भारत-पाक सम्बन्ध: क्षेत्रीय एकतामा बाधक - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

भारत-पाक सम्बन्ध: क्षेत्रीय एकतामा बाधक



ई. डम्बर बहादुर सुनार

भुमण्डलीकरणको यो वर्तमान युगमा विभिन्न राष्ट्रहरु शक्ति प्रदशनको होड्बाजीमा आफ़्नो बर्चस्व कसरी कायम राख्न सकिन्छ भन्ने कुरालाई महत्त्व दिएर विकासको पाटोलाई प्राथमिकता दिई तीव्र गतिमा अगाडी बढीरहेका छन् । एसियाको अवस्था बारेमा अलिकता हाम्रो ध्यान आकृष्ट गर्ने हो भने सन १९७८ साल भन्दा पहिला चीनको अवस्था अत्यन्तै नाजुक थियो । विकासको दृष्टिकोण को हिसाबले हेर्ने हो भने, माओत्से तुङको मृत्यु पश्चात् दुई वर्ष पछाडि देङ सिआयो पिङ नेतृत्वमा रहेको चिनिया कम्युनिस्ट पार्टीको केन्द्रीय सभाको ११औ बैठकले डिसेम्बेर १९७८मा पुनः समंजन को नीति लिई केन्द्रीकृत आर्थिक प्रणालीलाई परिवर्तन गर्दै उदारिकरणको नीति अवलम्बन गर्दै चीनको मुहार फेर्ने काम भएको थियो । फलस्वरुप आजको २०१० मा विश्वको सबैभन्दा बढी निर्यात गर्ने राष्ट्रा को सूचीमा आफूलाई सूचित गर्‍यो । अहिले चिन विश्वको उदाउदो सुपर पावर मुलुकको पंक्तिमा आफुअली उभ्याउदै छ । आर्थिक छलाङ्ले अहिले चिन बिश्वसामु सबै मुलुकको निम्ति उदाहरणा बन्न पुगेको छ । भारतले पनि १९९० पछाडि नै विकासको लय समातेको हो र अहिले भारतले विश्वको एउटा महत्त्वपूर्ण राष्ट्रको रूपमा आफ्नो परिचयको दायरा बढाएको छ । त्यसै गरी अन्य मुलुकले पनि विकासको गतिलाई प्राथमिकतामा राख्दै अनेकन अन्बेषण गर्दै भुमण्डलिकरणको महत्त्वपूर्ण हिस्सा बन्न पुगेका छन् ।

क्षेत्रीय संगठनहरुको अवधारणाको विकास सँगै ई.यु. को सफलता सँगै विश्वमा क्षेत्रीय संगठनहरुले नयाँ गति लिन थाले । एसियाकै सन्धर्भमा हेर्ने हो भने पनि आसियन, बिम्स्टेक, ईसिओ, सार्क लागाएत थुप्रै छेत्रीय संगठनहरुको विकास भएका छन् । कुनै पनि क्षेत्रीय सङ्गठनको प्रधान उद्द्श्य भनेको त्यो सङ्गठनका सदस्य राष्ट्रहरूको विकासको दायरालाई फराकिलो पार्ने नै हो ।

देश विकासको निम्ति समान धारणा बनाई सामजिक , आर्थिक, सांस्कृतिक र अन्य क्षेत्रमा साझेदारीको दायरा बढाइ लिड गर्ने राष्ट्रको “सफ्ट र हार्ड” पावर मजबुत बनाउनुनै हुन्छ । अहिलेको विश्वमा जति भौतिक सामर्थ्यमा जुन मुलुक अग्रपङ्क्तिमा हुन्छ त्यही मुलुक नै विकासको मापदण्डमा अगाडी हुन्छ ।

