जनताले एमालेलाई विश्वास गरेका छन्, त्यो विश्वास कायम राख्नुस: भिम रावल - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

जनताले एमालेलाई विश्वास गरेका छन्, त्यो विश्वास कायम राख्नुस: भिम रावल



कैलाली,साउन ९  

नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले ७ नं प्रदेशका एमालेका नवनिर्वाचित जनप्रतिनिधिलाई जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिनु भएको छ ।

एमालेले आयोजना गरेको ७ नं प्रदेशमा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहको शासन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रमको आज समापन गर्दै उहाँले विकासका प्रभावकारी योजना बनाएर जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिनुभयो ।

उपाध्यक्ष रावलले विगतका वर्षमा स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा विकासले गति लिन नसकेको बताउँदै अब एमालेबाट निर्वाचित जनप्रतिनिधिले आ–आफ्नो नगर र गाउँपालिकामा उदाहरणीय काम गरेर देखाउने बेला आएको समेत उल्लेख गर्नु भयो ।

“जनताले एमालेलाई विश्वास गरेर विजयी गराएका छन् त्यसैले जनप्रतिनिधिले पञ्चवर्षीय योजना बनाएर विकासको कामलाई अघि बढाउन जरुरी छ”–उपाध्यक्ष रावलले भन्नुभयो । संविधानले दिएका काम, कर्तव्यको अध्ययन गरेर इमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्न र जनविश्वासलाई कायमै राख्ने गरी आ–आफ्नो क्षेत्रमा इमान्दारीताका साथ काम गर्न उहाँले आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा एमालेबाट निर्वाचित ३९ प्रमुख/अध्यक्ष र ४२ उपप्रमुख÷उपाध्यक्षको सहभागिता थियो । कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिले जनभावनाअनुसार काम गरेर जनताको मन जित्ने प्रतिबद्धता व्यक्त गरेका थिए । रासस