समाप्त भयो सेतेको वंश « Himal Post | Online News Revolution
Logo

समाप्त भयो सेतेको वंश



-भुवनहरि सिग्देल

चरा मलाई मन पर्ने प्राणी हुन् । चराका बारेमा मसँग रोचक स्मरण छन् । यहाँ ती सबैलाई स्थान दिन सम्भव छैन । त्यसैले यहाँ परेवाका कुरा मात्र गरौँ । मैले माधव ढकाल, हाम्रा पुरोहितको घरबाट एक जोडी परेवा ल्याएर दहचोकको घरमा पालेको थिएँ, २०४५ सालमा । यो जोडीका बीचको अनुपम रसरङ्ग बिदाका दिन घरमै बसेर घण्टौंसम्म हेरेको छु मैले । तिनको सम्बन्ध विच्छेद र वियोगान्त भयो । त्यो घटना पनि पछिलाई राखूँ ।
२०६५ सालदेखि दहचोकको घर छाडेर पाटनको सानेपामा बस्न थालेँ म । त्यस्तै एक वर्ष बितेको थियो होला, मेरो घरदेखि अलि परका वृद्ध मानिसले उनका घरमा पालेका सेता परेवाका राम्रा जोडी मेरो घरमा आउन थाले । कौसीतिर लुटपुटिन थाले । मैले तिनलाई कुनै चारो दिएको पनि थिइनँ तर तिनले मेरो घर छाडेनन् । अति जोखिमपूर्ण कुनामा फुल पारेर कुर्न थाले । नचाहेरै पनि म तिनका मोहनीमा फेरि फसेँ । मानिसका गृहस्थी र त्यसभित्रका दुःखसुखजस्तै घटना ती परेवाका परिवारमा पनि देखिन थाले । छुट्टी भिन्नका रहस्य खुल्न थाले । ती कुरा म पछाडि उल्लेख गर्नेछु । यहाँ म तिनका परिवारवृद्धिका क्रम बताउँछु ।
ती परेवा निक्खुर सेता थिए । तिनका सन्तान पनि सेतै निस्किन थाले । तिनका लागि बस्ने घर साँघुरो भयो । प्लाई उडका टुक्रा ठोकेर खण्डखण्ड भएको नयाँ घर बनाइदिएँ । तिनको रकचक सुरु भयो । तीन वर्ष पूरा हुँदा नहुँदै सेतेका छोराछोरी र नातिनातिनाले गुँड भरिन थाले । बिहान साँझ तिनलाई चारो दिन्थेँ । यसरी चारो दिने वेलामा परपरका खैरा परेवा पनि झुम्मिएर चारो टिप्थे । तिनका विविध अर्घेलालाई मेरा परिवारले सहे पनि फोहोर गरेको विषयले आफैलाई दिक्क लाग्थ्यो ।
२०६९ साल माघ महिनाको अन्तिम हप्ताको समय थियो, तिनमा अनौठो रोगको लक्षण देखियो । अघिल्लो दिन झोक्राउने र काम्ने, त्यसको भोलिपल्ट भुतुक्कै मर्ने । ए के हो यस्तो भन्दाभन्दै चार दिनभित्रमा एधार वटा परेवा मरे । बाँकी थिए उही पुराना जोडी मात्र । पाँचौ दिनमा ती दुवै झोक्राए । ती पनि मर्ने निश्चय भयो । हत्तपत्त उठाएर कागजको बट्टामा हालेँ । तिनलाई बोकेर म पशुपंछी चिकित्सालय, त्रिपुरेश्वरमा गएँ ।
