नारायणकाजी र गिरिराजमणिको संरक्षणमा चलेको भरत थापाको 'हिटलर राज्य' - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नारायणकाजी र गिरिराजमणिको संरक्षणमा चलेको भरत थापाको ‘हिटलर राज्य’



सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले शक्ति र नेताको आडमा चलाएको साम्राज्य हिटलरको कथाभन्दा कम छैन । दिनदहाडै जनता कुट्ने, धम्क्याउने, तर्साउने त उनको दैनिक काम नै बनेको छ । त्यसमाथि प्राकृतिक दोहन गरेर कमाएको पैसाको आडमा उनले गर्ने हर्कतको त कुरै नगरौँ !

निरिह जनतामाथि भएका अत्याचार, अनियमिता र गुण्डागर्दीबारे हिमालपोस्टमा लगातार समाचार आउन थालेपछि थापा यतिबेला ‘थाल खाउँ कि भात खाउँ’ भन्ने अवस्थामा पुगेका छन् । आफैले गरेका कुकर्मबाट छुटकारा पाउन उनी कहिले अख्तियार धाइरहेका छन् त कहिले माओवादी नेताहरूका दैलोमा पुगेर हारगुहार गरिरहेका छन् ।

आफ्नाविरुद्ध आवाज उठाउनेलाई ठोकिहाल्ने, सुकुम्बासीका घर भत्काइदिने, मध्यरातमा गाडीमा कोचेर बयान फेर्न लगाउने भाईमार्फत धम्क्याउने यी उनका दैनिक काम हुन् । जस्तो अपराध गर्दापनि माओवादी नेता गिरिराजमणि पोखरेल र नारायणकाजी श्रेष्ठको संरक्षण पाउने मेयर दाजुभाईले उन्मत्त हात्ती जस्तै बनेका छन् । तिनै मेयर दाजुभाईले चलाएको बागमती नगरपालिकाभित्र उनीहरूसँग प्रश्न समेत सोध्न पाइन्न । यसबारे हामीले धेरै चर्चा गरिसकेका छौँ ।

माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजीको घरमा सिधै छिर्न पाउने निकै कम व्यक्ति मात्रै छन् । ती मध्य एक हुन् बागमतीका मेयर थापा । उनी नारायणकाजीको अत्यन्त निकट मानिन्छन् । नारायणकाजी निकट एक नेताका अनुसार थापाले मिटिङ्ग भएकै समयमा पनि सिधै प्रवेश पाउने गरेका छन् ।

स्रोतका अनुसार कतिपय व्यवसायमा समेत नारायणकाजी र मेयर थापा साझेदार हुन् । थापाले नै नारायणकाजीको धेरै कारोबार मिलाउने गरेको तथ्य फेला परेको छ । विवादित मेयरसँग निकट भएकै कारण नारायणकाजीलाई पार्टीका केहि नेताहरूले धेरैपटक आलोचना गर्ने गरेका छन् ।

यस्तै मेयरका कारण स्थानीय तहप्रति नै जनतामा वितृष्णा पलाउने अवस्था आएको छ । सहि काम गर्न एक जना पनि काफी छ तर एकै जनाले गलत प्रवृत्तिले गर्दा सबै जनप्रतिनिधि र उससँग सम्बन्धित पार्टी वा समूहको इज्जत स्वाहा हुन्छ । बागमती नगरपालिकाका मेयरले गरेका कर्तुतहरूको हिमालपोस्टले धाराबाहिक रूपमा पर्दाफास गरिरहेको छ ।

 मेयर थापाले चलाएको हिटलर राज्यमा प्रशासन र प्रहरीले समेत उनैको संरक्षण गरेको स्थानीय बताउँछन् । प्रहरी र प्रशासनले उनको पिछलग्गु भएर काम गरिरहेको, उजुरी दिँदा पनि नसुन्ने गरेको एमालेका एक नेता बताउँछन् । उनका अनुसार प्रहरी र सीडियोले भरत थापाविरुद्ध गुनासो आए अनेक बहाना बनाएर पन्छिने गरेको गुनासो गर्छन् ।

असोज ५ गते काठमाण्डौबाट सर्लाहीको बागमती नगरपालिकामा रिपोर्टिङका लागि पुगेका दुई पत्रकारमाथि मेयर थापाले आक्रमण गर्न लगाए । मेयरसंग कुरा गरेर फर्किएका दुई पत्रकार नारायण अधिकारी र शालिक भट्टलाई बाटैमा रोकेर मेयरका आसेपासेले कुटपिट गरे । मेयर थापाले पठाएका चार जना गुण्डाहरूले पत्रकार चढेको सानो गाडी रोकेर सार्वजनिक स्थलमै चोटपटक लाग्नेगरी आक्रमण गरेका थिए ।

पत्रकारका अनुसार मेयरसँग कुरा गरिरहेको समयमा आक्रमण गर्नेहरू त्यहिं भएको र पछि बाटोमा आएर आक्रमण गरेका थिए । त्यसपछि पत्रकारद्वयले प्रहरीमा किटानी सहित उजुरी दिएका थिए । नेपाल प्रहरी सर्लाहीका एसपी प्रविन पोखरेलले उनीहरूले निवेदन दिएको बताएका थिए । निवेदनका आधारमा कुटपिट गर्नेहरूलाई खोजी गरी पक्राउ गर्ने बताएको प्रहरीले खोजी भने गरेको छैन ।

