भीम रावललाई नेकपाले पत्याएन, प्रचण्डकी बुहारी भने प्रमुख - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

भीम रावललाई नेकपाले पत्याएन, प्रचण्डकी बुहारी भने प्रमुख



काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयमा रहेका नेतामध्ये अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेलबाहेक सबैले विभागीय जिम्मेवारी पाएका छन्।

सचिवालयमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले क्रमशः विदेश विभाग र नीति प्रतिष्ठानको नेतृत्व पाएका छन् भने गौतमलाई उपाध्यक्षको जिम्मेवारी दिइने भएको छ।

सचिवालयमा रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्कुल विभाग पाएका छन् भने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाएका छन्। गृहमन्त्री रामबहादुर थापालाई राजकीय मामिला तथा सुशासन विभागको नेतृत्व दिइएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेका मन्त्रिपमण्डलका २४ मध्ये १३ जनाले पनि विभागीय जिम्मेवारी पाएका छन्।

उपप्रधान तथा रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापासहित १३ जना मन्त्रीले पार्टीको केन्द्रीय विभागको जिम्मेवारी पाएका हुन्।

अध्यक्ष प्रचण्डकी बुहारीले केन्द्रीय विभाग पाइरहँदा नेकपाका प्रभावशाली नेता भीम रावललाई भने कुनै जिम्मेवारी दिइएको छैन।

यसरी केन्द्रीय विभागको जिम्मेवारी पाउनेमा निर्वाचन विभागको नेतृत्वमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, जलस्रोत, सिंचाई तथा ऊर्जा विभागमा ऊर्जामन्त्री वर्षमान पुन, उपभोक्ता हित तथा आपूर्ति विभागमा वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव छन्।

जुन मन्त्रालयको नेतृत्व गरेका छन्, सोही मन्त्रालयअनुसार नेकपाले मन्त्रीहरूलाई विभागीय जिम्मेवारी दिएको छ। जसअनुसार कृषि तथा भूमिसुधार विभागमा चक्रपाणि खनाल, खानेपानी तथा सरसफाइ विभागमा बिना मगर, भौतिक पूर्वाधार तथा व्यवस्था विभागमा रघुवीर महासेठ, वन तथा वातावरण विभागमा शक्तिबहादुर बस्‍नेत छन्।

यसैगरी, शिक्षा तथा मानव स्रोत विभागमा गिरीराजमणि पोखरेल, श्रम तथा रोजगार विभागमा गोकर्ण विष्ट, सामान्य प्रशासन विभागमा लालबाबु पण्डितलाई नेतृत्वको जिम्मेवारी दिइएको छ। नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले पर्यटन विभागको नेतृत्व पाएका छन्।

६ मन्त्री जिम्मेवारी बिहिन

विभागीय जिम्मेवारी नपाउने मन्त्रीमा भूमीसुधारमन्त्री पद्मा अर्याल, खेलकुदमन्त्री जगत विश्वकर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा मगर, अर्थमन्त्री युवराज खतिवडा, सञ्‍चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा छन्।

महिला नेतृत्व सुन्य जस्तै

नेकपाका ३२ विभागमध्ये दुईमा मात्रै महिलाले नेतृत्व गर्ने अवसर पाएका छन्। बाँकी ३० विभागमा पुरुष हाबी भएका छन्।

उद्योग तथा वाणिज्य विभागमा राधा ज्ञवाली र खानेपानी विभागमा खानेपानीमन्त्री बिना मगरलाई जिम्मेवारी तोकिएको छ। बाँकी ३० विभागमा पुरुषले जिम्मेवारी पाएका छन्।

तर, विभागीय उपप्रमुखमा रेखा शर्मा, उर्मिला अर्याल, अञ्‍जना बिशंखे र ममता गिरी भने अटाएका छन्।

मधेशी तिनमा

नेकपाका ३२ विभागमध्ये तीन विभागमा मात्रै मधेशी मूलका नेताले नेतृत्व पाएका छन्। ओली सरकारमा रहेका मन्त्रीहरू रघुवीर महासेठ, लालबाबु पण्डित र मातृका यादवले नेतृत्व पाएका छन्। गोपाल ठाकुर, रामेश्वर राय यादवले उपप्रमुखको जिम्मेवारी पाएका छन्।

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई सङ्घीय संसदीय विभागको जिम्मेवारी दिइएको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई सहकारी तथा गरिबी निवारण विभागको जिम्मेवारी दिइएको छ।

तत्कालीन नेकपा संयुक्तबाट माओवादी हुँदै नेकपामा सामेल हुन आएका गणेश साहलाई विज्ञान तथा प्रविधि विभाग, मणि थापालाई साहित्य, कला तथा संस्कृति विभाग दिइएको छ।

मनमोहन अस्पतालका सञ्‍चालक राजेन्द्र पाण्डेलाई स्वास्थ्य विभाग, टोपबहादुर रायमाझीलाई खेलकुद विभाग, स्कुल विभागमा दाबी गरिरहेका घनश्याम भुसाललाई प्रादेशिक मामिला विभाग दिइएको छ।

रघुजी पन्तलाई कानुन तथा मानवअधिकार विभाग दिएको नेकपा सचिवालय बैठकले लेखराज भट्टलाई सहरी विभागको नेतृत्व दिइएको छ।

स्थानीय तह विभाग युवराज ज्ञवालीले पाएका छन् भने समाज कल्याण विभाग वामदेव गौतम निकट मानिने केशवलाल श्रेष्ठको भागमा परेको छ।