सचिवहरुलाई प्रधानमन्त्रीको प्रश्न- जाडोमा भुकम्प पीडितका घर खोइ?? - Himal Post Himal Post
  • २ बैशाख २०८१, आईतवार
  •      Sun Apr 14 2024
Logo

सचिवहरुलाई प्रधानमन्त्रीको प्रश्न- जाडोमा भुकम्प पीडितका घर खोइ??



काठमाडौं,

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै सचिवहरुसँग असन्तुष्टि जनाएका छन् । सरकारले गरेका निर्णय र आफूले दिएका निर्देशनको कार्यान्वयन अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री प्रचण्डले सोमबार आफ्नै कार्यकक्षमा विभिन्न मन्त्रालयका सचिवहरुको बैठक बोलाएका थिए ।

उनले यसपटक पनि भूकम्पपीडित परिवारले न्यानो आवास पाउन नसकेकोमा चिन्तासमेत जनाए ।

‘भूकम्प गएको साढे एक बर्ष भइसक्यो, यसवीचमा जति काम हुनुपर्ने त्यो भएको छैन,’ प्रधानमन्त्री प्रचण्डले प्रश्न गरे, ‘यो जाडोमा पनि जनताले घर बनाउन नपाउने भए, किन काम गर्न सकिएन ?’

उनले आफू सरकारमा आएपछि पहिलो किस्ताको ५० हजार रुपैयाँ बाँडे पनि बाँकी किस्ता उपलब्ध गराउने र आवास तथा भौतिक संरचनाको निर्माणमा प्रगति हुन नसकेकोमा चिन्ता जनाएका छन् । प्रधानमन्त्रीको भनाई उधृत गर्दै एक सचिवले भने, ‘पुनर्निर्माणको कामलाई किन गति दिन सकिएन ? यो काम गराईंप्रति खुशी छैन ।’

यस्तै प्रधानमन्त्री दाहालले तत्काल सुधार कार्ययोजना कार्यान्वयन गर्नसमेत निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सचिवहरुलाई भने, ‘मैले सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रमका सन्दर्भमा सर्वसाधारण जनताले उठान गरेका गुनासाहरुलाई अभिलेखाङ्कन गरी मेरो कार्यालयले तिनीहरुको उचित कार्यान्वयनका लागि तपाईहरु कहाँ पठाउदै आएको छ । यस विषयमा हालसम्म के कति प्रगति भयो ? मलाई जानकारी गराउनुहोस्।’

उनले कर्णालीमा सुत्केरी भएका महिलालाई चामल दिने आफ्नो निर्देशन किन कार्यान्वयन भएन भनेरसमेत प्रश्न गरेका छन् । यस्तै अनुगमन उपलब्धीमुलक नभएको समेत प्रधानमन्त्रीको टिप्पणी थियो ।