बाढीले होइन भारतले डुवायो तराइलाई - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बाढीले होइन भारतले डुवायो तराइलाई



 

काठमाडौं ।

तराई बाढी पहिरोले नभई भारतका कारण डुबेको विज्ञहरूले औँल्याएका छन् ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठले भारतको हेपाहा र मिचाहा प्रवृत्तिको कारण नेपाली भूभाग जलमग्न हुने गरेको तथ्य उजागर गरे ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले मंगलबार राजधानीमा आयोजना गरेको ‘सीमा समस्या, तराई डुवानको कारण र दीर्घकालीन समस्याको उपाय’ विषयक अन्तक्र्रियामा उनले सीमा क्षेत्रमा भारतीय पक्षले खडा गरेको एकतर्फी बाँध र तटबन्धका कारण नेपाली भू–भाग डुवानमा परेको दाबी गरे ।

तराई–मधेसमा डुवानमा पर्नुको समस्या पहिल्याइ दीर्घकालीन समाधान पहिल्याउनुपर्नेमा उनको जोड थियो ।
त्यस्तै पराराष्ट्रविद् हिरन्यलाल श्रेष्ठले भारतीय पक्षले दशगजामा बाँध सरह अग्ल्याएर सडक निर्माण गरेकाले भारतीय भूमि डुवानमा परेको जिकिर गरे । “सरकारले आँट गरे बाँध भत्काउन कूटनीतिक पहल गर्नुपर्छ,” उनले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्रीको भारत भ्रमण डुवानकै विषयमा केन्द्रित हुनुपर्ने जिकिर गरे ।

“यो दीर्घ रोग हो । भारतीय व्युरोक्रेसी साउथ ब्लकभन्दा कन्जरभेटिभ छ । सरकारले बाँध भत्काउन पहल गरोस्,” उनको भनाइ थियो ।

उनले नदी तथा जलासयका प्राकृतिक बहाब रोकेर भारतले नेपालमाथि अन्याय गरिरहेको जानकारी दिए ।

त्यस्तै संसदीय समितिका सभापति रवीन्द्र अधिकारीले अवैध र एकतर्फी रूपमा भारतले खडा गरेका तटबन्ध, बाँध नै डुवानको मुख्य कारक भएको औँल्याए । उनले सरकारले दिएको रकम राहतमा होइन बाँध भत्काउन खर्चिए मात्र तराई डुवानमुक्त हुने जिकिर गरे । अन्यथा अर्को वर्ष पनि राहत वितरणका लागि अहिल्यैदेखि सहयोग संकलन गर्न लाग्नुपर्ने उनको तर्क थियो ।
बाह्रखरी