भाषा आन्दोलन - एउटा औचित्यहीन लडाइँ ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

भाषा आन्दोलन – एउटा औचित्यहीन लडाइँ !



~दीपक घिमिरे~

संयुक्त राज्य अमेरिकाका क्यालिफोर्निया , टेक्सस , एरिजोना लगायतका राज्यहरू अनि मेक्सिको ग्वाटेमाला लगायतका सेन्ट्रल अमेरिकी मुलुकहरू र अर्जेन्टिना, बोलिभिया , पेरु , भेनेजुयला लगायतका दक्षिण अमेरिकी मुलुकहरूमा स्पेनिस भाषा बोलिन्छ । अमेरिकी राज्यहरूमा स्पेनिस भाषा बोलिए पनि सरकारी कामकाज अनि स्कुल मा पढाइ अङ्ग्रेजी भाषामै हुन्छ । तर सेन्ट्रल अमेरिकी देशहरू र ल्याटिन अमेरिकी देशहरूमा स्पेनिस भाषानै सरकारी कामकाजको भाषा हो अनि स्कुलको पढाइमा पनि यही भाषा पढाइन्छ ।
दक्षिण अमेरिकी मुलुकहरू जस्तै ब्राजिल सुरिनाम अनि गुयनाहरूमा पोर्चुगिज भाषा बोलिन्छ । क्षेत्रफलका हिसाबले ठूलो देशमा गनिने ब्राजिल मा एउटामात्र भाषा चलनचल्तीमा छ । कोलम्बियामा स्पेनिस भाषा चल्दछ ।
क्यारेबियन महासागरमा भएका देशहरूका आफ्नै भाषा छन् । जमैकामा अङ्ग्रेजी बोलिन्छ । जस्लाई अमेरिकी अङ्ग्रेजी भन्दा अलिक बेग्लै भएको हुँदा ब्रोकन इङ्लिस भनिन्छ । नजिकै भएको अर्को देश क्युबामा स्पेनिस बोलिन्छ भने हैटिमा नबुझिने स्पेनिस अनि फ्रेन्च बोलिन्छ । दुबै भाषा मिसाएर बोलिने हुँदा हैटिका मान्छेको भाषा सरसर्ती न स्पेनिस ले बुझ्छन् न फ्रेन्चहरूले ।

सेन्ट्रल अमेरिकी मुलुक र दक्षिण अमेरिकी मुलुकहरूमा बसोबास गर्ने आदिवासी समुदायका आफ्नै भाषाहरू पनि छन् तर ती भाषा उनीहरूको आफ्नो समाजमा मात्र चलनचल्तिमा छन्, स्कुल अनि सरकारी कामकाजमा स्पेनिस र पोर्चुगिज भाषा नै चल्दछ । अमेरिकी राज्यहरू क्यालिफोर्निया, टेक्सास लगायतका धेरै राज्यहरूमा स्पेनिस भाषा बोल्नेहरूको बाहुल्यता भएता पनि स्कुल मा स्पेनिस पढाइ हुँदैन अनि सरकारी कामकाज अङ्ग्रेजीमै हुन्छ। दक्षिण अमेरिकी देशहरू सुरिनाम , गुयनाहरूमा भारतीयहरूको सङ्ख्या बहुमतमा भए पनि त्यहाँ एउटै भाषा चलनचल्तीमा छ- त्यो हो पोर्चुगिज ।

हिन्दु धर्म र भारतीय समाजले भरिएका देशहरू सुरिनाम, गुयना देशमा हिन्दी भाषा बोल्ने त परैको कुरा बुझ्न सम्म बुझ्दैनन् । सन् अठार सयको समयतिर ब्रिटिसको काम गर्न भारतका विभिन्न राज्यबाट सुरिनाम , गुयना बसाइँ सरेका भारतीयहरू अन्ततः सुरिनाम अनि गुयनाका बासिन्दा भए । आफ्नो धर्म छाडेनन् तर रहन सहन अनि भाषा र भेषभूषा छाड्न कर लाग्यो । हेर्दा दक्षिण भारतीय लाग्ने सुरिनामिक अनि गुयनिजहरू कट्टर हिन्दु धर्मको वकालत गर्दछन् तर भाषाका लागि लडेनन् । पोर्चुगिज नै बोल्दछन् ।
सजिलोसँग बुझ्दा सेन्ट्रल अमेरिका र दक्षिण अमेरिकामा जम्मा दुई भाषा बोलिन्छ । कुनै देशमा स्पेनिस अनि कुनै देशमा पोर्चुगिज । दुई ठूला महादेश उत्तर अमेरिका र दक्षिण अमेरिकाको भाषाको कुरा गर्ने हो भने जम्मा तीन भाषा भेटिन्छन् । अङ्ग्रेजी थपिन्छ।

