ढुंगा, गिटी भारत पठाउन कहाँ-कहाँ फुटाइँदै छ पहाड ? « Himal Post | Online News Revolution
Logo

ढुंगा, गिटी भारत पठाउन कहाँ-कहाँ फुटाइँदै छ पहाड ?



काठमाडौं- संसदीय समितिको निर्देशन र सर्वोच्च अदालतले दिएको आदेश बेवास्ता गर्दै सरकारले महाभारत पहाड उत्खनन गर्ने नीति ल्याएको छ । पूर्व मोरङदेखि पश्चिम डडेल्धुरासम्म १४ जिल्लाका ९२ ठाउँका पहाड उत्खनन गरेर ढुंगा, गिटी र बालुवा भारत निर्यात गर्ने सरकारी नीति छ ।

सरकारले अहिले बजेटमार्फत सार्वजनिक गरेको नीतिले चुरे र तराईमा फरक नपर्ने दाबी दोहो¥याइरहेको छ । तर, भारत र बंगलादेशसम्म निर्यात गर्ने गरी ९२ ठाउँमा उत्खनन गर्दा त्यसले पहाड, चुरे र तराईमा विनाश ल्याउने भन्दै सरोकारवालाहरू चिन्तित छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा यम बमले लेखेका छन्।

सरकारको निर्देशनअनुसार खानी तथा भूगर्भ विभागले मोरङ, धनकुटा, उदयपुर, सिन्धुली, ललितपुर, मकवानपुर, चितवन, अर्घाखाँची, पाल्पा, प्युठान, सल्यान, सुर्खेत, डोटी र डडेल्धुराका विभिन्न पहाडबाट ढुंगा, गिटी उत्खनन गर्ने टुंगो लगाएको हो । यस्ता पहाड खनेर ढुंगा, गिटी र बालुवा निकासी गर्ने र व्यापार घाटा घटाउने सरकारी योजना छ।

सर्वोच्च अदालतले २१ साउन ०६७ मा निर्यात रोक्न, क्रसर उद्योगलाई मापदण्डभित्र ल्याउन तथा ढुंगा, गिटी र बालुवाबारे राष्ट्रिय नीति बनाउन आदेश दिएको थियो । त्यसको चार वर्षपछि साउन ०७१ मा मात्र यस्ता निर्यातमा सरकारले रोक लगाएको थियो । तर, घरेलु निर्माणका लागि आवश्यक पदार्थका लागि उत्खननको विषयमा राष्ट्रिय नीति बनाउनुको सट्टा सरकारले पहाड फोरेर ढुंगा, गिटी भारत तथा बंगलादेश निर्यात गर्ने नीति ल्याएको छ।

यो सात वर्षमा औपचारिक रूपमा निकासी नभए पनि नदी दोहन तीव्र छ । प्रकृति र मानवजीवनमाथि खेलबाड नगर्न र उत्खननलाई नियमन गर्न सर्वत्र आवाज उठिरहेको वेला सरकारले पहाड खनेर ढुंगा, गिटी र बालुवा निर्यात गर्ने नीति सार्वजनिक गरेको हो ।

सरकारले ढुंगा, गिटी, बालुवा निकासीका लागि पहिलेदेखि नै तयारी गर्दै आएको थियो । खानी विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार पुससम्ममा खानी पहिचान गर्न सरकारले म्याद दिएको थियो । ‘हामीले पुुससम्मको म्याद पाएका थियौँ । सरकारले दिएको काम पूरा गरेका छौँ । हाम्रो काम खानी पत्ता लगाउने हो,’ उनी भन्छन्, ‘विभिन्न महाभारत शृंखलामा अध्ययन गर्दा १४ जिल्लाका ९२ स्थानमा खानीको पहिचान भएको हो । अब, आन्तरिक खपत गर्ने कि निकासी सरकारको नीतिको कुरा हो । आन्तरिक खपतभन्दा बढी भयो भने त स्वतः निर्यात गर्नुपर्छ नै।’

चुरे क्षेत्र नपर्ने, चट्टानको बनावट कडा भएकोे, वन क्षेत्र कम भएको, राजमार्गबाट नजिक पर्ने र आपूर्ति सहज हुने ठाउँलाई खानीको रूपमा सञ्चालन गर्न छनोट गरिएको उनले बताए । उनले यो विषयमा भौगोलिक र भौगर्भिक तथा खनिज उत्खननबारे अध्ययन भएकोसमेत बताए।

डडेल्धुराको तत्कालीन शीर्ष गाविसका मार्कु, चाँकी, तोडिना, कटाल सिमल्टा, गोगन र सलुन गरी ६ डाँडा पहिचान गरेको छ । यी डाँडा अहिले परशुराम नगरपालिकाका ३ र ४ मा पर्छन् ।

