निर्वाचित भएको भोलिपल्टै राष्ट्रपति पौडेलको चर्को आलोचना - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

निर्वाचित भएको भोलिपल्टै राष्ट्रपति पौडेलको चर्को आलोचना



गणतन्त्रका सेरमोनियल राष्ट्रपतिबाट नेपाली जनताले खासै अपेक्षा राखेका छैनन्। उनीहरूको एउटै अपेक्षा छ–सवारीका समयमा कम्तीमा सडकमा लामो समय रोकिन नपरोस्। विभिन्न महत्वपूर्ण काम बोकेर हिँडेको समयमा घन्टौं जाममा बस्नुपर्ने बाध्यताले आजित उनीहरूको माग जायज पनि हो।

यही माग बुझेरै होला राष्ट्रपति निर्वाचित भएलगत्तै बिहीबार साँझ उनले सडक अवरोध नहुने बताएका थिए। ‘अब त्यो जाम हुँदैन’, पत्रकारको प्रश्नमा उनले भनेका थिए, ‘गणतन्त्रको राष्ट्रपति र राजतन्त्रको राष्ट्राध्यक्षमा कस्तो फरक हुन्छ त्यो म देखाउँछु।’

विगतका राष्ट्रपतिको सवारीमा धेरै सास्ती बोकेकाहरू वर्तमान राष्ट्रपतिको भनाइबाट दंग थिए। केही समयअगाडि राष्ट्रपति विद्या भण्डारीले टेलिभिजन अन्तर्वार्तामा ‘अन्य जाम नदेखेर आफ्नो यात्रामा मात्र जाम देखेको’ भन्दै असन्तुष्टि पोखेकी थिइन्।

विगतका राष्ट्रपतिले यस्तो भन्दै गर्दा नयाँ राष्ट्रपतिको भनाइ धेरैले तारिफ पनि गरे। त्यसैले होला पौडेलको जवाफ रातीदेखि नै विभिन्न सामाजिक सञ्जालमा भाइरल बन्न पुग्यो। राष्ट्रपतिको भन्दा पनि उनले सडक जाम नगराउने बाचाको धेरैले स्वागत गरेका थिए। ‘मलाई उनका बारेमा अरू केही थाहा छैन’, सामाजिक सञ्जालमा नरेश कार्कीले बिहीबार साँझ नै प्रतिक्रिया दिए, ‘मैले खोजेको राष्ट्रपति बल्ल पाएँ।’

शुक्रबार बिहान पौडेलले आफ्नो मात्र हैन, नरेश कार्कीजस्ता सर्वसाधारणको पनि विश्वास तोडे। राष्ट्रपति निर्वाचित भएको भोलिपल्ट आफ्नै बाचाविपरीत रामचन्द्र पौडेल सडक खाली गराएर पूजाअर्चनाका लागि पशुपति मन्दिर गए। बिहान ९ बजे मन्दिर पुगेका पौडेलका कारण सवारी अवरुद्ध हुन पुग्यो। सवारीको समयमा एकातिरको मात्र लेन खाली गराए पनि सर्वसाधारण जाममा परे। बिहीबार साँझ उनको तारिफ गर्नेहरूले शुक्रबार बिहानै जाममा पर्दा हर्न बजाएर विरोध जनाए।

कांग्रेसका महामन्त्री गगन थापाले पनि यस्तै आशयको पत्र लेख्दै पौडेललाई राजा र राष्ट्रपतिभन्दा पनि नागरिक राष्ट्रध्यक्षका रूपमा हेर्न चाहेको बताएका छन्। विशिष्ट व्यक्तिको सवारी सुरक्षा दिने नाममा सडक खाली गराएर नागरिकलाई घन्टौंसम्म हिँडडुल गर्न नदिने जुन परम्परा र अभ्यास छ; यो तामझामपूर्ण शैलीले संस्थाप्रति नै नकारात्मक धारणा विकास हुँदै गएको उनले बताएका छन्। ‘तपाईंले यस्तो गर्दिनँ भन्नुभएको छ, सकारात्मक छ, त्यसैले राष्ट्राध्यक्षका नाममा विगतमा जस्तो तडकभडक गर्ने होइन, सरल र सादगी जीवन शैली, अनुसरण गर्नुस्’, उनले भनेका छन्, ‘नागरिक राष्ट्राध्यक्षका रूपमा आफूलाई राख्नुहुने छ भन्ने अपेक्षा छ। ताकि आम नागरिकले राष्ट्रपति हिँडडुल गर्दा तथा अन्य व्यवहार गर्दा आम नागरिकजस्तै सामान्य भएको महसुस गर्न सकून्, देख्न सकून्।’

तर त्यसो भएन। शुक्रबार दिउँसो उनले यसो भन्दै गर्दा बिहानै जनताले फेरि एकपटक नयाँ राष्ट्रपतिको सास्ती झेलिसकेका थिए। के राष्ट्रपतिको सवारी सडक बन्द नगराई सम्भव नभएकै हो त? ‘होइन, जनतालाई सर्वोपरि ठान्ने हो भने अन्य देशमा पनि चलेको छ। सडक अवरोध नगरी समय मिलाएर निस्किए जनताले दुःख पाउँदैनन्, ‘सडक इन्जिनियर आशिष गजुरेल भन्छन्, ‘गणतन्त्रका सेरमोनियल राष्ट्रपतिले यति त गर्नुपर्ने हो।’

गृह मन्त्रालय भने विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि २०७७ चाँडै परिमार्जन हुने र यात्रा सहज हुने बताउँछन्। आफूहरूले शुक्रबारै राष्ट्रपतिलाई पनि भेटेको र उहाँको सवारीसम्बन्धी आशय पनि परिमार्जित कार्यविधिमा सम्बोधन हुने गृहका प्रवक्ता जितेन्द्र बस्नेतले बताए। ‘अहिलेसम्म कार्यविधिअनुसार चल्नुपर्ने हुन्छ’, बस्नेत भन्छन्, ‘त्यो परिमार्जन भएपछि केही सहज हुने छ।’

पौडेलको सचिवालयले भने पशुपति, सुन्दरीजल वा साँझ स्वयम्भुनाथ जाने क्रममा सडक बन्द गर्न नभनिएको जनाएको छ। सञ्चारमाध्यममा आएका समाचार, जनचाहना र राष्ट्रपतिले निर्वाह गर्नुपर्ने भूमिकाबारे नवनिर्वाचित राष्ट्रपति जानकार रहेको जनाउँदै पुरानो कार्यविधि परिर्वतन गरेर आउजाउलाई सहज बनाउन सरोकार पक्षलाई भनिसकिएको जनाइएको नागरिकले लेखेको छ।