भरत तालमा करोडौँ अनियमितता भएको पुष्टि, न टेण्डरको सूचना छ न प्रक्रिया - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

भरत तालमा करोडौँ अनियमितता भएको पुष्टि, न टेण्डरको सूचना छ न प्रक्रिया



सर्लाही जिल्लाको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले १२१ बिगाहा सरकारी जग्गामा आफ्नै नाममा बनाएको भरत तालमा व्यापक अनियमितता भएको पुष्टि भएको छ ।

भरत तालको सौन्दर्यकरणको नाममा व्यापक अनियमितता भएको सार्वजनिक लेखा समितिले ठहर गरेको हो ।

उक्त भरत ताल सौन्दर्यकरणका लागि प्रदेश सरकारले विभिन्न आर्थिक वर्षमा करिब ४५ करोड रुपैयाँ उपलब्ध गराएकोमा उक्त रकममा व्यापक अनियमितता भएको मधेश प्रदेश सार्वजनिक लेखा समितिको अनुगमनबाट ठहर गरेको छ ।

भारत तालको नाममा अनियमितता भएको चौतर्फी आलोचना र दवाव बढेपछि सार्वजनिक लेखा समितिले स्थलगत अनुगमन गरी अनियमितताबारे छानबिन सुरू गरेको थियो ।

कामको प्रकृति हेर्दा थोरै काम गरी कागजमा धरै काम देखाएर सम्पूर्ण रकम अनियमितता गरेको देखिएको समितिका सभापति नरेशकुमार यादवले बताएका छन् ।

भरत तालको स्थलगत अनुगमन पश्चात समितिले थालेको छानबिनको प्रारम्भिक चरणमा व्यापक अनियमितता भएको देखिएको उनले बताएका छन् । उनले अनुगमन पश्चात सम्बन्धित मन्त्रालयबाट फाइल मगाउँदा विभिन्न चरणमा करिब १५ करोड रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा अर्थमन्त्रालयले प्रक्रिया मिचेर एकमुष्टै उपलब्ध गराएको ३० करोडमा अनियमितता भएको बताएका छन् ।

तात्कालीन अर्थमन्त्री विजय यादवले मापदण्ड विपरीत उपलब्ध गराएको ३० करोड रकममा भएको काममा उपभोक्ता समिति वा टेण्डर मार्फत काम भएको हो भन्ने बारे बागमती नगरपालिकाले खुलाएको छैन ।

काम गर्नु अगावै सम्भव नभएको अवधिमा भएको ३० करोड जस्तो ठूलो रकम निकासा गरिएको छ त्यो नै अनियमितता पुष्टि हुने आधार हो । आ.व. ०७७/७८ असार ६ गते रकम निकासा गरिएको र २५ गतेतिर कार्य सम्पन्नता देखाई बागमती नगरपालिकाले हरहिसाब फर्छयौट गरिसकेको छ । 

सो रकम वापत उपभोक्ता समितिबाट केही पिचिंगको काम र बांकी सबै काम टेण्डर प्रक्रिया गरिएको नगरपालिकाले जनाएको छ । जुन पिचिंग बाहेक अन्य काम १९/२० दिनमा सम्पन्न गराउन सम्भव नै छैन । नगरपालिकाले टेण्डर गरेको भनिएपनि न त कुनै पत्रपत्रिकामा त्यसको सूचना प्रकाशन छ न टेण्डरको कुनै प्रक्रिया नै अपनाइएको छ ।

लेखा समतिले यसलाई अनियमितता भएको पुष्टिका रूपमा लिएको छ ।

भरत तालमा सौन्दर्यीकरण, रिफ्रेस सेन्टर, प्रतीक्षालय, पार्क निर्माण र १२ हजार थान आँपको वृक्षारोपण गर्नेलगायत कामका लागि प्रदेश सरकारले ३० करोड रुपैयाँ दिएको थियो ।

यससँग सम्बन्धित थप समाचार, यी पनि पढ्नुहोस्:-

मेयर भरत थापा: समिति र अख्तियार मिलाउन संयन्त्र परिचालन, पैसा खन्याएर मिडियाबाजी

मेयर भरत थापाको दादागिरी: अनियमितताको समाचार लेख्दा गुण्डा लगाएर ज्यान लिने धम्की

माओवादीबाट निर्वाचित मेयरको गुण्डागर्दी: प्रश्न सोध्नेलाई तह लगाउने धम्की

नारायणकाजीको आडमा मेयर दाजुभाईको गुण्डाराज- ‘साउथ इन्डियन फिल्म’को झल्को