डाक्टरले तिनको जाँचपडताल सकेर भने— यी परेवा अब उड्न सक्दैनन्, यिनका आँखाको भर छैन, धमिलो देख्छन् । घाँटी र टाउकामा समस्या छ । मैले दस दिनलाई चक्की ओखती लेखिदिएको छु । बिहानबेलुका आधाआधा चक्की जीवनजलमा घोटेर ड्रपरले खुवाउनु होला । ड्रपरबाटै दिनमा पाँच छ पटक जीवनजल पनि खुवाइरहनु होला ।
कस्तो भुर्नहत्ते आइलाग्यो यो ? मानिसलाई उचित सेवासुसार गर्न गाह्रो यो जमानामा परेवाको धरालो र कुरुवा बस्नपर्ने भयो । तुलबुल हुँदै अस्पतालको ढोकाबाट बाहिर निस्केँ म । मनमा कुरा खेले । आ, लगेर वागमतीमा कागजको बट्टासहितै हुत्याइदिऊँ क्यारे । यो विचार आउनासाथ म झस्केँ—
‘के मैले मेरा रहर र खुसीले घरमा पाल्न ल्याएको हुँ यिनलाई ?‘
‘अहँ, होइन । यी दुवै परेवा यिनकै खुसीले मेरो घरमा बस्न आएका हुन् ।‘
‘यिनीहरू किन मेरै घरलाई रोजेर बस्न आएका होलान् ?‘
‘उपयुक्त लाग्यो होला ।‘
‘के उपयुक्त ? योभन्दा बढी उपयुक्त घर यो सहरमा अरू थिएनन् र ?‘
‘पक्कै थिए ।‘
‘अनि मेरै घरमा किन आए ? कारण के हो ? यो घरमा यिनका लागि उचित वासस्थान, गुँड पनि केही थिएन । तिनका लागि कुनै मीठो चारोको जोहो पनि यहाँ छैन । दिएको उही एक मुठी कनिका हो । यति चारो त यी जहाँ पहिला बस्थे, त्यहाँ पनि मिलेकै हुँदो हो ।‘
यसको उत्तर मसँग भएन । कुनै घटना त्यसरी नै किन घट्छ ? यसको उत्तर के ? मेरो दिमाग हल्लिन थाल्यो । कोही कसैका लोग्नेस्वास्नी किन हुन्छन् ? किन मानिस त्यही घरमा जन्मिन्छ ? किन ऊ त्यसरी मर्छ ? किन त्यही घाटमा तिनै समिधाले जल्न पुग्छ ? के अरू घाट र अरू समिधा थिएनन् ? पक्कै कारण होला । भनिन्छ विनाकारण यहाँ केही पनि हुँदैन । त्यसो हो भने यी परेवा र मेरो सम्बन्ध के हो ? यी मर्न लागे भनेर मभित्र दयाभाव जागृत हुनुको कारण के ? यिनका सबै सन्तान मरेर गएका थिए । यी पनि मरेर जान्थे, कथा नै सकिन्थ्यो तर यहाँ कथा सकिएन । कुनै अज्ञात कारणले यी बाँचे हुने भन्ने भावना मभित्र जागृत हुनु, यिनलाई बोकेर अस्पतालसम्म धाउनु भनेको यी नमरून् भन्ने चाहना मसँग भएकै कारणले हो । जसरी हाम्रा घरका आफन्त बिरामी हुँदा हतारहतार तिनलाई अस्पताल लैजान्छौं, बचाउने प्रयास गर्छौं, त्यसैगरी मैले यिनलाई अस्पतालसम्म ल्याएँ । जसले जे सुकै भनून् यी मेरा आफन्त हुन् भन्ने प्रमाणित मैले नै गरिसकेको थिएँ ।
