सर्लाहीमा मेयरहरू बोरामा पैसा बोकेर मध्यरातमा मतदाताको घरमा छिरेपछि… - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सर्लाहीमा मेयरहरू बोरामा पैसा बोकेर मध्यरातमा मतदाताको घरमा छिरेपछि…



सर्लाही क्षेत्र नम्बर ३ का जनप्रतिनिधि नै निर्वाचन प्रभावित गर्न बोरामा पैसा बाँड्दा बाँड्दै भेटिएका छन् । निर्वाचन आयोगले तोकेको मौन अवधिमा उनीहरू गाउँमा पैसा लिएर बाँड्न गएका थिए ।

पैसा बाँड्न पुगेका सर्लाही ३ मा पर्ने बागमती नगरपालिका र हरिवन नगरपालिकाका मेयर भरत थापा र कमल बुढाथोकीसहितको टोलीलाई मध्यरातमा स्थानीयले फेला पारेका थिए ।

एक स्थानीयका अनुसार शुक्रबार राति थापा, बुढाथोकी र जेब्रा चुनाव चिन्हका स्वतन्त्र उम्मेद्वारलगायत केहीले पैसा बाँडिरहेका थिए । मौन समयमा मतदाता प्रभावित गर्न पैसा बाँडिरहेका उनीहरू स्थानीय जम्मा भएपछि भागेका थिए ।

एकातिर जनप्रतिनिधिहरु निर्वाचनसम्बन्धी कुनैपनि गतिविधिमा संलग्न हुन पाउँदैन। अर्कातिर निर्वाचन प्रभावित गर्न प्रलोभन र आर्थिक गतिविधि गर्न पाइँदैन। यस्तो अवस्थामा मेयरहरू नै पैसा बाँड्दा बाँड्दै भेटिएका छन् ।

शुक्रबार राति हरिवनको वडा नम्बर सात स्थित उनीहरूलाई पैसा बाँडिरहेका बेला स्थानीयले फेला पारेका थिए । बागमती नगरपालिकाका विवादित मेयर भरत थापाको निकट व्यक्ति जवाहरलाल कुशवाहा जेब्रा चुनाव चिन्ह लिएर प्रदेश सभामा चुनाव लडिरहेका छन् ।

माओवादी केन्द्रसँग लफडा भएपछि मेयर थापाले प्रदेश सभामा कुशवाहालाई स्वतन्त्र उम्मेदवारका रूपमा उठाएका छन् । उनलाई जिताउनकै लागि थापाले शंकास्पद गतिविधि गरेको भन्दै दलहरूले बुधबार मात्रै प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेका थिए ।

मेयर थापाले सुकुम्बासी बस्तीमा निर्वाचन बिथोल्न अनेक योजना बनाएको थाहा भएपछि दलहरूले सिडियोलाई गुहारेका थिए ।

मध्यरातमा पैसा बाँडेका भिडियो भाइरल भएपछि मेयर थापा र बुढाथोकीले भिडियो हटाउन सर्वसाधारणलाई धम्क्याएका छन् । भिडियो भाइरल भएपनि सम्बन्धित निकाय भने मौन छन् ।

यस विषयमा सर्लाही क्षेत्र नम्बर ३ का मतदान अधिकृत वशिष्ट कुमार घिमिरेलाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन् । पटकपटक सम्पर्क गर्दा पनि घिमिरेले फोन उठाएनन् ।

सर्लाहीमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले भने यो विषय आफुसमक्ष आइनसकेको भन्दै त्यस्ता गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिने बताए । उनले प्रमाणसहित त्यस्ता गतिविधि भेटिए कसैलाई पनि नछाड्ने बताए ।

हिमालपोस्टसँग कुरा गर्दै गौतमले भने, ‘मेयर वा अरु भन्ने हुँदैन, त्यस्ता खालका गतिविधि जसले गरेपनि हामी नियन्त्रणमा लिएर कारबाही अघि बढाउँछौँ। प्रशासनको नजरमा सबै बराबर हो ।’

यसअघि निर्वाचन कार्यालय र प्रशासनले मेयर थापाका पक्षमा काम गरेको आरोप स्थानीयले लगाउने गरेका छन् । मेयर थापाका अनेक काण्डबारे हिमालपोस्टले लगातार लेख्दै आएको छ ।

थापासँग सम्बन्धित थप समाचार, यी पनि पढ्नुहोस्:-

-अनियमितता लुकाउन ‘ब्याक डेट’मा निर्णय गराउँदै भरत थापा

मेयर भरत थापा: समिति र अख्तियार मिलाउन संयन्त्र परिचालन, पैसा खन्याएर मिडियाबाजी

मेयर भरत थापाको दादागिरी: अनियमितताको समाचार लेख्दा गुण्डा लगाएर ज्यान लिने धम्की

माओवादीबाट निर्वाचित मेयरको गुण्डागर्दी: प्रश्न सोध्नेलाई तह लगाउने धम्की

नारायणकाजीको आडमा मेयर दाजुभाईको गुण्डाराज- ‘साउथ इन्डियन फिल्म’को झल्को

भरत तालमा करोडौँ अनियमितता भएको पुष्टि, न टेण्डरको सूचना छ न प्रक्रिया

जनता कुट्दै मेयरका दाजुभाई : रमिता हेर्दै स्थानीय प्रशासन

-गैरकानुनी धन्दा गर्ने मेयर भरत थापाको अनलाईन पोर्टल बन्द

नारायणकाजी र गिरिराजमणिको संरक्षणमा चलेको भरत थापाको ‘हिटलर राज्य’