प्रसङ्ग बदलौं र संस्कार पनि बदलौं... - Himal Post Himal Post
  • २ बैशाख २०८१, आईतवार
  •      Sun Apr 14 2024
Logo

प्रसङ्ग बदलौं र संस्कार पनि बदलौं…



-भरत बगाले योगी
म ओशोसँग निकै प्रभावित छु । विषयको गहिराई नाप्न, मूल्याङ्कन गर्न र दृष्टिकोण बनाउन मैले ओशोसँग सिकेको हुँ । यो अर्थमा ओशो मेरा गुरु हुन् । ओशोका धेरै पाठक, स्रोता छन्। पढ्छन् सुन्छन् तर उनलाई स्विकार्ने हिम्मत गर्दैनन् । सिधा र सरल भाषामा आफ्ना बिचार राख्न ओशो सुनेपछि अरूलाई सुन्नै पर्दैन । हजार बिचार मन्थनेर निस्कने घिउको स्वाद ओशोको प्रवचनमा भेटिन्छन् । तसर्थ ओशोलाई सुन्ने पढ्ने सुझाव रहन्छ मेरो ।

अझ महत्त्वपूर्ण कुरा त ओशोले सिकाउने ध्यान । बाच्नु तर होस पूर्वक । क्या मस्त फिलोसोफी । यसबारे कुनैबेला चर्चा गरौँला, तर आज एक पात्र र प्रवृत्तिको । ओशोले आफ्ना प्रवचनमा एउटा पात्र खडा गर्ने गर्छन् – मुल्ला नसरुद्दीन । उनलाई माध्यम बनाएर दिने सन्देश गजबको हुन्छ । सुनेर हेर्नू । त्यसमध्यको एउटा यहाँ बताउन योग्य छ,

मुल्ला नसरुद्दीन मस्त रक्सीको नसामा झल्लिदै घर पुग्छन र ढोकाको ताला खोल्ने कोसिस गर्छन । नसाका कारण हात काँपीरहेकाले ताला खुल्दैन । त्यो देखिरहेका एक प्रहरीले सहयोग गर्ने मनसायले नजिक जान्छन् र भन्छन् – महासय, खै ल्याउनु म खोलिदिन्छु । मुल्लाले भन्छ हैन हैन मै खोल्न सक्छु । तर आज यो घर हल्लिरहेकाले ताला खोल्न गाह्रो भो, तपाईँ घर समात्नुहोस् ताकि नहल्लियोस् । म ताला खोल्छु ।

तेतैकैमा घरको बार्दली बाट श्रीमती ले भन्छिन् त्यो चावीले नखुलेको भए अर्को दिउँ त ??

मुल्ला – चाबी पर्दैन बेगम बरु ताला अर्को फाल ।

बस यस्तै बेहोशीमा हुन्छन् हाम्रा क्रियाकलाप र व्यवहार । घटबढ छैन । म त्यस्तै जँड्याहा हो । बुझ्नुस् यसरी कि, तपाईँ पनि त्यस मध्यकै अर्को जँड्याहा हो । बिलकुल बेहोश । आफ्नो कारणले होइन, घर नै हल्लेको कारण ताला खुलेन। चावीको कारण हैन ताला नमिलेर नखुलेको, कस्तो अचम्मको स्वभाव हाम्रो । आफ्नो गल्तीको कतै जिकिर हुँदैन ।

खासमा यो समस्या भनेको हाम्रो सोंचको स्तर बढाउने चेस्टा नगर्नाले हो, कुन स्तरमा छौँ हामी ? हाम्रो प्रवृत्ति कुन स्तरको भयो ? प्रसङ्ग जे सुकै होस दाँजेर हेरौं आफैलाई, सत्यताको धरातल कति बलियो छ हाम्रो । चाहे त्यो सामाजिक सञ्जाल प्रयोग गर्दा होस्, चाहे दैनिक जीवनमा । आफूले बोलेका लेखेका शब्दहरू कुन स्तरका छन् । अनि हामीबाट भएका व्यबहार कति स्तरीय छन् ? अहिलेको समयमा यो आफैले आफैलाई मूल्याङ्कन गर्नैपर्ने विषय हो हाम्रो लडाई सधैँ अरूको बिचारसँग हुन्छ । आफू र अन्तरमनसँग होइन ।

