भरोसा - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

भरोसा



अर्जुन पाण्डे

हात खुट्टा र ढाड दुख्ने बा
छाती र मुटु दुख्ने आमालाई
गाउँको त्यो सानो घरमा छोडेर
हामी छोरो र छोरी टिपेर
हिँडेको धेरै भयो ।
बा र आमालाई कहिले देखि
यस्तो रोग लाग्यो पत्तै छैन
सायद ती रोगहरू
छोराछोरी हुर्केपछि
नातिनातिना जन्मेपछि
लागेकोले होला !

नातिनातिनाले हजुरबुबा, हजुरआमा
भनेको सुन्दैमा मात्रै पनि यिनै शब्दले
प्यारासिटामोलको काम गर्छन् र गर्थे
मेरा बा र आमालाई ।
आफूले न भोगी अरूको भावना बुझ्न
र कल्पना गर्न सम्म नसक्ने म,
नातिनातिनाको माया
कस्तो हुन्छ भन्ने बुझ्न
भगवानको कृपा रह्यो अनि
बाआमालाई हामीले गरेको व्यवहारले
प्रकृतिको सराप परेन भने
सायद त्यो भोग्ने र अनुभव गर्ने दिन
अवश्य आउनेछ, म र मेरो श्रीमतीको पनि ।

मलाई थोरै धागो निस्केका
कपडाहरू पनि फेर्नुपर्ने
अनि तिमीलाई आँखा र कपालमै
महिनैपिच्छे खै के के भर्नु पर्ने
तर मेरा बाले फाटेको टोपी
सिलाएर लाएका छन् ,
मेरी आमाले पछाडिबाट चिरा चिरा
परेको चोली अर्कै कपडाको
टालो हालेर बचाएकी छिन् ।
मैले बजारमा चिनी, मिस्री किनेर
खाली भएका प्लास्टिकहरू अनि
बदाम, किसमिस, काजु,
च्यावनप्रास र हर्लिक्स खाएर
रित्तिएका बट्टाहरू ;
पिछडिएको भनेर मैले छोडेको
त्यै गाउँमा बाआमालाई पठाउँछु ।
बदलामा तिनै भाँडाहरूमा
घिउ, अचार, थोरै तरकारी
अदुवा, बेसार अनि कुराउनी पठाउँछन् ।

जब घरबाट आएका यी समानहरू खोल्दै
म अनि मेरी श्रीमती घरमा फोन
गरेर आमालाई सुनाउँछौँ,
आमा साबुन पानीले अलिक सफा
गर्दिएको भए’नि हुने नि यी भाडाहरू ।
कति निक्निकाउँछन्
तपाईँका नातिनातिनाहरू
यति भन्दा नभन्दै सम्झन्छु
म सानो छँदा पनि मिची मिची
खरानी पानीले धेरै बट्टाहरू
धोएकी मेरी आमालाई
त्यति कुराले कत्ति चिन्ता भएन होला ।
तर चिन्ता भयो,
त्यति दुख गरी बनाएको
र मायाले भरिएको
त्यो बट्टाको घिउ अनि कुराउनी
नातिनातिनाले न खाने हुन कि भनेर
यत्ति कुरा मनमा खेलेपछि
रातभर निद्रा परेन आमालाई
सायद यो खबर ईश्वरले
पुर्‍याएछन् कि के हो नातिनीलाई !
नातिनीले बिहानै फोने गरेर सुनाइन्
“हजुर आमा तपाईँले बनाएको
घिउ कति मिठो है,
अझ त्यो कुराउनी त बाबाले
पसलबाट ल्याएको
लड्डु भन्दा पनि मिठो
यो तीजमा त हजुरआमा म त्यही आएर आफ्नै हातले दर पकाएर
हजुरलाई खुवाउने हो ।”

यत्ति सुनेपछि सायद यो वर्ष
मेरी आमाको छाती अनि मुटु दुख्दैन
मेरो बाको हात खुट्टा अनि ढाड दुख्दैनन्
किनकि नातिनीको त्यै बोलीमा
बुढेसकालमा समाउने
आसाको त्यान्द्रो भेटिएको छ ।
नातिको त्यही बोलीमा बिरामी पर्दा
बुढेसकालमा टाउको अडाउने
सिरानी भेटिएको छ
छोरा र बुहारीले मुटुमा
वर्षौँ अघिदेखि झुस्स झुस्स
पोलेर बनाएको दाग मेटिएका छन् ।
जोगाएर राखेको भत्ता थमाउने
हात भेटिएका छन् ।

अर्जुन पाण्डे
हाल कोरिया