विद्या भट्टराईले भनिन: नेकपाले अब सधै दुईतिहाई ल्याउँछ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

विद्या भट्टराईले भनिन: नेकपाले अब सधै दुईतिहाई ल्याउँछ



पोखरा- कास्की–२ को उपनिर्वाचनबाट निर्वाचित विद्या भट्टराईले विकास र राष्ट्रियताको अभियानमा नेकपाको कुनैपनि विकल्प नभएको जनाएकी छन् ।

निर्वाचन पश्चात पोखरामा सोमबार आयोजित विजयसभालाई सम्बोधन गर्दै भट्टराईले जनताले लिएको विकास निर्माणको नीतिलाई उपनिर्वाचनले अनुमोदन गरेको समेत बताइन् ।

राष्ट्रिय स्वाधीनता र ‘समृद्ध नेपाल र सुखी नेपाली’को सरकारको नीतिको पक्षमा जनताको अभिमत रहेको उल्लेख गर्दै प्रतिनिधिसभा सदस्य भट्टराईले अर्को पटकको आम निर्वाचनमा पनि नेकपाले दुई तिहाइ स्थानमा जित्ने दावी गरिन् ।

नवनिर्वाचित भट्टराईले रवीन्द्र अधिकारप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनको अधुरो सपनालाई पूरा गर्ने वचनबद्धता जनाइन् ।

जनताले दिएको अभिमत र निर्देशनलाई पूरा गर्न आफू दृढ सङ्कल्पित रहेको उल्लेख उनको भनाइ छ ।

“भूमिहीनको समस्यालाई समाधान गर्न एक वर्षभित्रमा लालपुर्जा वितरण गर्ने व्यवस्था मिलाइनेछ ।समृद्ध पोखराका लागि स्वास्थ्य तथा शिक्षा, उज्यालो पोखराका लागि विद्युतका साथै सौर्य ऊर्जाको व्यवस्था गरिनेछ” उनले भनिन्, “पोखराको आर्थिक समृद्धिका लागि अन्तर्राष्ट्रिय पर्यटकीय केन्द्रका रुपमा विकास र अन्तर्राष्ट्रिय स्तरको खेलकूद मैदान लगायतलाई प्राथमिकता राखिनेछ ।”