मेरा पैताला अनायास औषधी पसलतिर तन्किए । जीवनजल र औषधी गरेर तीन सय असी रुपियाँको बिल त्यहाँ तिरेँ । अब सुरु भयो तिनलाई ओखती, जीवनजल र चारो खुवाउने धामा । तीन दिनपछि तिनमा केही सुधार देखियो । कामेर झोक्राउन छाडे । हलचल गर्न र चारो टिपेर खान भने तिनले सकेनन् । मुठीमै दिएको चारो पनि चुच्चाले च्याप्न तिनले सकेनन् । तिनका चुच्चा च्यातेर घाँटीसम्म घँचेटिदिएको दाना बलपूर्वक निल्थे । यसरी चारो नदिने हो भने ती परेवा अवश्यै मर्ने कुरा प्रष्ट देखियो ।
यसैगरी पन्ध्र दिन बित्यो । ओखती सकिइसकेको थियो । ती दुवै भालेपोथी कौसीमा ध¥याङम¥याङ गर्दै हिड्नसक्थे । अझै केही उपायले ती जोडी पूर्व जीवनमा फर्कन सक्नेहुन् कि ? भन्ने तर्क मनमा चल्यो । म फेरि उही डाक्टरलाई भेट्न गएँ, सबै कथाव्यथा बताएँ । उसले सोध्यो— ‘बिरामी परेवाका संसर्गमा अरू खैरा परेवा पनि हुँदाहुन्, ती परेवा मरे कि मरेनन् ?‘
‘थिए । यीसँगै लुटुपुटु गर्ने थुप्रै खैरा परेवा थिए तर ती भने कुनै पनि मरेको देखिएन । जो मरे ती सबै यिनका खलक मात्र थिए ।‘ मैले भनें ।
‘यिनका सन्तान सबै सेतै थिए कि अरू रङका पनि जन्मिए ?‘
‘मर्ने एघार वटामध्ये दस वटा निक्खुर सेता थिए । एउटा वर्णसङ्कर जन्मेको थियो । छ महिनाअगाडि । त्यो एक्लो थियो । त्यसका पखेटा खैरा थिए । पुच्छर भने सेतो थियो । त्यसलाई देखेर म पनि अचम्ममा परेको थिएँ, यो कसरी भयो ?‘
‘महामारीमा त्यो पनि म¥यो होला, हैन ?‘
‘म¥यो । त्यो पनि म¥यो ।‘
‘यस्तो हुन्छ । पक्कै अहिले बँचेकी पोथी कुनै खैरो भालेको बलात्कारमा परी । एउटै जातिका चरामा यस्तो घटना हुन्छ । यहाँ तपाईंका सेता परेवा मात्र मरेका छन् । खैरा मरेनन् भनेपछि यो कुनै फ्लूको कारण भने होइन । बँचेका दुईमा कुनै सुधार हुन्छ कि, अरू पन्ध्र दिनलाई म ओखती लेखिदिन्छु । त्यसैगरी खुवाउनु होला । यसले बढी सुधार भएन भने यिनलाई पक्षघात हुने सम्भावना छ ।‘ उसले औषधीको कागत लेखेर मलाई बिदा ग¥यो ।
दयावन्त परिचारिले बिरामीको सूक्ष्म हेरचाह गरेजस्तै मेरोे परेवाको सेवा गर्ने क्रम चालु भयो ।
अर्को पन्ध्र दिन पनि हामीले त्यसैगरी औषधी खुवायौं । यो काममा मेरी श्रीमती र कान्छी बुहारी शशिकलाले निकै सघाए तर सोच्नोस् त चराको चुच्चो उघारेर निरन्तर ओखती र चारो खुवाउनु कति संवेदनशील काम हो ? त्यो पनि एकपटक या एक दिन होइन । चराका जस्ता अङ्ग हाम्रा नहुनु, तिनका मनोविज्ञानमा हाम्रा ध्यान नपुग्नु प्रमुख समस्या त्यहाँ थिए । तिनलाई भोक लागेको होस् या नहोस्, हाम्रा दाहिने हातका बूढी र चोरी औंलाले च्यापेको दाना तिनका घाँटीसम्म अँचेटेर पु¥याउनु कति झिँजो काम हो ?