शीत युद्दताका पूर्वी गुटको नेतृत्व तत्कालिक सोभियत सङ्घले गरेको थियो भने पश्चिमी गुटको नेतृत्व संयुक्त राज्य अमेरिकाले गरेको थियो ।१९४७ (ट्रमा डक्ट्रीन ) देखी १९९१ (शोभियत सङ्घको औपचारिक बिघटन्) सम्म चलेको सित युद्ध खास गरी कन पूर्वी गुटको नेतृत्व गर्ने मुलुकहरुलाई कम्युनिस्ट ब्लक भन्ने गरिन्थ्यो भने पश्चिमा मुलुकहरूको नेतृत्व गर्ने मुलुकलाई प्रजातान्त्रिक मुलुक भनेर विश्व राजनीतिको परिधिमा बुझ्ने गरिन्थ्यो । यसै बिचमा अर्को एउटा ब्लक थियो जुन असंलग्न राष्ट्रहरूको समूह भन्ने गरिन्थ्यो जुन देशहरू बिकाशशिल राष्ट्रहरूको समूह थियो । यो समूह सन १९६१ मा बेल्ग्रडमा स्थापना भएको थियो । यो समूह खासगरिकन भारतका तत्कालीन प्रधानमन्त्री ज्वाहरलाल नेहरु , ईण्डोनेशियाका प्रथम राष्ट्रपति सुकार्नो, ईजिप्टका दोस्रो राष्ट्रपति गमल अब्देल नासिर घानाका प्रथम राष्ट्रपति क्वामे र युगोस्लाभियाका तत्कालीन राष्ट्रपति जोशिप ब्रोज टिटोको संयुक्त पहलकदमी बाट स्थापना भएको थियो । सन २०१२ सम्मको मितिमा आइपुग्दा यो अभियानमा १२० राष्ट्रले सदस्यता लिई सकेका छन् । भर्खर मात्र दिवङ्गत क्युवाका राष्ट्रपति फिदेल क्यास्त्रोले सन १९७९ को हवाना घोषणाको सभामा यो समूहको गठनको उद्देश्य जानकारी गराएका थिए । मुलत यो समूहको उद्देश्य तत्कालीन साम्राज्यवादी राष्ट्रहरु र उपनिबेशक रष्ट्रहरुका विरुद्ध एकजुट भई बिकाशशिल राष्ट्रहरूको राष्ट्रिय स्वतन्त्रताको रक्षा , स्वाधिनाता, राष्ट्रिय अखण्डता, असंलग्न राष्ट्रहरूको सुरक्षाको संकल्प थियो । १९७९ मा रसियाले अफ्गानस्तान माथि हमला गर्दा यो समूहले कडा प्रतिवाद गरेको थियो ।

