भारतीय स्काई मार्सलको विषयमा नेपाल सरकारको रणनीति कम्जोर - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

भारतीय स्काई मार्सलको विषयमा नेपाल सरकारको रणनीति कम्जोर



कर्ण बहादुर अधिकारी मकाउ,चीन।
विगत केही दिन देखि विभिन्न पत्र पत्रिका र सामाजिक सञ्जालहरूमा सर्वत्र चर्चा परिचर्चा बन्न पुगेको भारतीय स्काई मार्सलका विषयमा मैले केही अध्ययन गरी यसको वास्तविकताको बारेमा कलम चलाउने जमर्को गरेको छु।कुनै पनि कुराहरूलाई हचुवाको भरमा चर्चा गर्नु भन्दा केही बुझेर व्याख्या गरेको राम्रो हुन्छ।कयौ नेपाली नागरिकहरूलाई एयर मार्सलका बारेमा जानकारी नभएको पनि हुन सक्छ त्यसैले हामी एयर मार्सलका बारेमा केही कुरा बुझौ।

कुनै पनि देशको विमानमा थ्रेट(धम्की)आयो भने सम्बन्धित देशले आफ्नो विमान र यात्रुलाई सुरक्षा दिनका लागि राज्यको सैनिक वा प्रहरीमा कार्यरत रहेका तालिम प्राप्त व्यक्तिलाई बर्दीमा वा बिना बर्दी हतियार सहित सुरक्षा दिनका लागि तयार पारीन्छ भने त्यस्तो दस्तालाई नै एयर मार्सल( In-Flight Security Officer )भनिन्छ।जस्तै माओवादी द्वन्द कालमा पूर्व पश्चिम मार्गमा चल्ने गाडीहरूमा सुरक्षाकर्मीहरूले हात हतियार सहित यात्रुलाई सुरक्षा दिएर गन्तब्य सम्म पुराउथे त्यसरी नै विमानमा पनि विमान भित्र रहेका यात्रु र विमानलाई गन्तब्य सम्म सुरक्षित लैजानका लागि एयर मार्सल प्रयोग गरिन्छ।उक्त एयर मार्सल राख्ने निर्णय भने अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले दिन्छ।जुन देशको विमान स्थलको सुरक्षा प्रणाली कम्जोर हुन्छ त्यस्तो देशमा उडान भर्दा र अबतरण गर्दा एयर मार्सल राख्न सकिने छ।

कुनै पनि देशले एयर मार्सल राख्दा विभिन्न कुराहरूलाई ध्यानमा राखेर नियममा बाधिएर पालना गर्नु पर्ने हुन्छ:-
१. सम्बन्धित देशले विमान अबतरण गर्ने देशसंग एयर मार्सलका विषयमा दुई पक्षिय सम्झौता हुनु पर्दछ।यदि उडानको क्रममा अन्य देशमा ट्रान्जिट पर्‍यो भने उक्त देशसंग पनि सम्झौता हुनु पर्दछ।सम्झौता भएन भने सम्भव हुँदैन।उक्त विषयमा सम्झौता हुँदा दुई देशको गृहमन्त्रालय र नागरिक उड्डयन बिभागसंग सम्झौता हुनु पर्दछ।
२.गोप्य रूपमा दुई देश बिच हतियार र एयर मार्सलका सङ्ख्याको बारेमा पूर्ण रूपमा जानकारी लिने दिने गर्नु पर्दछ।
३.एयर मार्सलका सदस्यहरू विमान स्थल वरपर हात हतियार सहित हिड डुल गर्न पाउने छैनन्।यदि बाहिर जानु परेको खण्डमा हातहतियार सम्बन्धित देशका सुरक्षाकर्मी वा भन्सारमा बुझाउनु पर्दछ। हतियार विमानकै भर्‍याङमा हस्तान्तरण गरे पश्चात् मात्र जान पाउदछ।
४.एयर मार्सलका सदस्यहरूलाई बस्नका लागि विमान भित्र निश्चित सिट तोकिएको हुन्छ।यदि विमानमा संकटकालिन अवस्थामा गोली चलाउनु परेमा बायुयानको कमाण्डरको आदेशमा मात्र गोली हान्न पाइन्छ।

वर्तमान समयमा भारतले नेपालको विमान स्थललाई सुरक्षा दृष्टिकोणले कम्जोर देखाउदै विगतका दिन देखि नै एयर मार्सल राखेको कुरा समाचार माध्यममा आएको छ।सत्य तथ्य हो वा होइन भन्नका लागि नेपाल सरकार नै जानकार होला तर सार्वभौम सम्पन्न राष्ट्रको एक मात्र विमान स्थलमा भारतीय एयर मार्सललाई बास बस्न दिने बारे अहिले जुन किसिमको बहस भएको छ र अनुमति दिने बारे चर्चा चलेको छ यो चाहिँ गम्भीर विषय हो।

नेपाल सरकारसँग मेरो एउटै प्रश्न नेपालको विमान स्थलमा भारतीय एयर मार्सललाई बास बस्नको लागि अनुमति दिन खोज्नुको कारण के?के छ यसको रहस्य?के नेपालले यस विषयमा सकरात्मक सोच्न सक्छ?अन्य देशका विमानहरूमा राख्नु नपर्ने तर भारतीय विमानमा मात्र राख्नुको कारण के?के नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमान स्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको भारतले भने जस्तै सुरक्षा संयन्त्र कम्जोर भएकै हो त ?यस्ता अनेकौ प्रश्नहरू छन् जुन प्रश्नको जवाफ नेपाली जनता जान्न चाहन्छन।

यदि नेपालको विमान स्थलको सुरक्षामा कमी कम्जोरी हो भने नेपाल सरकारले सुरक्षा संयन्त्रमा व्यापक परिवर्तन गराएर अन्तर्राष्ट्रिय उड्डयन सङ्गठनलाई विश्वास दिलाउन सक्नु पर्‍यो।यसरी नेपालको विमान स्थलमा भारतीय एयर मार्सल राख्न दिनु पक्कै पनि राम्रो कुरा होइन।यस विषयमा राजनीतिक दलहरू र सरकारले गम्भीर भएर सोच्न जरुरी छ।यसमा भारतको गम्भीर चाल पनि हुन सक्छ।आखिर भारत नेपालसँग के चाहन्छ? सार्भौमताको कुरा गर्ने हो भने भारत भन्दा नेपाल अग्र स्थानमा छ ।ब्रिटिसको उपनिवेश बनेको भारतले नेपाललाई कम्जोर सोच्नु पर्ने अवस्था छैन।वास्तवमा भन्ने हो भने नेपाल माथि भारतको ठाडो हस्तक्षेप हो भन्ने बुझ्न जरुरी छ।