यही क्रमले अर्को पन्ध्र दिन पनि बित्यो । ओखती पनि सकियो । तिनमा बढी सुधार केही पनि भएन । ती बाँच्नका लागि बाँचे मात्र । भुइँको दाना टिप्ने अभ्यास तिनले गरून् भनेर दाना छरिदिन्थ्यौं । परपरका खैरा परेवा झुम्मिएर फटाफट चारो टिप्न थाल्दथे । तिनले चारो खाँदा भने हाम्रा दुवै परेवालाई स्वाभाविक रूपले ईष्र्या बढ्थ्यो । ती पनि खैरा परेवाका बीचमा पस्थे र भुइँतिर ठुङ्थे तर चारोभन्दा तीन चार इन्च वरपर तिनका चुच्चा नराम्रोसँग ठोकिन्थे । तिनलाई पक्कै दुखेको हुन्थ्यो । रनथनिएर आकाशतिर चुच्चो ठड्याएर गर्दन हल्लाउँथे । मलाई लाग्थ्यो मैले बिचरालाई दुःखमाथि सास्ती दिएँ । जति नै झन्झट भए पनि औंलाले दाना खुवाउन विवश भयौं हामी । पानीको भाँडोमा चुच्चो गाडिदिएपछि चुर्रचुर्र तानेर आफैं खान्थे ।
पाँच महिना बितेर गयो । यो अवधिमा पोथीमा पक्षघातको लक्षण देखिन थाल्यो । वेलावेलामा गर्दन बटारेर आकाशतिर हेर्ने र छटपटाउने गर्न थाली । उसको घाँटी र टाउको समेत बादाँतर्फ बटारिएको थियो । उसका आँखा सदैव आकाशतिरै फर्केका हुन्थे । कहिले भने भुइँमा उत्तानो परेर ढल्थी र घाँटी छिनालेर छोडेको कुखुराले जस्तै जोडले पखेटा चलाएर छतमा घुम्थी । उसलाई मर्का परेको हुँदो हो तैपनि हामी बलात् दाना खुवाउँथ्यौं । कहिले त हुलुक्क गरेर खाएको दाना नै उल्टी गर्थी । उसको व्यथा के हो ? कहाँ दुखेको छ ? त्यो कुरा बुझ्न तीसँग दोहोरो संवाद आवश्यक हुन्थ्यो । चरीभाषाको ज्ञान हुनु आवश्यक थियो । त्यो विषयमा हाम्रो ज्ञान शून्य थियो ।
पोथीको तुलनामा भाले निकै चनाखो लाग्थ्यो । उसमा पक्षघातको लक्षण पनि देखिएको थिएन । चार महिनापछि देखि मुठीको चारो टुपुटुपु टिपेर बलपूर्वक निल्थ्यो बिचरा । यसरी निल्दा आधाजस्तो दाना भुइँमा खस्थे ।
२०७० साल असारको तेस्रो हप्ता ।
म र श्रीमतीलाई पन्ध्र दिनको लागि चितवन जानु थियो, धान रोप्ने काममा । रोपाइँ सकेर हामी साउन दस गते घरमा फक्र्यौं । त्यो अवधिमा घरधन्दा, छ वर्षे अधबेस्री नातिनी स्वागताको हेरचाह र ती परेवाको सुसुर्को जम्मै बुहारीको दायित्वमा थियो । धान रोपाइँ छाडेर परेवाको धरालो बस्ने कुरा पनि आएन । उताको काम सकेर घरमा आएकै दिन बुहारीले भनिन्— ‘यी परेवालाई कुनै मन्दिरमा लगेर छोडिदिनुप¥यो ।‘ उनका कुराभित्र कति धेरै विम्ब समेटिएको थियो । म झस्केँ । यो त वृद्ध र असक बाबुआमालाई वृद्धाश्रमको ढोकामा फालेर आउने सन्तानको कुराजस्तै भयो ।
मैले अर्कै ढङ्गले कुरा गरेँ — ‘तिम्रो भनाइ ठीक हो । सारसौदो अवस्थामा भए यिनलाई मन्दिरतिर छाडिदिए पनि कुनै फरक पर्ने थिएन । यिनीहरू आफै दाना टिपेर खान सक्ने स्थितिमा छैनन् । अर्को समस्या यी उड्न मात्र नसक्ने होइनन् आँखाको पनि भर छैन । यो अवस्थाका बचरालाई मन्दिरमा छोडेको दिनमै यिनको मरण निश्चय छ ।‘
