विदेश जाने लोभमा चार नेपाली युवा नयाँ दिल्लीमा अलपत्र - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

विदेश जाने लोभमा चार नेपाली युवा नयाँ दिल्लीमा अलपत्र



आशा थपलिया ,नयाँ दिल्ली /जेठ २८ 

विदेश गएर धेरै पैसा कमाउने प्रलोभनमा परेर ठगिएका चार नेपाली युवाहरु नयाँ दिल्लीमा अलपत्र परेका छन् । बेल्जियम जाने प्रलोभनमा परेर मोटो रकम दिएपनि उनीहरु जान पाएनन् ।गत मे महिनाको अन्तिम साता दिल्ली आइपुगेका उनीहरुले वर्किग भिसा लगाइदिने प्रलोभन दिएका बेल्जियम नागरिक भन्ने पिटर संजय(राभा डिकोस्टा) लाई करीब २१ लाख भारतीय रुपैया अर्थात(३३ लाख नेपाली रुपैया)बुझाइसकेपछि ठगिएको चाल पाए ।

घरबाट विदाबारी भई बेल्जियम उडनका लागि दिल्ली आइपुगेका यी नेपालीहरु पैसा लिएर एजेन्ट सम्पर्कविहिन भएपछि झल्याँस भए । उनीहरु मध्ये बेल्यिमका लागि सबैभन्दा पहिला प्रकृया थालेका समीर(नाम परिवर्तन)ले अन्नपूर्णसँग कुरा गर्दै भने, डकुमेन्टेसनको शूल्क र भिसा प्रोसेसिंग फि भन्दै तीन पटक गरेर ८ लाख भन्दा बढी रकम मेको २६ सम्ममा पिटरलाई बुझाएँ । त्यसको तीन चार दिनसम्म मोबाइलमा कुरा भइरहेको थियो । अहिले त मोबाइल नै अफ छ ।’

ठगिएका चार मध्ये समीर बाहेक अन्य तीन जनामा एक जना काठमाडौंमा स्नात्तकोत्तर अध्ययन गर्दै गरेका विद्यार्थी, रेष्टुराँमा कुकको काम गरिरहेका एक युवा तथा दिल्लीको रेष्टुराँमा काम गरिरहेका अर्का नेपाली युवा रहेका छन् । मोबाइलमा सम्पर्क हुन नसकेको पिटर भने भाइबरमा सक्रिय रहेको युवाहरुले बताए । नयाँ दिल्ली स्थित नेपाली दूताबासमा उजुरी गर्न आएका यी युवाहरुले अन्नपूर्णसँग कुरा गर्दै भने, ‘हामीले पिटरसँग पैसा फिर्ता नगर्ने हो भने आफूहरुले प्रहरीमा उजुरी गर्ने भन्दै भनेका थियौं तर उल्टो धम्की दिन थालेको छ । प्रहरीमा उजुरी गरेमा उल्टै तिमीहरु नै फस्छौं भन्छ,’ भाइबरमा भएको कुराकानी देखाउँदै उनले भने ।

नेपालमा रोजन नाम गरेको एक एजेण्ट मार्फत समीर तथा रेष्टुरेन्टमा काम गरिरहेको अर्का रविन(नाम परिवर्तन) ले बेल्जियम जाने प्रकृया सुरु गरेका थिए । ‘फेमस पेसिफिक सिपिंग कम्पनी’मा कामदारको माग रहेको फेसबुकको विज्ञापन देखाएर रोजनले डकुमेन्टेसनको प्रकृयालाई उक्साएको समीरले बताए । एक सातापछि कागजात आउँछ भनेर कागजात लिएको रोजन एकाएक हराएपछि पिटरसँग इमेल मार्फत सम्पर्क गरेको उनले बताए । ‘दुरुस्तै सक्कली जस्तो देखिने यी कागजात देखेर झुक्कियौं, कागजात देखाउदै उनले भने । ‘पैसा सबै ऋण गरेर ल्याएका थियौं । फिर्ता गराउनका लागि सहयोग माग्न दूताबासमा आएका हौं, एकै स्वरमा उनीहरुले भने ।

चार जनाले पिटरलाई दिल्लीको राजीब चोक तथा मजनुका टिला गरेर भिन्दा भिन्दै स्थानमा पैसा बुझाएका थिए । दूताबासका काउन्सिलर ओम प्रकाश जोशीले पिडितले दिल्लीको मजनुका टिला एरियामा पैसा बुझाएको हुनाले त्यही आसपासको प्रहरी कार्यालयमा एफआइआर दर्ता गराएपछि मात्र दूताबासले प्रकृया थाल्न मिल्ने बताउनुभयो । उहाँले भन्नुभयो ,‘ उहाँहरुले एफआइआर दर्ता गराएपछि दूताबासले दिल्ली प्रहरीलाई सहयोगका लागि भन्ने हो । त्यसपछि नेपालमा केन्द्रिय अनुसंधान ब्यूरो, महाराजगंजमा उजुरी दिएको आधारमा नेपालमा पनि छानबीन प्रकृया अगाडि बढने हो । ‘

ठगिएका सबै नेपालीहरु बाग्लुङ जिल्लाका हुन् । ‘सबै प्रकृया पूरा भइसकेको भन्दै एक साताभित्र बेल्जियम पठाइदिने भनेर हामीलाई बोलाइएको थियो । अलपत्र परियो, उनीहरुले सुनाए । समीरले गरेको डकुमेन्टेसनको कागजात हेरेर अन्य तीन जनाले पनि प्रकृया थालेको सुनाए । घरबाट तारम्तार आइरहेको फोनले उनीहरु थप तनावमा छन् । पैसा पनि गयो, पासपोर्ट पनि गयो, कसरी घर फर्किएर जाने । ऋणको बोझले थलिएका यी चारै युवा एकअर्कासँग मुखामुख गर्दै आफैसँग प्रश्न गर्दैछन् ।

‘पीडित पक्षले पनि गल्ती त गरेकै हुन् यस्ता एजेन्ण्टहरुलाई विश्वास गरेर । तर यस्ता घटनाका पछाडि ठगी गर्ने गिरोह सक्रिय छ । त्यसको नियन्त्रणका लागि सरकार पनि गम्भीर हुनुपर्छ,’ पिडितलाई सहयोग गरिरहेका दिल्लीमा चार्टड एकाउन्टेन्टमा अध्ययनरत विद्यार्थीहरुले गुनासो गरे । सामाजिक तथा पारिवारिक बाध्यताका अलावा धेरै पैसा कमाउने युवाहरुको लोभका कारण पनि नेपालीहरु ठगिने क्रम नरोकिएको भने यो घटनाले पुनः पुष्टि गरेको छ । गत महिनामा पनि २४ जना नेपाली चेलीलाई दिल्लीबाट उद्धार गरेर नेपाल फर्काइएको थियो ।

अन्नपूर्णबाट