चार वर्षमा सुब्बाको जागिरबाट साढे ६ करोड कमाउने भीमकान्तको यस्तो छ नालीबेली - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

चार वर्षमा सुब्बाको जागिरबाट साढे ६ करोड कमाउने भीमकान्तको यस्तो छ नालीबेली



काठमाडौं- प्रथम श्रेणी (नायब सुब्बा) सरहका एक सरकारी कर्मचारीले चार वर्षमै ६ करोड २४ लाख बढी कमाएको देखिएको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीले सार्वजनिक पदमा रहँदा ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ कमाएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका अनुसार भण्डारीले २०७३ असोज २१ गते राजपत्र अनंकित प्रथम श्रेणी अन्तर्गत वरिष्ठ व्वस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिएभने २०७७ साउनमा स्वेच्छिक अवकाश भएको र सेवा प्रवेश गरेको मितिदेखि २०७८ पौष मसान्तसम्ममा कमाएको ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँको स्रोत खुलेको छैन ।

आयोगका अनुसार भण्डारीले प्रथम श्रेणीअन्तर्गत वरिष्ठ व्यस्थापन सहायक पद सम्हालेको थिए । भण्डारीले झन्डै चार वर्ष सहायकको रूपमा काम गर्दा स्रोत नखुलेको ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ कमाएको देखिएपछि सो बराबर रकम भ्रष्टाचार गरेको ठहर गरी गैरकानुनी सम्पति जफत गर्न मागदाबीसहित मुद्दा दर्ता गरेको आयोगले जनाएको छ ।

आयोगले भण्डारीविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कारबाही गर्न माग गरेको छ।

को हुन् भीमकान्त भण्डारी ?

गुल्मीको मालिका गाउँपालिकाका घर भएका सुब्बा भीमकान्त भण्डारीले तत्कालिन उर्जामन्त्री वर्षमान पुनको सचिवालयमा काम गर्थे । उनी बिध ल्याबका मालिक समेत हुन् । भण्डारीले पहुँचको आधारमा नेपालमा जे पनि गर्न सकिन्छ भन्ने उदाहरण देखाएका छन् । कानून अनुसार सरकारी कर्मचारीले कुनै ठेक्कापट्टाको काम गर्न पाउँदैन । तर उर्जामन्त्री पुनकै सचिवालयमा काम गरिरहँदा सरकारी कर्मचारी (भीमकान्त)ले कोरोना भाइरस जाँच गर्ने भनिएको आरडीटी किट किन्ने २३ करोडको ठेक्का हात पारेका छन्।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान अन्तर्गत ग्रामीण विकास प्रशिक्षण केन्द्र, झापा दरबन्दी भई उर्जामन्त्रीको सचिवालयमा काजमा रहेका भीमकान्त भण्डारीले पहुँचकै भरमा २३ करोडको आरडीटी किट खरिद गरेर भुक्तानी लिएका हुन् ।

कोरोना भाइरसको महामारी शुरु भएपछि स्वास्थ्य सामग्री खरिदको ठेक्का पाएको ओम्नी समूह चौतर्फी आलोचनाका कारण बाहिरीए लगत्तै विध म्यानेजमेण्ट प्रालि मन्त्रालयमा भित्रिएको हो ।

स्वास्थ्य सामग्री आपूर्तिमा कुनै अनुभव नभएको र दर्ता भएको एक वर्ष पनि नपुगेको यो कम्पनीलाई स्वास्थ्य सेवा विभागले शुरुमा १९ वैशाख २०७७ मा ५ करोड ६५ लाखको आरडीटी किट खरीदको जिम्मा दिएको थियो ।

सरकारी जागिरमा नाम निकालेपछि २०७३ असोज २० गते देखि १० दिनमात्र कार्यालयमा हाजिर भएर दँशैविदामा घर फर्केका थिए । दँशैपछि कार्यालयमा पुगेर स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका लागि काज मिलाएर आएका उनी त्यसपछि ४ वर्ष आफ्नो कार्यालय फर्केनन् ।

स्थानीय विकासमन्त्रालय, अर्थमन्त्रालय, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयमा मन्त्रीको सचिवालयमा काजमा बसेका उनी २०७४ चैतदेखि उर्जामन्त्री वर्षमान पुनको सचिवालयमा थिए । कम्पनी दर्तादेखि आरडीटी किटको ब्यापार गर्दासम्म उर्जामन्त्रीको सचिवलायमा रहेका उनी गत असार १५ मा मात्रै स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा फिर्ता भएका थिए । तर उनी आफ्नो दरबन्दी भएको कार्यालयमा नगइ तालुक अड्डामा नै बसेका छन् ।

भण्डारीले २०७७ असार मसान्तसम्म ग्रामीण विकास प्रशिक्षण केन्द्र, झापाबाट तलब बुझेको ग्रामिण विकास प्रशिक्षण प्रतिष्ठान स्रोतले बताएको छ ।

ठूला नेतासँग रहस्यमयी साँठगाँठ !

तत्कालिन उर्जामन्त्री वर्षमान पुनको सचिवालयमा रहेकै बखत उनले कोरोना भाइरस रोकथाम र नियन्त्रणका सामग्री खरिद प्रकृयामा संलग्न भएको ओम्नी ग्रुप बाहिरिएलगत्तै अप्रत्यासित रुपमा सोही ब्यापार सम्हालेको देखिन्छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाले १९ वैशाख २०७७ मा बिध सँग शुरुमै रु ५ करोड ६५ लाख २५ हजार मूल्य बराबरको आरडीटी किट खरिदका लागि जिम्मा दिएको थियो ।

अनौठो त के छ भने स्वास्थ्य सामग्री आपूर्तिमा कुनै अनुभव नभएको र दर्ता भएको एक वर्ष पनि नपुगेको यो कम्पनीलाई लगत्तै थप सामग्री खरीद गर्ने ठेक्का दिइयो । जस्तो कि, बिध म्यानेजमेन्ट प्रालिले ३० जेठ २०७७ मा विभागको आपूर्ति व्यवस्थापन शाखाबाट थप रु.९ करोड ४५ लाख मूल्यको आरडीटी किट खरीद गर्ने ठेक्का पायो । त्यसपछि थप आरडीटी किट खरीद गर्न ३ असार २०७७ मा अर्को सम्झौता हुँदा बिधले रु.७ करोड ७५ लाख ३६ हजार ५६० को ठेक्का पायो । यसरी बिधले आरडीटी किट खरीद गर्न तीन महिनाको बीचमा स्वास्थ्य सेवा विभागबाट कुल रु.२२ करोड ८५ लाख ६१ हजार ५६० को ठेक्का पायो । भण्डारीले तत्कालिन उर्जामन्त्री वर्षमान पुनको सचिवालयबाटै यस्तो व्यापारमा हात हालेका हुन् । उनी र पुनको सम्बन्ध समेत शंकाका घेरामा रहेको उनी निकटहरु नै बताउँछन् ।