यही समूहको साउथ एसिया का (तत्कालीन सात र अहिले आठ) राष्ट्रहरु मिलेर दक्षिण एसिया क्षत्रिय साझेदारी सङ्गठन (सार्क )सन १९८५ डिसेम्ब र ८ तारिकका दिन बङ्गलादेशको राजधानी ढाकामा स्थापना भएको थियो । सामूहिक “ट्रेड ब्लक” को अवधारणा अनुरूप सात ओटा राष्ट्रहरूले १९७० को उत्तरार्ध तिर छलफलको थालनी गरेका थिए । डिसेम्बेर १९७७ मा बङ्गलादेशका तत्कालीन राष्ट्रपति जियाउ रहमान भारतको भ्रमणमा रहेका बेलामा भारतका तत्कालीन प्रधानमन्त्री मोरारी राज देशाई सँग क्षत्रिय सङ्गठनको रूपमा बिस्तार गर्ने योजनाको बारेमा छलफल भएको थियो । १९७९ मा जब रशियाले अफ्गानस्थान माथि हमला गर्‍यो तब दक्षिण एसियाका सात राष्ट्रहरूले कम्तीमा पनि सुरक्षाको स्थितिलाई मध्य नजर गर्दै क्षत्रिय सङ्गठन स्थापना जति सक्दो चाडो स्थापना गर्ने भन्ने निस्कर्षमा राष्ट्रहरु पुगे । धेरै कुटनितिक बैठकको प्रयास् पछि १९८३ मा भारतको नयाँ दिल्लीमा भएको परराष्ट्र मन्त्रीस्तरिय अन्तर्राष्ट्रिय बैठकमा भारतका बिदेश् मन्त्री श्री पी. भी. नरसिंह रावले औपचारिक् रूपमा सार्कको घोषणा गरी आई. पी. ए मार्फत् कृषि, ग्रामिण् विकास, सूचना, मौसम, र स्वास्थ तथा जनसङ्ख्याको क्षेत्रमा संयुक्त रूपमा काम गर्ने भन्ने विषयमा घोषणा गरे । सार्कको स्थापना हुनु पूर्व धेरै प्रकारका प्रयत्नहरू भएका थिए र डिसेम्बेर ८, १९८५ मा सार्क को जन्म भयो । सार्क सङ्गठनले विश्वको ३% भु-भाग ओगटेको छ भने २१ % जनसङ्ख्या ओगटेको छ । २०१५ सम्म को आकडा हेर्ने हो भने विश्व अर्थतन्त्रको ९.१२% प्रतिशत सार्कले ओगटेको छ ।
भारत र पाकिस्तान स्वतन्त्र भए देखी नै यी दुई राष्ट्रका बिचमा तिक्तता सम्बन्धको दुरी घटेको छैन । बिच बिचमा विभिन्न प्रायत्न हुँदा पनि सुमुधुर सम्बन्ध हुन नसक्नाले सार्कले सोचे अनुरूपको गति हासिल गर्न सकेको छैन । भारत्, १५ अगष्ट १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र र पाकिस्तान १४ अगष्ट १९४७ मा स्वतन्त्र हुँदा देखी नै भारत हिन्दु बाहुल्यता भएको राज्य र पाकिस्तान मुस्लिम बाहुल्यता भएको राज्यको रूपमा तिक्तता सहित बिभाजित भएका थिए । मुस्लिम र हिन्दु एक ठाउँ बाट अर्को ठाउँमा स्थानतरणा हुँदा पन्जाब राज्यमा भएको हिन्दु-मुस्लिम दंगामा कम्तीमा पनि दुई लाख देखी बढीमा बिस लाख मानिसहरू मारिएका थिए । भारत र पाकिस्तान अलग भैसके पनि काश्मिर राज्य भने स्वतन्त्र नै थियो महाराजा हरिसिंह को नेतृत्वमा । तर भारत र पाकिस्तान अलग भएको केही हप्ता बित्न नपाउदै पाकिस्तानले काश्मिर राज्य माथि आक्रमण गर्‍यो र राजा हरीसिंहले भारतसँग गुहार माग्दा सो राज्य भारतको भु-भागमा गासिना पुग्यो । यस बेला त्यहाँ वरिपरिको भु-राजनीतिक अवस्थामा नराम्रोसग असर परेको थियो भने पाकिस्तान र भारतको बिचमा झन् सम्बन्ध चिसिएको थियो । त्यसै गरी सन १९६५ सेप्टेम्बरमा भएको भारत-पाक हवाई युद्धले दुई देश बिचमा तिक्तताको सम्बन्धको दुरी झन् झाङ्गिएर गयो र सत्रुताको सम्बन्धले दुवै देशको विकासमा गहिरोसंग असर पुग्यो । सन १९७१ डिसेम्बर ३ देखी १६ गते सम्म भएको भारत्-पाक को तेस्रो ठुलो युद्धले पाकिस्तान लाई नराम्रो सँग क्षति पुग्यो । यो युद्ध को कहानी पनि बहुत रमाइलो छ ।

भारत सरकार त्यति बेला पूर्वी पाकिस्तान अर्थात् अहिलेको बङ्गलादेशको पक्षमा युद्ध लडेको थियो । १९७० मा पाकिस्तानमा भएको आम निर्वाचनमा सेख मुजिब्बर रहमानले नेतृत्व गरेको आवामी लिग पार्टीले अनेपेक्षित नतिजा हासिल गर्‍यो । पूर्वी पाकिस्तानको प्रादेशिक सभाको ३०० सिटमा आवामी लिगले २८८ सिटमा जित दर्ता गरी स्पष्ट बहुमत प्राप्त गर्‍यो र राष्ट्रिय सभाको ३०० सिटमा १६० सिट जित्दै बहुमत प्राप्त गर्‍यो । त्यति बेलाका राष्ट्रपति याया खानले सरकार हस्तान्तरण गर्न नमानेपछी पूर्वी पाकिस्तानमा दंगा फैलियो । पाकिस्तानी सरकारले सेना परिचालन गरेर पूर्वी पकिस्तानमा हस्तक्षेप बढायो र त्यहाँ रहेको मुल्सिम समुदाय र हिन्दु समुदाय बङ्गालीलाई जनसंहारको सिकार बनाउने प्रक्रियाले मुर्त रूप पायो र आवामी लिगका नेता शेख मुजिबलाई जेलमा हाले फलस्वरुप त्यहाका जनता भारतको बाङ्गाल राज्यमा शरण लिन बाध्य भए । यो दंगाको शृंखलाले भारतलाई नैतिक अनि राजनीतिक रूपमा नराम्रो असर पुग्यो र भारतले सामरिक समयको खोजी गरिरहेको बेला डिसेम्बर ३ तारिकका दिन नै पाकिस्तानले पुन भारतको केही स्थानमा आक्रमण गर्‍यो ।