डोटीको तत्कालीन छतिवन गाविस र अहिलेको जोरायल गाउँपालिका– २ मा पर्ने रुवसकाँडा डाँडोलाई ६ ठाउँमा उत्खनन गर्ने सरकारको योजना छ । सुर्खेतको गुर्भाकोट नगरपालिका– ९ स्थित माथिल्लो भालुखोला र बथान डाँडा छनोट गरिएका छन् । यी डाँडा साबिकको सहारे गाविसको ७, ८ र ९ नम्बर वडामा पर्छन् । सल्यानको तत्कालीन धनवाङ गाविस र अहिलेको कपुरकोट गाउँपालिका– ४ मा पर्ने थरकोट लेक र लामिडाँडाबाट उत्खनन गरिनेछ । यहाँ ६ वटा खानी पहिचान गरिएका छन् ।

त्यस्तै, प्युठानको सरुमारानी गाउँपालिका– ६ को सरुमारानी लेकलाई ६ ठाउँमा उत्खनन गरिनेछ । यो लेक तत्कालीन तिराम गाविसको वडा नम्बर ६, ७ र ८ मा पर्छ । अर्घाखाँचीको तत्कालीन ठाडा गाविस– ७ र ८ नम्बर वडा तथा अहिलेको शीतगंगा नगरपालिका– ३ मा पर्ने विभिन्न डाँडा पहिचान गरिएका छन् । यी डाँडामा ६ वटा खानी रहेको भूगर्भ विभागको भनाइ छ ।

विभागले पाल्पाका दुई डाँडाका आठ ठाउँ उत्खननका लागि पहिचान गरेको छ । साबिकको मस्याम गाविस तथा अहिलेको तिनाउ गाउँपालिका– ५ मा रहेको मराङकोट र वडा नम्बर ६ स्थित जन्तिलुहुङ डाँडोबाट उत्खनन गरिनेछ । चितवनको तत्कालीन दारेचोक गाविस– ४ र अहिलेको इच्छाकामना गाउँपालिका– ४ मा पर्ने कुरिनभित्ता क्षेत्र छनोट गरिएको छ । यी क्षेत्रमा सातवटा खानी पहिचान गरिएका छन् ।

मकवानपुरका पाँच डाँडा पहिचान गरिएका छन् । साबिकको भैँसे गाविस–८ र अहिलेको भीमफेदी गाउँपालिका– १ मा पर्ने किसेरी, सानुटार, नयाँगाउँ, किटेनी र बुङदल डाँडाबाट उत्खनन गरिनेछ । यहाँ पाँचवटा खानी पहिचान गरिएका छन्।

ललितपुरको तत्कालीन चौघरे गाविस र अहिलेको कोन्जोस्योम गाउँपालिका– १ स्थित चौघरे डाँडोमा ६ ठाउँमा खानी पहिचान गरिएको छ । त्यस्तै, सिन्धुलीको तत्कालीन तिनकन्या गाविस र अहिलेको गोलन्जोर गाउँपालिकाका दुई तथा साबिकको रानीचुरी गाविस र अहिलेको कमलामाई नगरपालिका दुई गरी चार डाँडा पहिचान गरिएका छन् ।

त्यस्तै, उदयपुरको जाल्पा चिलाउने गाविस र अहिलेको त्रियुगा नगरपालिका– १६ स्थित सिरवानी र सुकौरा डाँडा पहिचान गरिएका छन् । यहाँ पाँचवटा खानी पहिचान गरिएका छन् । धनकुटामा १२ वटा खानी पहिचान गरिएका छन् । साँगुरीगढी गाउँपालिकाको वडा नम्बर ६ र ८ मा पर्ने पाथीभरा डाँडा, साँगुरीगढी डाँडा, रनफने डाँडा उत्खनन गरिनेछ । यी डाँडा साबिकका भेडेटार र महाभारत गाविसमा पर्छन् ।

त्यस्तै, मोरङको तत्कालीन भोगटेनी गाविसको वडा नम्बर ४ र ६ पर्ने तथा अहिलेको लेटाङ नगरपालिका–१ स्थित गोपिनी भन्ज्याङ उत्खनन गरिनेछ । साबिकको सिंहदेवी गाविसको वडा नम्बर १ र ९ तथा अहिलेको केराबारी गाउँपालिका–२ मा पर्ने बत्तीसजुरे डाँडोमा पनि डोजर चलाइनेछ । यी दुई डाँडाका पाँच ठाउँमा खानी पहिचान गरिएको छ।