त्यही वेला मेरी श्रीमतीले पनि करिबकरिब बुहारीको जस्तै मत प्रकट गरिन् —‘केही उपाय नगरे त हुन्न । कति दिनसम्म यिनको सुसुर्को गर्ने होला खोइ ? मलाई पनि दिक्क लाग्दै आएको छ ।‘
यी सासूबुहारीका मनोविज्ञान बुझ्न मलाई गाह्रो परेन । तुरुन्तै कुनै उपाय नसोचेमा यी परेवामाथि षडयन्त्र हुनसक्ने प्रबल सम्भावना देखियो । मैले श्रीमतीलाई लक्ष्यित गरेर भनें— ‘हेर, तिम्रा र मेरा बाबाआमा बितेर गइसके । तिमी हामी पनि अब बूढा हुँदै छौं । हामीलाई घातक रोग पनि लाग्नसक्छ । त्यो अवस्थामा हाम्रो देखभाल गर्न झिँजो लागेर यी छोराबुहारीले हामीलाई कुनै मन्दिर या पाटीतिर छाडेर आए भने के हुन्छ ?‘
‘आ, कताको कुरो कता पु¥याएको हो ?‘ श्रीमती ठसक्क परिन् ।
उनको प्रतिक्रियाबाट म झनै सोच्न बाध्य भएँ । निकै गम्भीर भएर मैले भनेँ — ‘यो कताको कुरै होइन । हामी दुवैका बाबाआमा बिते । ती कहाँ पुगे ? के भए ? हामीलाई अत्तोपत्तो केही पनि छैन । हामीले सुनेका चौरासी लाख योनि घुम्ने क्रममा कतै यी परेवाका योनिमा पुगेर आफन्त खोज्दै हाम्रा घरमा आएका त होइनन् ? यदि त्यो हो रहेछ भने के यिनले हामीलाई सराप नगर्लान् त ?‘
मेरो कुरा सुनेर सासूबुहारी नाजबाफ भए । त्यस दिनपछि ती परेवालाई घरबाट पन्छाउने प्रसङ्ग नै चलेन । उता परेवाका हालत भने उस्तै थियो । रातमा बस्नका लागि सुरक्षित ठाउँ बनाइदिएको थिएँ मैले । दानापानीको बन्दोबस्त थियो । बिहान उठ्नासाथ म कौसीमा पुगेर तिनको खोजीखबरी गर्थें । दानापानी खुवाउथेँ । कहिले सासू या बुहारीले त्यो काम गरिसकेका हुन्थे । त्यस्तै साँझको प्रबन्ध गर्नुपर्ने दिनचर्या नै थियो हाम्रो । यो क्रम दिन, महिना र वर्ष बनेर घुमे । परेवा मर्दा पनि मरेनन्, चारो टिपेर खान सक्ने पनि भएनन् ।
२०७१ साल चैत्र महिना थियो त्यो । पोथीलाई व्यथाले गाल्न थाल्यो । चराको आयु हो, बूढी पनि भइहोली । म बल गरेर दाना खुवाउन खोज्थेंं, निल्न सक्दैनथी । झोक्राएर बस्न थाली । उसको चुच्चोबाट एक प्रकारको हडिँदो पानी बग्न थाल्यो । त्यो दिन मैले बिस्तारै हातमा उठाएँ । ज्यानको मासु सुकिसकेकोले होला पुतलीजस्तै हलुका थिई । मैले हातमा लिँदा पनि उसलाई करक परेको जस्तो गरेर अस्पटाई । आँखा चिम्ली । ऊ मेरो हत्केलामै लोलाउन थाली । मेरो मनमा अर्को कुरा जन्म्यो— ‘सबै प्राणीको यस्तै एक दिन आउँछ ।‘
उसलाई शीतलमा लगेर राखिदिएँ । भोलिपल्ट बिहानै म कौसीमा पुगेँ । मैले हिजो राखेकै ठाउँमा कुक्रुक्क परेर त्यो पोथी मरिसकेकी थिई । उसको चुच्चोले भुइँमा छोएको र त्यहाँ अलिकति हडिँदो पानी बगेर सुकेको थियो । आँखावरिपरि केही कमिलाको सिलिङमिलिङ देखियो ।