श्रीनगर्, आग्रा, अमृतसर्, पठानकोट, अवन्तिपुर्, लगायत विभिन्न आठ स्थानमा हावाई आक्रमण गर्‍यो । भारतलाई “के खोज्छस काना आँखा” भने झैँ भयो र पाकिस्तान विरुद्ध युद्धको घोषणा गर्‍यो । नभनदै १३ दिन भित्र भारतले युद्ध जित्यो र पाकिस्तानले भारत सामु आत्मसमर्पण गर्‍यो । ९३ हजार पाकिस्तानी सैनिक भारत सरकारले बंदी बनायो र औपचारिक रूपमा बङ्गलादेश नयाँ देश भएको घोषणा भयो डिसेम्बेर १६ तारिक १९७१ का दिन । यो युद्धले भारत-पाक सम्बन्ध नराम्रो सँग दलदलमा फस्यो । पाकिस्तानले युद्धमा नराम्रो पराजय भोगेको र पाकिस्तानमा जुल्फकिर अलि भुट्टो नयाँ राष्ट्रपति भए पछि उनले भारतसँग मैत्रीपुर्ण सम्बन्ध स्थापना प्रारम्भा गर्ने हेतुले २३ अप्रिल १९७२ मा शान्ति सम्झौताको लागी प्रस्ताव अगाडी बढाए । जुन १९७२ मा भारतको सिम्लामा वार्ता प्रारम्भा भयो र शान्ति सम्झौताले पूर्णता पायो भने भारत र पाकिस्तानको बिचमा रहेको २५ वर्ष लामो तिक्तताको सम्बन्ध अन्त्य हुँदै नयाँ रूप लिदै दुई देश बिच यो सम्झौता कोसेढुंगा साबित भयो । भारतले उक्त सम्झौतामा अधिकतम लचकता अपनाउदै कब्जा गरेको ५ हजार वर्ग माइल जमिन पकिस्तानलाई फिर्ता गर्ने र सँग सँगै बंदी बनाईएका ९३ हजार पाकिस्तानी सैनिकलाई रिहा गर्ने गरी सम्झौताले स्वरूप पायो भने बदलामा पाकिस्तानले सिज फाईर लाइन लाई अन्तर्राष्ट्रिय सीमा बनाउने सहमति जनायो । तर राष्ट्रपति पाकिस्तान फर्केको केही महिना पछि पकिस्तानले सम्झौताको उलंग्घन गर्दै कास्मिर माथि गिद्दे दृष्टि कायम नै राख्यो र फेरी केही महिना पछि दुई देश बिच असम्झादारी बढ्यो र पुरानै शैलीमा एकले अर्कालाई आरोप र प्रत्यारोप लाउन थाले ।

