सिद्धार्थनगरको विकास गर्न २० वर्षे गुरुयोजना - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सिद्धार्थनगरको विकास गर्न २० वर्षे गुरुयोजना



भैरहवा : समुन्नत, सवलीकरण, हराभरा, सफा सुग्घर एवं पर्यटकीय नगर बनाउने उद्देश्य सहित सिद्धार्थनगर नगरपालिकाले २० वर्षे दीर्घकालिन एकीकृत सहरी विकास गुरुयोजना बनाउने भएको छ ।

स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने र बुद्ध जन्मस्थल लुम्बिनीको प्रदेशद्वार समेत रहेको यो नगरको चौतर्फी विकास गर्ने उद्देश्य सहित गुरुयोजना बनाउन लागिएको हो । गुरुयोजना तयार गर्न यही मंसिर भित्र परामर्शदाता छनौट गर्ने र परामर्श दातालाई नगरवासीको घरदैलोमा पठाई नगरवासी, बुद्धिजीवी, राजनीतिकर्मी, समाजसेवी र विषयगत क्षेत्रका विज्ञहरुको सहभागितामा एक वर्ष भित्र गुरुयोजना बनाइने सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले बताए ।

‘गुरुयोजनामा आगामी २० वर्ष भित्र गर्ने एकीकृत विकासको योजना समावेश गरिने छ’, प्रमुख अधिकारीले भने– ‘हामीले सिद्धार्थनगरलाई देशकै उत्कृष्ट र सम्मुनत एवं पर्यटकीय नगरपालिका बनाउन चाहन्छौं, सोही अनुसारका योजना गुरुयोजनामा समावेश गरिने छ ।’ गुरु योजनाभित्र शिक्षा, स्वास्थ्य, सडक निर्माण, खानेपानी, सरसफाई, वृक्षारोपण लगायतका जनमुखी वृहतर योजना समावेश गरिने छ ।

लामो समय जनप्रतिनिधिविहीन हुँदा प्राप्त सम्भावना हुँदाहुँदै पनि विकसित हुन नसकेको सिद्धार्थनगरलाई जनप्रतिनिधिहरु आएसंगै योजना सहित विकास गर्न थालिएको छ । पर्यटकीय विकासका लागि नगरपालिकाले नगर भित्र पर्ने डण्डा खोलामा बोटिङ सञ्चालन गर्ने, नेपाल–भारत सीमा नाका बेलहियामा विशाल बुद्ध मूर्ति निर्माण गर्ने जनाएको छ । त्यसका लागि टेण्डर समेत आह्वान गरिसकिएको छ । यस्तै नगरका मुख्य स्थानका घरहरुमा बुद्ध जीवनींसग मेल खाने गरी एकै किसिमको रङ लगाउने लगायतका योजना अगाडी सारेको छ ।

डम्पिङसाइड नहुँदा जथाभावी फोहोर फाल्नाले दुर्गन्धित बन्दै गएको नगरलाई स्वच्छ र सफा राख्न फोहोर व्यवस्थापनलाई व्यवस्थित गर्दै लैजाने नगरपालिकाले जनाएको छ । रातिको समय र बिहानको समयमा नगर प्रहरी परिचालन गरी जथाभावी फोहोर फाल्नेलाई कारबाही गरिने प्रमुख अधिकारीले बताए । ‘हामीले अधिकांश वडाहरुमा दैनिक फोहोर उठाउन ट्याक्टर पठाउने गरेका छौं, ट्याक्टरमा फोहोर नफालेर यदि कसलै जथाभावी फोहोर फाल्छ भने त्यस्तालाई नगरपालिकाले जरिवाना सहित कारवाही गर्छ’, अधिकारीले भने– ‘छ्यापछ्याप्ती नगर प्रहरी परिचालन गरिएको छ, जथाभावी फोहोर फालेको भेट्टिएमा प्रहरीले पक्राउ गर्छ र कारवाही गर्छ ।’

नगरपालिकाले महिला तथा बाल विकास, शिक्षा, स्वास्थ्य, कृषि र पशुविकास जस्ता कार्यक्रमलाई प्रभावकारी बनाउन रु.११ करोड ४८ लाख विनियोजन गरी काम अगाडि बढाएको उपप्रमुख उमा काफ्लेले बताइन् । एशियाली विकास बैंकको ऋण सहयोगमा संचालित एकीकृत सहरी विकास आयोजनालाई पारदर्शी, गुणस्तरीय र जनमुखी बनाउन आफूहरु कटिबद्ध रहेको काफ्लेले बताइन् ।

नगरपालिकाको कार्यालय भवन जिर्ण हुनाको साथै नगरपालिकामा कार्यरत कर्मचारीहरुको लागि आवश्यक पर्ने कार्यकक्ष समेत अभाव भएकाले वडा नं. ५ मा पर्ने हाटबजारमा रहेको पिआइयु इकाई रहेको भवनलाई भत्काई सो स्थानमा नगरपालिका कार्यालय भवन निर्माणको लागि नक्सा निर्माण भइरहेको नगरपालिकाले जनाएको छ । २ अरब ३८ करोडको लागतमा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत खानेपानी, विद्युत, ग्रिनरी, फुटपाथ, पक्कि नाला लगायतका सम्पूर्ण पुर्वाधार सहितको २५ कि.मी. नयाँ सडक; आइयुडिपी अन्तर्गत निर्माण भईसकेको १०.५ कि.मि. सडकमा फुटपाथ, ग्रिनरी निर्माण तथा १२.५ कि.मि. मुख्य सतह ढल निर्माण काम ३० महिना भित्र सम्पन्न गर्ने गरी ठेक्का बन्दोबस्त भई निर्माण कार्य समेत अगाडी बढाई सकिएको उपप्रमुख काफ्लेले बताइन् । उनले विमानघाटपथ, रंगशालापथ, प्रभातपथ, शिवपथ र जनतापथमा सडक निर्माण भइरहेको बताइन् ।

बैंकरोडमा खानेपानीको पाइप विछ्याउने कार्य शूरु भइसकेको छ र एक महिना भित्र सडक निर्माण कार्य शूरु गरिने बताइन् । नगरपालिकामा प्राप्त बजेट नभएकाले थोरै रकमबाट भए पनि अधिकाशं काम अगाडि बढाइएको उपप्रमुख काफ्ले बताइन् । नगरपालिकाको बढ्दो यातायातको चापलाई व्यवस्थित गर्नको लागि शहरी विकास मन्त्रालय, भवन डिभिजन कार्यालय भैरहवाद्वारा बसपार्क विस्तारको काम अगाडि बढाएको जनाएको छ । त्यस्तै पंचवाटिकामा पार्क विस्तारको कार्य पनि प्रारम्भ भइसकेको जनाएको छ ।