म मरेकी परेवी नजिकै टुक्रुक्क बसेँ । म त्यहाँ बस्नासाथ भालेचाहिँ असन्तुलित खुट्टा चाल्दै मरेकी पोथी नजिक गयो । टक्क अडियो । घाँटी बटारेर कहिले दायाँ र कहिले बायाँ आँखाले हेरेझैं गर्न थाल्यो । म सोचमा परेँ, के यो परेवाले दुःखित हुँदै आफ्नी पोथीको मृत्यु भएको खबर मलाई सुनाएको हो त ? एकाएक मेरो छाती गह्रुङ्गो भयो । आँखा भरिए मेरा । झटपट मैले त्यो भाले परेवालाई हातमा उठाएँ । त्यसले सहज मानेन । एक मुठी मकै लिएर त्यसलाई खुवाउन खोजें । अहँ, त्यसले एक दाना मकै पनि च्यापेन । बरु मेरो पन्जाबाट मुक्ति लिने मनसाय ग¥यो । मैले त्यसलाई भुइँमा छोडेँ । मरेकी पोथीलाई गमलामा सतगत गरेर तल आएँ म । यो खबर मैले दुवै सासूबुहारीलाई सुनाएँ । स्तव्ध बने दुवै । श्रीमतीले भनिन्— ‘साह्रै दुःख पाएकी थिई बिचरीले ।‘ वास्तवमा दुई वर्षदेखिको निरन्तर सेवा र सुसुर्कोले ती उडुवा चरा नभएर घरका आफन्तजस्तै भइसकेका थिए हाम्रा ।
पोथीको देहावसानपछि भाले परेवामा भिन्न क्रियाकलाप देखिन थाल्यो । कौसीमा आउने खैरा परेवालाई घुरेर खेद्ने असफल प्रयास गथ्र्यो । कुनै मानिस कौसीमा गयो भने उसको वरिपरि घुम्ने, तल्लो तलामा मानिस बोलेको सुन्यो भने भ¥याङबाट खुरमुरिँदै तल आएर लुटुपुटु गथ्र्यो । दाना टिपेर खान नसक्ने, उड्न नसक्ने र आँखाको भर नपाउने कमजोरी बाहेक त्यो तन्दुरुस्तै देखिन्थ्यो ।
२०७२ साल वैशाख १२ गतेको महाभूकम्पलाई त्यसले कौसीमै बसेर बेहो¥यो । भूकम्पमा उसको त्यहाँ के गतिविधि थियो ? म तल्लो तलामा बसेको हुनाले केही देखिनँ । त्यो मध्यभूकम्पमा पनि छतकै कौसीमा गएर मैले त्यसलाई चारो खुवाएँ ।
२०७२ सालको जेठ २० गते म कौसीमा जाँदा त्यो परेवाले मस्तसँग गमलाको माटो खाइरहेको थियो । मलाई अचम्म पनि लाग्यो, हातमा दिएको मकै पनि राम्रोसँग खान नसक्ने यो परेवामा गमलाको माटो चुच्चाले खोस्रेर खाने शक्ति कसरी आयो ? यसअघि पनि अलिअलि माटो परेवाले खाएको म देख्थेँ । शरीरमा क्याल्सियमको कमी भयो या अपच भयो भने तिनले माटो खान्छन् भन्ने कुरा मैले बुझेको थिएँ । आज यो भालेले माटो खाइरहेको थिएन, हसुरिरहेको थियो । मैले त्यसलाई हातमा उठाएँ र मुठीमा मकै लिएर खुवाउन खोजेँ । अहँ, त्यसले एक दाना मकै पनि खान मानेन । मैले भुइँमा छाडिदिएँ । त्यो त ध¥याङम¥याङ गर्दै फेरि उही गमलामा गयो र अझै फुर्तीसँग माटो खान थाल्यो । मैले विरोध गरिनँ ।
त्यो दिनदेखि त्यसको अनसन सुरु भयो । हामी तीनै जनाले चारो खुवाउने प्रयत्न ग¥यौं तर कसैका हातबाट पनि एक दाना मकै खाएन । २२ गतेदेखि प्वाँख फुलाएर झोक्राउन थाल्यो । उसको हलचल सबै बन्द भयो । कौसीको कुनामा जिउका प्वाँख छरेर एकनाससँग बसेको देखियो । २४ गते बिहान बलै गरेर मैले दुई दाना मकै कोच्याएँ । भुँडीतिर छामे । असामान्य रूपले त्यसको भुँडी फुलेको ठानेँ । मेरो दिमागमा कुनै उपाय सुझेन । २५ गते बिहान म कौसीमा पुग्दा मैले हिजो बसेको ठाउँमा त्यो परेवालाई देखिनँ । यताउता खोजेँ । पानी राख्ने ड्रमको भित्तामा सेतो पुच्छरजस्तो देखेर म नजिकै गएँ । त्यो परेवा उत्तानो परेर त्यहीँ मरेको थियो । यस्तो लाग्थ्यो आफ्नै पखेटाको डसनामा अनन्तलाई हेरेर महानिद्रामा सुतेको छ त्यो । सेतेका खलकको यो प्रथम र अन्तिम पात्रले माटो खाएर आत्महत्या गरेपछि यो घरबाट सेतेको वंश निर्मूल भयो ।
