भोजपुरको ३ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनको निरन्तर अग्रता - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

भोजपुरको ३ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनको निरन्तर अग्रता



२२ मंसिर, भोजपुर ।

भोजपुरमा प्रतिनिधिसभा तथा प्रदेश सभा गरी ३ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनले निरन्तर अग्रता लिइरहेको छ । मतगणना कार्य शुरु भएको करिब १५ घण्टा वितिसक्दा प्रतिनिधि सभा, प्रदेश सभा क र प्रदेश खमा लोकतान्त्रिक गठबन्धनले पछ्याइरहेको छ ।

यहाँ वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका शेरधन राई झण्डै तेब्बर मतका साथ अगाडि छन् ।

प्रतिनिधि सभातर्फ वाम गठबन्धनतर्फका उम्मेद्वार माओवादी केन्द्रका सुदन किराँतीले ४ हजार ९ सय ६५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका उम्मेद्वार नेपाली कांग्रेसका उमेशजंग रायामाझीको ३ हजार ६ सय ६ मत रहेको छ ।

त्यस्तै भोजपुरको प्रदेश सभा १ मा नेकपा एमालेका राजेन्द्रकुमार राईले ३ हजार ७९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका नेकपा संघीय समाजवादी फोरमका अजम्बर राई काङ्गमाङ्गले १ हजार ८ सय ३८ मत प्राप्त गरेका छन् ।

जिल्लाको उत्तरी साल्पासिलिछो गाउँपालिकामा उछिन्ने आश गरेको अजम्बर राईको मत सोचे अनुसारको खसेको पाइएन ।

भोजपुरको प्रदेश सभा २ मा भने नेकपा एमालेका शेरधन राई झण्डै साढे ५ हजार मतले अगाडि छन् । यहाँ शेरधन राईको ८ हजार ३ सय २७ मत छ । त्यस्तै लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गोविन्दबहादुर कार्कीले २ हजार ८ सय ९७ मत प्राप्त गरेका छन् ।

भोजपुरमा कुल ८७ मतदान स्थलमा १ सय ४८ वटा मतदान केन्द्रमार्फत मतदान भएको थियो । जसमध्ये हालसम्म प्रतिनिधिसभातर्फ २४ वटा मतदान केन्द्रको मतगणना सकिएको छ । उता भोजपुर प्रदेश सभा १ मा ७६ वटा मतदान केन्द्रमध्ये १४ र प्रदेश सभा २ मा ७२ वटा मतदान केन्द्रमध्ये २८ वटा मतदान केन्द्रको मतगणना कार्य सम्पन्न भइसकेको छ ।

प्रतिनिधिसभाको एउटा कोठामा २ ठाउँ र प्रदेश सभाको छुट्टाछुट्टै कोठा गरी जम्मा ४ वटा ठाउँबाट मतगणनाको व्यवस्था मिलाइएको छ । मतगणनाको लागि एउटा समूहमा ७ जना गणक कर्मचारी परिचालन गरिएको छ ।

भोलि बेलुकासम्ममा मतगणनाको अन्तिम नतिजा आइसक्ने अनुमान गरिएको छ । प्रदेश र प्रतिनिधिसभा दुवैतर्फको अन्तिम नतिजा एकैपटक घोषणा गरिने मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र इङनामले अनलाइनखबरलाई जानकारी दिए ।

अनलाईनखबरबाट