भारतमा कोरोनाको डरलाग्दो अवस्था: सबैभन्दा प्रभावित सातौँ देश बन्यो - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

भारतमा कोरोनाको डरलाग्दो अवस्था: सबैभन्दा प्रभावित सातौँ देश बन्यो



काठमाडौँ- भारतमा कोरोनाको महामारी झनै फैलिएको छ । कोरोना संक्रमणको उच्चतम महामारी हुने देशहरूमा भारत सातौँ स्थानमा उक्लिएको छ ।

भारतमा कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा २२३ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । हालसम्म ५ हजार ४०८ जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

त्यस्तै संक्रमित थपिने संख्या पनि उत्तिकै डरलाग्दो हुँदै गएको अधिकारीहरुले जनाएका छन् । पछिल्लो रिपोर्ट अनुसार आइतबारमात्रै ८ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

भारतमा हालसम्म १ लाख ९० हजारभन्दा बढी संक्रमित रहेका छन् । झण्डै ९१ हजार संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कम्युनिटी, युनिटी र इम्युनिटी (अर्थात् समुदाय, एकता र शारीरिक क्षमता) का लागि योगाभ्यास अत्यन्त उपयोगी रहेको बताएका छन् ।

कोरोनाभाइरसलाई पराजित गर्न पनि योगाभ्यासको आवश्यकता रहेकोमा उनले आइतबार जोड दिए ।

योगाभ्यासले शारीरको क्षमता बढाउने र क्षमता बढाएमा कोरोनाभाइरसलाई जित्न सकिने भएकाले कोरोना संकटका बेलामा योगाभ्यास अझ उपयोगी र आवश्यक रहेको उनको भनाई छ ।

मासिक रेडियो कार्यक्रम “मन की बात”मा बोल्ने क्रममा प्रधानमन्त्री मोदीले योगाभ्यास र आयुर्वेदलाई विश्वभरका नेताहरुले चासो राख्ने गरेको उल्लेख गरेका छन् ।

‘मैले विश्व नेताहरुसँग कुराकानी गर्नेक्रममा योगाभ्यास र आयुर्वेदले कोरोनाभाइरस विरुद्धको उपचारका लागि सहयोग गर्न सक्ने बारेमा चासो राख्ने गर्नुभएको छ,’ उनले भनेका छन् ।