पहिले माधव ढकालका घरबाट पाल्न भनी ल्याइएका जोडीको दुखद वियोग मैले बेहोरेको थिएँ । यस लेखमा उल्लेख भएका सेता परेवाको घटना पनि सुखद भएन । तथापि यी परेवासँग नजिकै रहेर बितेका छ वर्षमा यिनका बारेमा निकै रहस्य बुझ्ने अवसर भने मलाई प्राप्त भयो । तिनको एक दुई टुक्रा सारसङ्क्षेप पनि यसमा लेखूँझैँ लाग्यो ।
यतिखेर मेरो मनले के भनिरहेको छ भने अब म परेवाको पनि सङ्गतै गर्दिनँ । त्यो सेते भाले बितेको दिनदेखि घरमा आउने खैरा परेवामाथि प्रतिबन्ध लगाउन सुरु गरेँ । घरका कुनातिर तिनले गुँड बनाउन लागेको देखेँ भने पनि भत्काएर फालिदिन लागेँ । यसरी तीसँग विनाकारण आक्रोशित भएको कुरा तिनले बुझे । त्यसको जबाफमा मलाई देख्ने बित्तिकै घूँ घूँ आवाज गरेर हप्काउन थाले । तैपनि मैले टेरिनँ । त्यसपछि मैले रोपेका गमला खोस्रिने र भरखर रोपेका फूल बिरुवा चुच्चाले तानीतानी उखेल्ने गर्न थालेका छन् अहिले । हेरौँ यो द्वन्द्व कति दिन चल्छ ।
परेवाका बच्चा एक्ला नजन्मून् । अन्य चराको पनि यही दशा हो कि म जान्दिनँ तर परेवाको एक्लो बच्चा हुनुको नीरस जिन्दगी अत्यन्त कारुणिक छ । परेवाले एकपटकमा दुई वटा नै फुल पार्छन् । कुनै वेला एउटै मात्र पनि हुनेरहेछ या एउटा फोस्रो बन्नेरहेछ । भालेपोथीले बचेको एउटैलाई पनि कोरल्छन् । चारो खुवाएर हुर्काउँछन् । गुँडबाट उडेको पहिलो दिनसम्म बाबुआमाले बचराको मुखमा चारो हालिदिन्छन् । दोस्रो दिनपछि त्यो बचरो आफूनजिक आएको पनि तिनले मन पराउँदैनन्, घुर्दै बच्चालाई ठुँग्छन् र लखेट्छन् । यसको मतलव अब तिम्रो संसार तिमी नै जान, तिमी नै खोज । प्वाँख लगाएर उडाएपछि हाम्रो भर नपर । एक प्रकारले कति राम्रो संस्कृति रहेछ यिनको । मानिसको जस्तो जिन्दगीभरि पराश्रित हुने वातावरण र सोच परेवाको हुँदैन । कौवा या अन्य चराले केही समयसम्म बच्चालाई चारो खुवाएको देखिन्छ । कहिलेसम्म खुवाउँछन् ? त्यो अध्ययन गरेर मात्र थाहा हुन्छ । परेवाको भने एक दिनपछि मायामोह सकियो ।
परेवाका जोडी आफ्नै दिदीभाइ या भाइबैनी नै बन्ने हुन् । दुइटा जन्मे जोडी बने तर एउटा जन्म्यो भने त्यो एक्लो भयो । उसको गृहस्थी नै समाप्त हुन्छ र एकल जीवन बाँच्न विवश हुन्छ । एकल एकलका बीचमा संसर्ग भएको पनि देखिएन । त्यो एक्ले सबैबाट तिरस्कृत हुन्छ । बाबुआमाको गुँडमा पस्न त गुँडबाट उडेको दोस्रो दिनबाटै प्रतिबन्ध लागिहाल्छ । उसले एक्लै एउटा कुनामा झोक्रेर जिन्दगी बिताउनुपर्छ । बाबुआमाले फेरि अर्को कारखाना सुरु गर्छन्, फुल कोरल्छन्, उडाएर पठाएपछि यही चक्र पुनः सुरु हुन्छ । यसमा यत्ति ।

सानेपा