अनियमितता लुकाउन 'ब्याक डेट'मा निर्णय गराउँदै भरत थापा, कागजपत्र मिलाउन छुट्टै टिम परिचालन - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अनियमितता लुकाउन ‘ब्याक डेट’मा निर्णय गराउँदै भरत थापा, कागजपत्र मिलाउन छुट्टै टिम परिचालन



सर्लाही- गुण्डागर्दी र अनियमितताका कारण सर्लाहीको बागमती नगरपालिका अहिले देशैभर चर्चामा छ । ताल निर्माणका क्रममा अनियमितता भएको सार्वजनिक लेखा समितिले ठहर गरेपछि अख्तियार अनुसन्धानलाई छल्न मेयर भरत कुमार थापाले एउटा समूह बनाएका छन् ।

केहि कर्मचारी, सिए र विज्ञ लगायत करिव १० जनाको समूह बनाएर थापाले पुराना कागजपत्र मिलाउन निर्देशन दिएका छन् । भरत ताल निर्माणका क्रममा प्रदेश सरकारले दिएको ३० करोडमा अनियमितता भएको लेखा समितिले निष्कर्ष निकालेको समाचार सार्वजनिक भैसकेको छ ।

भरत ताल, नदि दोहन, गिट्टी बालुवामा भएको अनियमितता अहिले मेयरको टाउको दुखाई बनेका छन् । अख्तियारमा परेको उजुरी छानबिन हुनुअघि थापाले अन्य काम रोकेर अनियमितता मिलाउन समूहलाई जिम्मा दिएका छन् ।

मेयर थापाले पुराना वडाध्यक्ष र जनप्रतिनिधिलाई बोलाएर ‘ब्याक डेट’मा निर्णय गर्न लगाइरहेको खुलेको छ। स्रोतका अनुसार अख्तियार र लेखा समितिले अनुसन्धान थालेपछि नगरपालिकामा ‘ब्याक डेट’मा विभिन्न निर्णय भैरहेका छन् ।

एक स्रोतका अनुसार उनले कर्मचारी र अन्य विज्ञहरू मिलाएर १० जनाको अख्तियार छल्ने टिम बनाएर काममा लगाएका छन् । अख्तियारको अनुसन्धान प्रभावित गर्न असफल भएपछि थापाले अख्तियार छल्ने अर्को जुक्ति लगाइरहेका छन् ।

नगरपालिकामा पुगेका सेवाग्राहीका काम पनि अहिले समयमा हुँदैनन् । साधारण काम पनि तत्काल नहुने भन्दै जवाफ फर्काउने गरिएको स्थानीय सेवाग्राहीले बताउने गरेका छन्।

सर्वसाधारण र स्थानीयका काम थाति राखेर नगरपालिकामा सो टिमले घनिभूत काम गरिरहेको छ । पुराना कागजपत्र मिलाउने चटारो छ। कतिपय सेवाग्राहीले सामान्य काम पनि समयमा नभएको भन्दै सामाजिक सञ्जालमै गुनासो पोखिरहेका छन् ।

अख्तियार अनुसन्धान आयोगमा मेयर भरत कुमार थापा र कर्मचारीको मिलेमतोमा अनियमितता भएको भन्दै उजुरी परेपछि पुराना कागजपत्र मिलाउन टिम खटाइएको बताइएको छ।

संयन्त्र असफल

अख्तियारमा मुद्दा परेपछि काठमाडौं हानिएका थापाले विभिन्न संयन्त्र परिचालन गरेको र नेताहरूसँग हारगुहार गरिरहेको हिमालपोस्टसँग यसअघि नै स्वीकार गरिसकेका छन् । चौतर्फी दवावका कारण अख्तियार मिलाउन असफल भएका थापा अहिले बिलखबन्दमा परेका छन् ।

दवावका कारण अख्तियारले एक्सन लिने नै देखेपछि उनले कागजपत्र र हिसाब मिलान गर्न संयन्त्र बनाएका हुन् । अख्तियार मिलाउन सर्लाहीबाट काठमाडौं पुगेर फर्किएका थापा अहिले निरास बनेर बच्ने उपाय खोजिरहेका छन् । एक स्थानीय व्यापारीका अनुसार मेयर थापाले अहिले स्थानीयका काम थाति राखेर पुराना कागज र हिसाब मिलाउन करिब १० जनाको समूह बनाएका छन् । थापाले पुराना जनप्रतिनिधि र ब्यापारीलाई पुनानो मितिमा बिल काट्न उर्दी जारी गरेका छन् ।

मेयर थापाले काठमाडौं पुगेर माओवादी केन्द्रका नेताहरूको घरघर धाएर अख्तियार मिलाउन दवाव दिएको सुचना हामीलाई प्राप्त भएपछि हामीला निरन्तर फलोअप गरिरहेका छौँ । हिमालपोस्ट लगायतका मिडियाले उनका अनियमितता र नेताहरूलाई गरेको हारगुहारको खुलासा गरेको थियो । सोहि दवावका कारण अख्तियार मिलाउने उनको सपना चकनाचुर बनेको छ ।

नेताहरू लागेपछि अख्तियार मिलाउनेमा ढुक्क थिए मेयर थापा । तर उनका हर्कतबारे मिडियाले एकपछि अर्को गर्दै लेख्न थालेपछि माओवादीका नेताहरू समेत तनावमा परेका छन् । नेताहरूले दवाव बढेको भन्दै उनलाई आन्तरिक कागजात र हिसाव मिलाउन सुझाव दिएको खुलेको छ । सोहि सुझाव अनुसार मेयर थापाले स्थानीय ब्यापारी र निवर्तमान वडाध्यक्षहरूलाई पुराना मितिका कागजपत्र बनाउन उर्दी जारी गरेका छन् ।

नाम उल्लेख नगर्ने सर्तमा एक निवर्तमान वडाध्यक्षले आफूलाई मेयर थापाले पुरानो समयका कागज, बिल र भरपाई तयार गर्न निर्देशन दिएका छन् ।

एक स्थानीय व्यापारीका अनुसार आफूलाई पुरानो मितिको बिल काट्न मेयरले दवाव दिएका छन् । नगरपालिका स्रोतका अनुसार थापा अहिले हतास देखिएका छन् ।

यससँग सम्बन्धित थप समाचार, यी पनि पढ्नुहोस्:-

मेयर भरत थापा: समिति र अख्तियार मिलाउन संयन्त्र परिचालन, पैसा खन्याएर मिडियाबाजी

मेयर भरत थापाको दादागिरी: अनियमितताको समाचार लेख्दा गुण्डा लगाएर ज्यान लिने धम्की

माओवादीबाट निर्वाचित मेयरको गुण्डागर्दी: प्रश्न सोध्नेलाई तह लगाउने धम्की

नारायणकाजीको आडमा मेयर दाजुभाईको गुण्डाराज- ‘साउथ इन्डियन फिल्म’को झल्को

भरत तालमा करोडौँ अनियमितता भएको पुष्टि, न टेण्डरको सूचना छ न प्रक्रिया

जनता कुट्दै मेयरका दाजुभाई : रमिता हेर्दै स्थानीय प्रशासन