यस्तै पछिल्लो घटनाअनुसार स्थानीय हरिकृष्ण पौडेलमाथि सार्वजनिक स्थलमै आक्रमण प्रयास भयो । त्यसमा सम्लग्न थिए गुण्डागर्दी गर्ने भरत थापाका भाई रामकुमार थापा । रामकुमारविरुद्ध उजुरी लिएर हरिकृष्ण एसपी कार्यलय पुगेका थिए । तर प्रहरीले उजुरी लिएपनि थापालाई बोलाएर यत्तिकै छोडेको थियो । रामकुमारलाई बोलाइए पनि उनीमाथि कारबाही भने प्रहरीले गरेन । सार्वजनिक स्थलमै पौडेलमाथि चक्कु देखाएर आक्रमण प्रयास गरेको रामकुमारले प्रहरी समक्ष स्विकार गरेपनि प्रहरीले भने यत्तिकै छोडेको थियो ।

यसरी जनताको शान्ति सुरक्षाको लागि खटिने प्रहरी प्रशासन र सिडियो कार्यलय पनि निरीह बन्दा स्थानीय झनै प्रताडित बन्न पुगेका छन् । कसैले भरत थापाविरुद्ध सानो स्वरले बोलेपनि उसका गुण्डा आएर कुट्ने र धम्की दिने गर्छन् । प्रहरी र प्रशासनमा यस्ता गुनासा पुग्दा उनीहरू कान्मा तेल हालेर बस्छन् ।

अर्को रोचक घटना छ, स्थानीय निर्वाचन ताका दलबलसाथ भरत थापा घरमै पुगेर आफैले एमालेका प्रदेश उपाध्यक्षमाथि आक्रमण गरे, यो घटना पनि प्रहरी र प्रशासन समक्ष पुग्यो । तर प्रहरीले एमालेका ती नेतालाई नै मिल्न दवाव दियो । आफूहरु थापाको अगाडि निरीह रहेको बताउँदै प्रहरीले नै उनलाई मिल्न दवाव दिएपछि उनी बाध्य भए । एक त यही ठाउँमा बस्नु छ, अर्को उसले जतिबेला पनि आक्रमण गर्नसक्ने भएकाले उनी मिल्न बाध्य भएको बताइन्छ ।

स्थानीय निर्वाचनको मत गणना भैरहेको स्थलमा एमालेकै अर्का नेतालाई भरत थापा आफैले कुटेको फोटो हामीले सार्वजनिक गरिसकेका छौँ । उनको घटनामा पनि प्रहरीले यस्तै गर्‍यो। प्रहरीसँग गुनासो गर्न पुगेका ती नेतालाई पनि प्रहरीले “छोड्दिनुस, केश गरेर के रिक्स मिल्नुहुन्छ” भन्ने जवाफ फर्काएपछि उनी निरास बनेर फर्किएका थिए । प्रहरी समक्ष सुरक्षा माग्दै पुग्नेहरूको यो हालतले प्रहरी प्रशासनकै छबीमाथि शंका उत्पन्न हुन्छ ।

नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार यस्ता क्रियाकलापले प्रहरीको छबीमै आँच आउने बताउँछन् । प्रहरी प्रशासनले देशभर राम्रा काम गरेपनि कतिपय स्थानमा यस्ता गुनासा आउने गरेको उनी बताउँछन् । त्यस्तो ठाउँमा जनता आफै सचेत बनेर प्रहरीलाई दबाव दिनसके उनीहरूलाई सच्चिन मौका मिल्ने उनको तर्क छ ।

राजनीतिक दल र नेताहरूको कारणले पनि यस्तो अवस्था सृजना हुने हुनाले जनता सचेत बनेर दवाव दिने हो भने प्रहरीलाई बल पुग्ने उनको तर्क छ । तर स्थानीय भने मेयर थापाको विरुद्धमा बोल्न सक्ने अवस्था छैन । बोल्यो की कुटाई खाईहाल्ने भएकाले उनीहरू आवाज उठाउन सक्दैनन् ।

यस्ता घटना सर्लाहीमा कत्ती छन् कत्ति जसको कुनै लेखाजोखा छैन । प्रहरी भने तमासा मात्रै हेरेर बस्ने गरेको स्थानीयको गुनासो छ ।

गुण्डाराजको यो शृंखलापछि हामीले मेयर थापाले नेताहरूको आडमा गरेका कुकर्म, प्राकृतिक दोहन, अनियमितता र भ्रष्टाचारबारे लेख्नेछौँ ।

यससँग सम्बन्धित थप समाचार, यी पनि पढ्नुहोस्:-

-अनियमितता लुकाउन ‘ब्याक डेट’मा निर्णय गराउँदै भरत थापा

मेयर भरत थापा: समिति र अख्तियार मिलाउन संयन्त्र परिचालन, पैसा खन्याएर मिडियाबाजी

मेयर भरत थापाको दादागिरी: अनियमितताको समाचार लेख्दा गुण्डा लगाएर ज्यान लिने धम्की

माओवादीबाट निर्वाचित मेयरको गुण्डागर्दी: प्रश्न सोध्नेलाई तह लगाउने धम्की

नारायणकाजीको आडमा मेयर दाजुभाईको गुण्डाराज- ‘साउथ इन्डियन फिल्म’को झल्को

भरत तालमा करोडौँ अनियमितता भएको पुष्टि, न टेण्डरको सूचना छ न प्रक्रिया

जनता कुट्दै मेयरका दाजुभाई : रमिता हेर्दै स्थानीय प्रशासन

-गैरकानुनी धन्दा गर्ने मेयर भरत थापाको अनलाईन पोर्टल बन्द