अब यहाँ आदिवासीहरूको बारेमा चर्चा गरौँ। संयुक्त राज्य अमेरिका आफैँमा शरणार्थीहरूले भरिएको एउटा देश हो । यहाँ विश्वभरिका मान्छे छन्, भाषा छन् अनि धर्म पनि । तर ती भाषा, धर्म अनि भेषभूषा आफ्नै समाज र घरमा सीमित छन् । स्पेनिस भाषा बोलिनेहरूको बाहुल्यता भएको क्यालिफोर्निया राज्यमा स्कुलको पढाइ स्पेनिसमा हुँदैन । सरकारी कामकाज स्पेनिसमा हुँदैन र कर्मचारीले स्पेनिस भेषभूषा पनि पहिरिँदैनन् । यी सबै स्पेनिस हक अधिकार चाहियो भनेर यहाँका जनताले सडकमा टायर बाल्दैनन्, राज्य बन्द गराउदैनन्, चक्का जाम हुदैन अनि यी अर्थहीन कुरामा आन्दोलन हुँदैन ।

मेक्सिको पनि अमेरिका जस्तै शरणार्थीले भरिएको देश हो । त्यहा होण्डुरस , ग्वाटेमाला , साल्भाडोर लगायतका विश्वभरिका मान्छे छन् । तर त्यहाँ पनि एउटै भाषा चल्दछ, चाहे सडकमा चाहे संसदमा वा सरकारी कार्यालयमा । अफ्रिकी मुलुकहरूबाट शताब्दी अघि बसाइँ सरेर आएकाहरूले कहिले आफ्नो अफ्रिकी मातृभाषा चाहियो भनेर आन्दोलन गरेनन् । घर भित्र फ्रेन्च या फुला बोले पनि उनीहरू स्पेनिसमा पोख्त छन् । भाषाको लडाइँ कहिल्यै भएन ।

यी त भए मैले देखेका देशहरूका भाषा बारे सामान्य चर्चा । अब मैले भोगेर आएको भाषाको चर्चा गरौँ ।
मेरो घर देउखुरीमा पर्दछ । देउखुरी थारू बाहुल्यता भएको ठाउँ हो । देशमा सदियौँदेखि चल्दै आएको भाषा सम्बन्धी आन्दोलनको साक्षी म भएको छु । थारू बाहुल्यता भएको मेरो ठाउँमा स्कुलको पढाइ थारू भाषामा , सरकारी कामकाज थारू भाषामा अनि सरकारी पोशाक थारू संस्कृतिको हुनुपर्छ भनेर निक्कै आन्दोलन चर्कियो । आन्दोलन थारूहरूले मात्र होइन पुर्व तिर लिम्बूहरू, खम्बुहरू, मैथली, खाम सबैले गरे । सबैको आन्दोलनको मुख्य उदेश्य आफ्नो बाहुल्यता भएको क्षेत्रको सरकारी कामकाज र स्कुले पढाइ आफ्नै मातृभाषामा हुनुपर्छ । आन्दोलन विशेषत: भाषामाकेन्द्रित थियो ।

विश्वमानचित्रमा सजिलै नभेटिने सानो देश नेपालमा गाउँ पिच्छे अलगअलग भाषा छन् । एउटै जातका पनि ठाउँ अनुसार फरकफरक भाषा छन् । रोल्पामा बोलिने मगर भाषा र म्याग्दीमा बोलिने मगर भाषामा अन्तर छ । देउखुरिमा बोलिने थारू भाषा र दाङमा बोलिने थारू भाषामा भिन्नता छ । अनि कसरी सम्भव छ त सरकारी कामकाज र स्कुले पढाइमा बाहुल्यता अनुसारको भाषालाई मान्यता ? बाहुल्यता त नेपाली भाषी कै छ नि होईन र ?