यहाँ हामी मध्ये हरेकले अरूलाई सुधार्न तल्लीन हुन्छौं तर, आफूलाई भने होइन । व्यवस्थामा कमजोरी देख्ने हामीले आफूमा कमजोरी देख्दैनौ । कस्तो अजिव स्वभाव । मानवजातिमै पनि केहिका स्वभाव अल्ली उदार पनि भेटिन्छन तर एकदमै नगन्य । बिबेकशिल छन् उनीहरू, ती सब चामलमा बियाँ जस्तै एकाध, नगन्य मात्रामा, एकदमै थोरै ।

अरूको गल्ती छर्लङ्ग र प्रस्ट देखिहाल्ने अनि उद्धत भइहाल्ने अर्काको कमजोरी बताउन । अनि सुझाइहाल्ने, निकै सस्तो सुझाव । भनिन्छ सन्सारमा सबैभन्दा बढी दिइने र कसैले नलिने चिज पनि सुझाव नै हो । दिनेले देको छ देको छ । लिन कसैलाई मतलब छैन । भरिभराउ सुझाव । सबै मुल्ला नसरुद्दीन …

प्रसङ्ग बदलौं र संस्कार पनि बदलौं,

सामान्यतया गाडी वा मोटरसाइकल चलाउँदा कागजपत्र नबोक्ने र लेन मिच्ने काम पनि हामीलेनै गर्छौं, अनि ट्राफिकले चलान काटे विरोध त्यसको बिरोध गर्छौं, बिचरा त्यो प्रहरी पनि त हामी जस्तै त हो उसको नजरमा त सबै अपराधी, के मा चाहीं फसाउन सकिन्छ दिमागको बत्ति जलाउन सुरू।

गल्ती त मान्छे बाट नै त हुने हो । विकसित मुलुकमा कानुनको अक्षरशः पालन हुन्छ । गल्ती को प्रकार छुट्ट्याएर सजाय हुन्छ । चालकले गल्ती गरे आर्थिक सजाय तोकिन्छ । क्षतिपूर्ति लिइन्छ । उदाहरणको लागि मैले युएईमा देखेका कयौं उदाहरण मध्ये एउटा यहाँनिर लेख्न मनासिब ठाने- यहाँ आफ्नोले अर्को या अर्काले आफ्नो गाडी ठोक्यो भने झगडा गर्दैनन् आरोप प्रत्यारोप गर्दैनन् । प्रहरीलाई बोलाउँछन् प्रहरी आउँछ पहिले सिस्टाचार पूर्वक हात मिलाउँछ, सम्बोधन गर्छ, थप्पड हान्दैन, जाकिदिन्छु भन्दैन, र पावर लगाउन पनि थाल्दैन।

प्रकृति हेरिकन जरीमानाको पत्र तयार हुन्छ । कानुनको पालना सबैले गर्छन् । हामिकोमा ? पहिले हातपात, मुक्कामुक्की, सक्नेले गाडी जलाउने, तोडफोड गर्ने, उस्तै परे एक दुई दिन त्यसैको नाममा आन्दोलन, बन्द। बस बहाना चाहियो हामीलाई, बस सबै मुल्ला नसरुद्दीन …

चुइगम फुत्त बाटोमै फाल्ने, चाउचाउको खोल बाटोमै फाल्ने, ख्वाक्क काफ निकालेर बाटोमै थुक्नेको गफ यस्तो हुन्छ ‘हेर साथी देश बिगारेको त नेताले नै हो’ । बाटोमा पिसाब गर्नेले भन्छ – छि कस्तो दुर्गन्धित । घरको फोहोर बाटोमा फाल्दै सरकारले फोहोर उठाउँदैन नालायक सरकार । वा रे वा ! मुल्ला नसरुद्दीन …

अतः चुरो कुरो के भने, सदियौं पुरानो अँध्यारो गुफामा उज्यालो बनाउन सानो दियो बाले पुग्छ । त्यो दियोले बिस्तारै आफ्नो प्रभाव छर्न थाल्छ फलस्वरूप गुफा उज्यालोमा परिणत हुन्छ । सानै होस्, एक असल सोंचले, एक असल आचरणले ठुलो परिवर्तन ल्याउँछ । हामी आफै नसुध्रिएसम्म कसरी अरू सुधिन्छन ? तसर्थ आफ्नो तर्फबाट कमजोरी नगरौँ अरूले पनि गर्दैनन् ।

दमकल आफै जल्दा आगो कसले निभाउने ?

भरत बगाले योगी
स्याङ्जा वालिङ
हाल- युएई