भीम रावललाई कारबाही गर्ने अध्यक्ष ओलीको तयारी - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

भीम रावललाई कारबाही गर्ने अध्यक्ष ओलीको तयारी



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलमाथि कारबाही गर्ने तयारी गरेका छन् । रावलले कैलालीमा आफ्नो गुटको महाधिवेशन प्रतिनिधि भेला बोलाएपछि ओलीले यस्तो तयारी गरेका हुन् ।

यही मङ्सिर १० देखि १२ गते चितवनमा हुने महाधिवेशनका लागि यसअघि नै अध्यक्ष केपी शर्मा ओली पक्षले कैलालीमा प्रतिनिधि छनोट गरिसकेको थियो । रावलले त्यतिबेला आफूलाई प्रतिनिधि छनोट गरेको थाहा नभएको प्रतिक्रिया दिएका थिए । ओली पक्षले एकलौटी प्रतिनिधि छनोट गरेपछि रावल ओलीसँग रुष्ट बनेका थिए ।

रावलले आज समानान्तर हिसाबले प्रतिनिधि छनोटका लागि भेला आह्वान गरेपछि ओली र रावलबीच देखिएको विवाद सतहमा आएको हो ।

कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर तथा एमाले प्रदेश कमिटी सदस्य महादेव बजगाईंले सामाजिक सञ्जाल फेसबूकमा लेख्दै महाधिवेशन प्रतिनिधि छनोट भेला बोलाएका हुन् । उनी रावलनिकट मानिन्छन् । रावलकै निर्देशनअनुसार उनले समानान्तर भेला बोलाएका हुन् ।

बजगाईंले ओली पक्षले आफ्ना गुटका मान्छेलाई मात्र महाधिवेशन प्रतिनिधि चुनेको भन्दै त्यसलाई भ्रम रहेको बताएका छन् ।

बजगाईंले भनेका छन्, ‘हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी -लेनिनवादि) को मिति २०७८ साल मंसिर १०-१२ गतेसम्म चितवनमा हुन गइरहेको दशौं दशौँ महाधिवेशनमा कैलाली क्षेत्र नं.२ बाट ६ पुरुष र ३ महिला गरी जम्मा ९ जना प्रतिनिधि छनौट गर्नका लागि देहाएको मिति,समय र स्थानमा कैलाली क्षेत्र नं.२ मा रहेका सम्पूर्ण संगठित सदस्यहरुको भेला आयोजना गरि छनौट गर्नुपर्ने भएकाले यश क्षेत्रमा रहेका हाम्रो पार्टीका सम्पुर्ण संगठित सदस्य कम्रेडहरुलाई यसै सूचना लाई आधार मानी उपस्थिति भैदिनहुन हार्दिक अनुरोध गर्दछु ।’

भेला आज लम्की टिकापुर रोद होटेल मनोहरामा बिहान १० बजे बोलाइएको हो ।

बजगाईंले थपेका छन्, ‘महाधिवेशन प्रतिनिधि छनोट भैसकेको भन्ने भ्रम पार्टी का इमान्दार संगठित सदस्यहरु माझ केही अराजक, विधि पद्धति नीति नियम नमान्ने तत्वद्वारा फैलाइएको हुँदा उक्त भ्रममा नपर्नुहुन सम्पुर्ण माझ जानकारी गराउदछु । पार्टी प्रतिनिधिका लागि सकेसम्म सर्वसम्मत तरिकाले नभए निर्वाचन माध्यमबाट हुने हाम्रो पार्टीको विधानमा रहेको छ ।’

तर ओली पक्षले भने रावल पक्षलाई कारवाहीको चेतावनी दिएको छ । एक केन्द्रीय सदस्यले भने, ‘कैलालीमा प्रतिनिधिको छनोट भइसकेको छ । यदि अझै कसैले भएको छैन भनेर भ्रम सिर्जना गरेर कुनै भेला आयोजना गर्छ भने त्यसलाई पार्टीले कारवाही गर्छ ।’