विवेकशील साझा पार्टिद्वारा बाम एकतालाई स्वागत - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

विवेकशील साझा पार्टिद्वारा बाम एकतालाई स्वागत



हिमाल पोस्ट /असोज १८ 

विवेकशील साझा पार्टिले भर्खरै भएको बामशक्तिबीचको एकतालाई स्वागत गरेको छ। विवेकशिल साझा पार्टिका प्रवक्ता रमेश पौड्यालले प्रेस विज्ञप्ति जारी गर्दै सानो मुलुक तर धेरै संख्यामा राजनीतिक पार्टिहरु क्रियाशील रहेको पृष्ठभूमिलाई हेर्दा उस्तै राजनीतिक बिशेषता बोकेका दलहरुबीचको एकतालाई हामी सकारात्मक रुपमा लिन्छौं र त्यसको स्वागत  गर्छौं भनेको छ।

विवेकशील साझा पार्टिको प्रेस विज्ञप्ति

नेपाली राजनीतिको उलेख्य भूमिकामा रहेका केही वामपंथी पार्टीहरुको चुनावी तालमेल तथा पार्टी एकता प्रयास प्रति हाम्रो पार्टीको पनि ध्यानाकर्षण भएको छ। सानो मुलुक तर धेरै संख्यामा राजनीतिक पार्टीहरु क्रियाशील रहेको पृष्ठभूमीलाई हेर्दा उस्तै राजनीतिक विशेषता बोकेका दलहरुबीचको एकतालाई हामी सकारात्मक रुपमा लिन्छौं र त्यसको स्वागत गर्छौं।

तर नेपाली राजनीतिले संबोधन गर्नैपर्ने सुशासन, विकाश र संवृद्धिका मुद्धाहरुमा यो एकता प्रक्रियाले कस्तो भूमिका निर्वाह गर्न हो भन्ने कुरा अझै स्पस्ट छैन। खासगरी विभिन्न अमिल्दा र कतिपय राजनीतिक मुद्धाहरुमा परस्पर विपरित धारणा समेत राख्दै आएका दलहरु बीचको हठात तालमेल तथा एकता प्रक्रिया मूल्य-मान्यता, संस्कार र विधिको राजनीति गर्ने दिशातर्फ होइन, पार्टीलाई शक्तिशाली र सरकार बनाउने दिशातर्फ मात्र लक्षित हो कि भन्ने देखिन्छ। जसले एकातिर, नेपाली राजनीतिमा देखिएको भ्रष्ट्राचारी, अपारदर्शी तथा दोहनकारी चरित्रलाई अझ बलियो बनाउने संभावना छ भने अर्कोतिर, विगतमा दलीय भागवण्डाद्धारा राज्यको दोहन गरिरहेका दलहरुको एकताले भविष्यमा पनि राज्य संचालनको तहमा अल्पतन्त्र (ओलीगार्की)लाई अझ वढि संस्थागत गर्ने जोखिम देखिन्छ।

आसन्न निर्वाचनको मुखैमा चाहेर वा नचाहेर वर्तमान राजनीतिक ध्रुविकरणले निम्त्याउन सक्ने राजनीतिक अस्थिरताको जोखिमलाई समेत मध्यनजर गरेर सबै राजनितिक दलहरुलाई जिम्मेवार र सतर्क रहन समेत हामी आग्रह गर्न चाहान्छौं। त्यसैले यो नयाँ परिप्रेक्षमा विवेकशील साझा पार्टीले नेपालमा निष्ठा, आदर्श र सुसंस्कृत राजनीतिको औचित्य र आवश्यकता अझै बढेर गएको मात्र होइन, यसको महत्व र जिम्मेवारी समेत झन् बढ्दै गएको महशुस गरेको छ। अत: ‘सुसंस्कृत राजनीति सहितको संवृद्धि आफ्नै पालामा’ हेर्न चाहने संम्पूर्ण तह र तप्काका नेपाली नागरिकहरुले विवेकशील साझा पार्टीलाई अझ दरिलो साथ र समर्थन दिने कुरामा पार्टी विश्वस्त छ।

रमेश पौड्याल
प्रवक्ता
विवेकशील साझा पार्टी