस्तै ः

पहाडको अतिवेस देश तनहुँमा श्री कृष्ण ब्राह्मण थिया ।
खुप उच्चकुल आर्यवंशी हुन गै सत्कर्ममा मन दिया ।
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया ।
इन्को नाति म भानुभक्त भनी हुँ यो जानि चिन्ही लिया । ।

१२ वर्षमा सामान्य फलादेश तथा चिनालेखनमा निपूर्ण भएका थिए ।  १८ वर्षमा आरोहण गर्दा ज्योतिष र साहित्य विधाको अध्ययन गर्नाको साथै परम्परागत संस्कृत व्याकरणको ज्ञानोपार्जन गरे ।  संस्कृत शिक्षाको घनीभूत अध्ययनले छन्दोबद्ध, घतलाग्दा, व्यङ्ग्यात्मक र समयसापेक्ष जस्ताको तस्तै मर्मस्पर्शी कुराहरू जनजिब्रोमा झुन्डिनेगरी रसिलो कविताको भाषामा उतार्न उनको नैशिष्ठता बन्यो ।

२२ वर्षे यौवनावस्थामा घाँसीसँगको भेटले उनको जीवनमा ठूलो मोड लियो ।  संस्कृतको छन्दोबद्ध कवितामा हात बसिसकेका भानुभक्तले घाँसीको प्रेरणाले नै अभिप्रेरित भई २७ वर्षको उमेरमा बालकाण्ड सिर्जना गरी संस्कृत भाषा गाह्रो मान्नेलाई ठूलो गुन लगाए ।
उनका आत्मीय मित्र गजाधर सोतीको पटक–पटकको आग्रहमा मन्त्र सुनाउन तनहुँकै रिस्ती पुगेका थिए ।  साँझपख साथी नभेटिएपछि गजाधरकी गृहिणीले अपमानजनक रूपमा बासै नदिई लखेटिन र पल्तिर एउटा रुखमुनि कष्टकर रूपमा रात कटाए ।  अतिथि देवो भव ः को नेपाली समाजको तीतो यथार्थस्वरूप देहायअनुसारको कविता सिर्जना गरे ः

गजाधर सोतीकी घरबूढी अलच्छिनकी रहिछन्
नरक जानालाई सबैसित विदावादि भईछन् । ।
पुग्यौँ साँझमा तिनका घर पिडिँमहाँ बास गरियो
निकालिन् साँभैmमा अलिक पर गुज्रान गरियो । ।

३५ वर्षको जवानीमा गिरिधारी भाटसँगको जग्गासम्बन्धी मुद्दा मिलाउने सिलसिलामा पहिलोचोटि काठमाडौँ खाल्टो पुगेका भानुभक्तले आल्हादित भएर देशभक्तिको भाव ओतप्रोत भावनाले आफ्ना उद्गार पोखेको पाइन्छ ।  जस्तै ः

यति दिनपछि मैले आज वालाजि देख्याँ ।
पृथिवी तलभरिमा स्वर्ग हो जानि लेख्याँ । ।
त्यसरी नै–
चपला अवलाहरू एक सुरमा ।
गुनकेशरीको फूल ली शिरमा । ।
हिडन्या सखी लीकन ओरिपरी
अमरावति कान्तिपुरी नगरी । ।

अड्डा अदालतमा दैनिक आफूलगायत सर्वसाधारणले भोग्नुपर्ने भोलिवादी भ्रष्ट प्रवृत्तिको कष्टकर पीडा अट्टहास गर्दै राजनेताहरूमा चेतना फिर्न व्यङ्ग्यवाण प्रहार गरेका छन् ः

बिन्ती डिठ्ठा विचारीसित म कति गरुँ चुप रहन्छन् नबोली ।
बोल्छन् ता ख्याल ग¥याझैँ अनि पछि दिनदिन भन्दछन् भोलि–भोलि । ।
की ता सक्दीन भननू कि तब छिनिदिनू कयान भन्छन् इ भोली
भोली भोली हुँदैमा सब घर बितीगो बक्सियोस् आज झोली । ।

३८ वर्षको उमेरमा कागजात प्रमाणित गर्न नसकेकै कारणले उनी पाँच महिनाका लागि कुमारीचोकको कारागारमा थुनिए र बालकाण्डपछि अयोध्याकाण्ड, अरण्यकाण्ड, निष्किन्धाकाण्ड एवम् सुन्दरकाण्डसमेत चार काण्डको सिर्जना गरे ।  साथै कालकोठरीबाट छुट्कारा पाउन पनि सत्प्रयास यसरी जारी नै राखे ः

रोज् रोज् दर्शन् पाउँछु चरणको ताप् छैन भन्माँ, कछु
रात् नाच पनि हेर्छु खर्च नगरी ठूलाचयन्मा मछू ।
लामखुट्टया उपिञा उडुस इ सँगि छन् इन्कै लहड्मा बसी
लामखुट्टायाहरू गाउँछन् ति उपिज्ञा नाच्छन् म हेर्छु बसी । ।

यसरी अप्रत्यक्ष रूपमा चढाएको बिन्तिपत्रले तत्कालीन प्रधानमन्त्री जङ्गबहादुरका भाइ कृष्णबहादुर राणालाई चसक्क पनि पारेन ।  विक्रा संवत् १९०९ सालमा जेलबाट छुटेपछि पुत्रको व्रतबन्ध गरे ।  ३९ वर्षमा युद्धकाण्ड र उत्तरकाण्डको रचना पूरा गरे ।  उनले प्रश्नोत्तरमाला कृतिको अनुवाद गर्नुको साथै भक्तमालाको रचना गरेका थिए ।

४८ वर्षको उमेरमा काठमाडौँबाट चुँदीरम्घा यात्रा गर्नेक्रममा मित्र तारापति घरमा बास प¥यो ।  राति तारापतिकी श्रीमती र बुहारीको झगडाले रातभरि निद्रा नलाग्दा बधुशिक्षा कृतिको रचना गरी प्रतिभाको परिचय प्रस्तुत गरे ।  ५४ वर्षको उमेरमा घरमा चर्केपछि ज्वरोले आक्रमण ग¥यो ।  आफूले भनेर पुत्र रमानाथलाई रामयति लेख्न लगाई गुनिला अमरकृतिहरूको भण्डार छाडेर अल्पायुमै आदिकविले देहत्याग गरे ।  उनको मृत्युको १९ वर्षपछि मोतीराम भट्टले भानुभक्तको जीवन चरित्र छपाएर स्वदेश र विदेशमा भानुभक्तको रामायणको प्रचार–प्रसार हुन थाल्यो ।

यसरी भानुभक्तले सम्पूर्ण नेपालीलाई राष्ट्रिय एकताको एक सूत्रमा बाँध्नेमात्र गरेनन् ।  अपितु भाषिक जागरणको सूत्रपात गर्न अनवरत लागे ।

गोरखापत्र दैनिक