बिच बिचमा कश्मिरमा साना-तिना आतंककारी हमलाहरु हुने शृंखला भने रोकिएन, पुन्: १९९९ को जुलाई महिनामा कार्गिल युद्ध भयो जसमा दुवै देशमा नराम्रो सँग क्षति भयो । १३ दिसेम्बेर २००१ मा फेरी पकिस्तान सम्बद्ध केही आतंककारी सङ्गठनले भारतको केन्द्रीय स्ंसद भवनमा आक्रमण गर्‍यो र दुई देश बिच फेरी अर्को समस्या खडा भयो । २६ नोवेम्बर २००८ मा भारतको मुंबईमा पकिस्तान सम्बद्ध केही आतंककारी सङ्गठनले ताज होटेल र रैल्वे स्टेसनमा गरेको आतंकारी हमलामा परी १६४ जनाको मृत्यु भयो र फेरी दुई देश बिच खट्पट्ले आगोमा घ्यु थपेझै भयो । जनवरी २, २०१६ मा फेरी पकिस्तानी आतंकारी स्ंगठनले भारतको पठानकोटको सैनिक हावाई अड्डामा हमला गर्‍यो र १८ सेप्टेम्बेर २०१६ मा उरिमा फेरी आक्रमणले गर्दा १७ जना भारतीय सैनिक मारिएका थिए ।
भारत पाकिस्तानको राईभल सम्बन्धले गर्दा नोभम्बर ९-१० मा पाकिस्तानमा हुने भनिएको सार्क शिखर सम्मेलन आयोजना हुन सकेन र रद्द भयो । पकिस्तान र भारतको बिचमा विभिन्न समयमा भएको उतार चढाब सम्बन्धले गर्दा क्षेत्रीय सङ्गठनले विकासको गति लिन सकेको छैन । एसियाको कुल जनसङ्ख्याको ४०% सार्क देश भित्र छन् । तर सार्क भित्र अन्तरदेशिय व्यापार हेर्ने हो भने एसियाको कुल अनुपातमा ५% भन्दा कम छ जबकि आसियानले भने २५ % हिस्सा ओगट्छ । सार्क देश भित्र भरतले ७८.८% जी.डी.पी हिस्सा ओगट्छ भने पाकिस्तानले जम्मा ९.७३% ओगट्छ र बाकी हिस्सा अरू देशहरूले ओगट्छन । हुन त सार्कको स्थापना हुँदा पकिस्तान र भारत एक अर्कालाई सार्कमा समेट्न चाहेका थिएनन । भारतले व्यापारिक प्रायजोनलाई प्राथमिकतामा राख्दै अरू देशको बजारमा आफ्नो अधिपत्य कायम गरी साउथ एसियामा एक्लो बृहस्पती हुन्छ र आफ्नो अस्तित्व हराउछ भनेर शङ्कामा पाकिस्तान डुबेको थियो भने पाकिस्तान साना देशहरुसँग मिलेर आफ्नो हेजेमोन लाई भत्काउन प्रायत्नरत हुन्छ भनेर भारतले शङ्का गरेको थियो । सार्क सङ्गठनमा यी दुवै राष्ट्र नै ठुला राष्ट्र हुन जो अलिकता विश्वमा केही सामर्थ राख्दछन । अहिले पकिस्तान आणबिक शक्तिमा विश्वको ७ औ न्ंबरमा आउँछ भने भारत छैठौ न्ंबरमा आउँछ । अरू साना मुलुकलाई भने भारत-पाक सम्बन्ध “साँढेको जुधाई बाच्छाको मिचाई” सरह भएको छ ।

पछिल्लो समय पाकिस्तान चिन र भारत अमेरिकासंग निकट सम्बन्धमा छ्न र दुई पक्षिय रूपमा पारस्परिक लाभका निम्ति विभिन्न क्षेत्रमा साझेदारी गरेका छन् चाहे त्यो आणबिक होस्, सैन्य होस्, व्यापार होस अरू थुप्रै विधामा पनि । यी दुई ठुला राष्ट्रको दुरिभाव सम्बन्धले गर्दा अरू साना मुलुकले धेरै कुरामा क्षेती बेहोर्नु परेको छ ।

