भारत-नेपाल पासपोर्ट अनिवार्य छैन: भरत कुमार रेग्मी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

भारत-नेपाल पासपोर्ट अनिवार्य छैन: भरत कुमार रेग्मी



नयाँ दिल्ली- भारतस्थित नेपाली राजदूतावासले गत माघ २८ गते सूचना जारी गरी भारत हुँदै तेस्रो मुलुक जाने नेपालीले स्थल मार्ग प्रयोग गर्न नपाउने भनेपछि जनमानसमा एक किसिमको त्रास फैलिएको छ ।

दूतावासको सूचनामा नेपाली नागरिकले नेपालबाट स्थल मार्ग हुँदै भारत प्रवेश गरी तेस्रो मुलुक उड्न नपाउने भनिएको छ ।

सूचनामा नेपाल भारतको खुल्ला सिमाना भएकाले मानव तस्करीको कारण देखाइएको छ । सोही क्रममा हामीले भारतस्थित नेपाली राजदूतावासका उप नियोग प्रमुख भरत कुमार रेग्मीसँग छोटो कुराकानी गरेका थियौ

जारी गरेको सूचनाले जनमासमा भ्रम पैदा गर्‍यो नि ?

भ्रम पैदा गर्ने खालको त थिएन तर केही पत्र पत्रिकाले बङ्ग्याएर छापिदिए । हामीले प्रस्ट लेखेका थियौ तेस्रो मुलुकमा जानेको लागि मात्रै हो भनेर ।

के अब स्थल मार्ग हुँदै दिल्ली आउनेले स्थल मार्ग नै प्रयोग गरी नेपाल फर्कनु पर्ने हो ?

त्यस्तो होइन । स्थल मार्गबाट आएर हवाई मार्फत जान पाइन्छ । यदि त्यस्तो कुनै समस्या परे कुनै पनि बेला दूतावासमा सम्पर्क गर्न सक्नुहुनेछ ।

अब नागरिकतामा पनि उड्न नदिने भन्ने हल्ला छ नि । के भारत आउन पनि पासपोर्ट अनिवार्य हुन् लागेको हो ?

यस्तो हो नागरिकतामा उड्न नदिने भन्ने छैन अहिले पनि कैयौँ यात्रुहरू उडिरहनु भएको छ ।केही बाधा अवरोध छैन ।

इमिग्रेसनमा पासपोर्ट यात्रुहरूलाई भन्दा नागरिकतामा उड्ने यात्रुलाई केही समय लाग्न सक्छ किनभने पासपोर्ट डिजिटल हो जसमा आउने जाने सबै जनाकारी हुन्छ तर नागरिकताको सवालमा भने सबै जनाकारी पुनः लिनुपर्छ त्यस कारण केही समय त्यहाँ लाग्ने गर्छ ।तर नागरिकतामा उड्न नपाउने भन्ने चाहिँ होइन ।

नेपाल बाहेक अन्य देशबाट भारत आई सोही देशबाट अन्य मुलुक जान नपाउने हो ?

पाइन्छ तर कुनै पनि देशबाट भारत आइसकेपछि पुनः भारतीय विमानस्थल प्रयोग गरी नेपाल गएको र नेपाल देखि स्थल मार्ग प्रयोग गरी भारत आई अन्य देशमा जान भने समस्या पर्छ ।

उदाहरणको लागि तपाई कुनै पनि देशबाट भारत आउनु भयो । तपाईँको पासपोर्टमा Arrival को स्ट्याम्प लाग्यो अनि तपाई केही दिन भारत बस्नु भयो वा घुम्नु भयो र पुन हवाई मार्ग हुँदै नेपाल जानु भयो त्यो बेला तपाईँको पासपोर्टमा departure को स्ट्याम्प लाग्ने गर्छ पछि तपाई स्थल मार्ग हुँदै भारत आई अन्य देश जानु मिल्दैन तर हवाई मार्ग हुँदै आउनु भयो भने केही समस्या हुदैंन ।

NOC जारी भएको लामो समय भइसक्यो यद्यपि धेरैलाई थाह नभएको अवस्था छ, खासमा कुन कुन देश जानको लागि लिनु पर्ने हुन्छ र यसको लागि पक्रिया के छ ?

NOC को सम्बन्धमा वैदेशिक रोजगारीको लागि नेपाली नागरिकलाई भारतीय विमानस्थलबाट साउदी अरब ,कतार ,मलेसिया कुवेत ,संयुक्त अरब ईमिरेट्स ,ओमन, बहराइन, लेबनान ,सिरिया र इराक उड्न नेपाल सरकारले रोक लगाएको छ तर वैदेशिक रोजगार विभागको श्रम स्वीकृति लिएर आएका नेपालीहरूलाई दूतावासबाट NOC दिने गरिएको छ ।

जसमार्फत उनीहरू ती देशमा सजिलै उडान पाउँछन् ।अर्को भारतमै बसेर लामो समय कम गरिरहेका र उनीहरूको मालिकले आफ्ना कामदार लैजान चाहेको खण्डमा पनि मालिक स्वयं उपस्थित भएर उसमाथि सबै हाम्रा प्रक्रिया पश्चात् कामको स्वरूप हेरेर मात्र दिने गरेका छौ ।

केही दिन यता नेपालदेखि वायुसेवा मार्फत आउने यात्रुहरूको स्वास्थ्य परीक्षण नगरी प्रवेश दिइएको छैन भन्ने हल्ला छ खासमा के होला ?

छिमेकी मुलुक चिन अहिले भाइरसले ग्रस्त छ । सोही अनुरूप भारतले केही देशका नागरिकलाई पहिला देखि नै स्क्रिनिंग गर्दै आएको थियो र पछिल्लो पटक हाम्रो देश लगायत अन्य दुई चार देशका यात्रुहरूलाई पनि स्वास्थ्य परीक्षण गरी रहेको छ ।

त्यसमा खासै त्यस्तो ठुलो कुरा केही होइन सामान्य २-४ मिनेटको कुरा हो । हामीले नेपाल वायुसेवा निगम नयाँ दिल्लीका प्रतिनिधि नारायण पौडेलसँग यसबारे छलफल गरेका थियौ । उहाहरुले जहाजमै फर्म भराउने व्यवस्था मिलाउनु भएको छ । जसले गर्दा यात्रुलाई अवतरण पछि स्वास्थ्य परीक्षणको लागि थप समय खर्चिन पर्दैन ।

दिनहुँ जसो खास गरी भारतमा उपचारको लागि आउने यात्रुहरू धेरै छन् यस्ता बिरामीको लागि त्यहाँ कस्तो व्यवस्था गरिएको छ ? के दूतावासले पनि समन्वय गरेको छ ?

ठ्याक्कै अहिले त्यस्ता बिरामी परेका छैनन् । अनि स्वास्थ्य परीक्षण लामो समयको लागि पनि हैन केही समय भनिएको छ तर पनि यस विषयमा हामीले नेपालमै त्यस्ता बिरामीहरूको लागि कोरोना लागे नलागेको सम्बन्धित डाक्टरहरूको सिफारिस लिएर आउनु पर्ने भनेका छौ जसले गर्दा यहाँ आइसकेपछि अन्य झमेलामा पर्न नपरोस् भनेर ।