लोप हुँदै गएको भाषालाई संरक्षण गर्नु सरकारको भन्दा बढी दायित्व त्यो भाषा बोल्ने समाजको हो । थारू युवाहरू आफै थारू भाषा बोल्न छाडेर नेपाली अनि अङ्ग्रेजी भाषामा रमाउने तर थारू अगुवाहरू चाहिँ भाषा आन्दोलनमा सडक तताएर देशलाई अप्ठ्यारो अवस्थामा ल्याउन खोज्ने ? भाषा आन्दोलन नेताहरूको कमाई खाने र चर्चाको शिखरमा पुग्ने बाटो मात्र हो ।

लिम्बूवान या तमुवानको वकालत गर्ने अगुवाहरू आफ्नो लिम्बू तमु संस्कारबाट बेखबर छन् । छोराछोरीलाई युरोप या अमेरिका मा सुरक्षित राखेर आफुहरू भाषा संस्कृति का लागि लडेको देखाउँछन् । आफ्नो संस्कृति भुल्दै गएर बिदेशी संस्कृतिमा रमाउने जमात नै भाषा आन्दोलनको राँको लिएर सडकमा निस्केको देखिन्छ ।
विश्वका विकसित अनि विकासोन्मुख देशहरू आर्थिक उन्नतिका लागि आन्दोलनमा होमिन्छन् तर भाषा र संस्कृतिका लागि आन्दोलन भएको देखिँदैन । क्यानाडा , अमेरिका अनि युरोपहरूमा खै भाषाको लडाइँ ? भाषा र संस्कृतिको लागि लड्नेहरूको अवस्था कस्तो छ सजिलै देखिन्छ ।

सिख धर्म र पञ्जाबी भाषाको वकालत गर्ने भारतीय पञ्जाब राज्य भाषिक र धार्मिक लडाइँकै कारण कति सम्म तल झर्दैछ ! आर्थिक उत्पादनका हिसाबले पहिलो राज्यमा गनिने पञ्जाब बिगत चालीस बर्ष यतादेखि भाषिक र धार्मिक मुद्दाका कारण गिर्दो अवस्थामा पुगेको हो । खालिस्तान देश माग्दै लडने पञ्जाबी सिखहरू दिन प्रतिदिन पछाडि पर्दैछन् ।

अङ्ग्रेजी भाषा र फ्रेन्च भाषा बोल्नेहरू बीचको लडाइँकै कारण अफ्रिकी देश क्यामरुन आर्थिक रूपमा अगाडि बढ्न सकेको छैन । क्यामरुनमा आर्थिक उन्नतिका प्रशस्त सम्भावना हुँदाहुँदै पनि गरिब देशहरूको सूचीमा सूचीकरण हुन पुग्नुको मुख्य कारण भनेकै भाषाको लडाइँ भएको छ ।

त्यसैले, आन्दोलन भाषा संस्कृतिका लागि नगरौँ । यी त जगेर्ना गर्ने विषयहरू हुन । यसको जिम्मा सम्बन्धित भाषा बोलिनेहरूको काँधमा पर्दछ । मेरा पुर्खाहरूले बोल्दै आएको भाषा अनि मान्दै आएको संस्कृति र पहिरिँदै आएको भेषको संरक्षण गर्ने जिम्मा मेरो हो । देशसँग त संरक्षणका लागि सहयोग माग्ने हो । भ्यालेन्टाइनमा बियरको चुस्की लगाउँदै भाइटीकाको विरोध गरेर हुँदैन । ल्होसार मनाउँदै विजयादशमीको शुभकामना दिइयो भने राष्ट्रिय एकता हुनेछ अनि देश समृद्धितर्फ अगाडि बढ्ने छ ।