त्यसो त भारत महशक्तिको रूपमा उदयमान राष्ट्र हो तर भारत को पनि अन्य छिमेकी मुलुकहरुसंग त्यति राम्रो सम्बन्ध नभएको हुनाले स्वभाविक रूपमा असार बेहोर्नु परेको छ । भारतको बंगलादेशसंग पनि मैत्रीपुर्ण सम्बन्ध स्वस्थ नभएको हुनाले क्षेत्रीय एकतामा कहीँ कतै असर परेको छ । सन १९७२ पछि गङ्गा नदीमा फरक्का ब्यारेजको निर्माण सँगै गङ्गा नदीको विवाद आज सम्म पनि अन्त भएको छैन । विवाद समाधानको लागी २०११ मा तत्कालीन भारतका प्राधान्मन्त्री डा. मनमोहन सिंह र बंगलदेशकी प्रधानमन्त्री सेख हसिना बिच भएको सम्झौता लाई अहिले मोदी सरकारले स्विकारेका छैनन् र अहिले सम्म त्यो विवाद कायमै छ । अक्टोबर १४, २०१६ मा चीनले बङ्गलादेशमा २४ बिलियन अमेरिकी डलर लगानीको लागी सम्झौता गरे लगत्तै भारत बंगलादेशसंग झन् शसंकित बनेको छ । भारत र बङ्गलादेशका बिचमा रोहिङा शरणार्थीको लफडा पनि निकै लामो हो र अझै सम्म पनि समाधान भएको छैन । त्यसै गरी चितमहल टापुको विवाद पनि अहिले सम्म कायमै छ दुई देश बिचमा । सन १९८७ मा श्रीलंकामा तामिल गृहयुद्ध चलिरहेको बेला भारत सरकारले शान्ति सेना परिचालन गरेको केही समय पछि दुई देश बिचमा विवाद सुरु भएको थियो र जसका कारण तत्कालीन प्राधानमन्त्री राजिब गान्धीको २१ मे, १९९१ सालामा तामिल समुदायकी पूर्व लडाकुले आत्माघाती बंब पड्काएर हत्या भएको थियो । पछिल्लो समय श्रीलंका चिन सँग नजिक भए लगत्तै भारतले श्रीलंकालाई झन् आशंकाको दृष्टिकोण बाट हेर्ने गरेको छ । श्रीलंका, सुरक्षाको हिसाबले भारतको लागी सामरिक स्थानको रूपमा हेर्ने गरिन्छ । चीनले आफ्नो व्यापारिक प्रायोजनको लागी श्रीलंकामा अवस्थित हम्बनटोटा बन्दर्गाह प्रयोग गर्ने गरेको छ । चीनले उक्त बन्दर्गाहमा आफ्ना पनडुब्बी पनि ल्याउने गरेकोले कुरा पर्दाफास भए लगत्तै भारत र श्रीलंका बिचमा झन् असमझ्दारी बढेको थियो । सुरक्षाको दृष्टिकोणले भारतले यो विषयलाई अति संवेदनशील तवर बाट हेरेको छ । भारतको सम्बन्ध अन्य देश जस्तै भुटानसँग पनि त्यति सुमुधुर छैन । १९४९ को मैत्रीपुर्ण सन्धिलाई लिएर पटक पटक आवज उठे पछि २००७ मा उक्त संधी परिमार्जन गरेको थियो तर त्यो संधी पनि भारतकै पक्षमा भएको हुनाले सम्बन्धले राम्रो गति लिन सकेको छैन । उक्त सन्धिमा भनिएको छ कि भुटानले विदेश नीति बनाउँदा भारतको सल्लाह लिनु पर्ने छ । भारतले ठुलो दाइको भूमिका निर्वाह गरेको हुनाले भुटान त्यति संतुष्टी छैन भारतसँग । त्यसै गरी नेपाल र भारतको सम्बन्ध असाध्यै निकट र मित्रवत भने पनि बेला बेलामा भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेपकारी ठुलो दाइको भूमिका निर्वाह गर्ने गरेकोले दिघो सुमुधुर सम्बन्ध स्थापना हुन सकेको छैन । ३१ जुलाई १९५० मा भएको नेपाल्-भारत शान्ति एवं मैत्रीपुर्ण सन्धी गरिए पनि उक्त सन्धी नै नेपालको लागी अभिसाप भएको भन्ने कुरा बेला बेलामा बाहिर आउने गरेको छ । नेपालभित्र सानो सानो कुरामा भारतको हस्तक्षेपकारी भूमिकाले गर्दा नेपालको सवाधिनताको विषयमा प्रश्न उठ्ने गरेको छ ।पटक पटकको नाकाबन्दीको विषय होस या संविधान कार्यान्वयनसंग सम्बन्धित विषय किन नहोस्, नेपालको आन्तरिक राजनीतिक विषय होस या अन्य राष्ट्रिय विषय नै किन नहोस अधिकंश विषयमा भारतको नचाहिको भूमिकाको पराकम्पन नेपालाले निरन्तर बेहोर्न परेको छ जसका कारण नेपाल्-भारत सम्बन्ध सुमुधुर हुन सकेको छैन ।

साना तिना मतभेद त कुनै पनि छिमेकीसंग रहन्छन नै तर भारत र पाकिस्तानको भने धेरै विषयमा असहमति भएको हुनाले क्षेत्रीय एकतामा भने अस्वभाविक रूपमा नै खाडल बनेको छ । सबै भन्दा ठुलो विषय आतंकबाद र काश्मिर को मुद्दा जटिल भएको छ दुई देश बिच । यो जटिलताले दुई देशलाई मात्र होइन, सार्कमा रहेका अन्य मुलुकलाई पनि गहिरो असर पारेको छ । भारत र पाकिस्तान को समस्या सुल्झिने होइन भने क्षेत्रीय एकताको प्रमुख मुद्दा नै साउथ एसियाका निम्ति “कुकुरको पुच्छर लौरो न हातीयार” बनेर सिद्ध हुनेछ ।
(लेखक नेपाली काँग्रेसका युवा नेता हुन् )