प्रधानमन्त्रीले तामझामका साथ उद्घाटन गरेका विद्युतीय बसभित्रको रोचक कथा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रधानमन्त्रीले तामझामका साथ उद्घाटन गरेका विद्युतीय बसभित्रको रोचक कथा



-नारायण गाउँले

प्रधानमन्त्रीले डेढ़ वर्षअघि तामझामका साथ उद्घाटन गरेका यी विद्युतीय बस त तपाईंलाई याद होला, तर त्यसभित्रको रोचक कथा शायद थाहा नहुन सक्छ ।

-विश्व सम्पदा सूचीमा रहेको लुम्बिनी क्षेत्रमा विद्युतीय बस चलाउने योजना देखाएर एशियाली विकास ब्याङ्कसँग पैसा मागिन्छ ।

-विश्वास दिलाउन चार्जिंग स्टेशन पनि लुम्बिनीमा बन्दै थियो । तर चीनको BYD कम्पनीसँग किनिएका ती बस भने लुम्बिनी नगई काठामाडौं आइपुग्छन् । यो बस पर्यटन मन्त्रालय मार्फ़त किनिएको थियो ।

-चार्जिंग स्टेशन, रोड परमिट, दर्ता, इन्स्योरेन्स र रुट परमिट केही नबन्दै हतार हतार प्रधानमन्त्रीले उद्घाटन गर्छन् र काठामाडौंमा पेट्रोलियम युग समाप्त भएको भाषण हुन्छ ।

-अचम्म त के भने एउटा बस उद्घाटन गर्न प्रधानमन्त्रीमात्र होइन, पर्यटनमन्त्री, अर्थमन्त्रीदेखि वनमन्त्रीसम्म भेला हुन्छन् । नम्बरप्लेट र इन्स्योरेन्स सम्म नभएको बस सड़कमा कुदाउनु आफैमा गैरकानुनी काम हो, तर देशको प्रधानमन्त्री नै चढ़ेपछि त्यतातिर धेरैको ध्यान गएन ।

-तर भोलिपल्टै ती बस ग्यारेजमा थन्किन्छन् । दर्ता नभई चलाउन मिल्ने कुरो भएन । अब वास्तविक खेल सुरु हुन्छ । किन दर्ता पनि नहुँदै उद्घाटन गर्न हतार गरिएको थियो भन्ने रहस्य खुल्न थाल्छ ।

-आफैले किनेको र प्रधानमन्त्रीसँगै मिलेर हतार हतार आफैले उद्घाटन गरिसकेपछि बल्ल पर्यटनमन्त्री रवीन्द्र अधिकारीले ती बस दर्ता गर्न मिल्ने नमिल्ने भनेर अध्ययन गर्न एउटा प्राविधिक समिति बनाउँछन् ।

-पर्यटन मन्त्रालयका उपसचिब एवं इन्जिनियर दीपक देवकोटाको संयोजनमा गठित प्राविधिक समितिले ती बसबारे अध्ययन गरेपछि चिनियाँ भनिएका ती बस भारतमा बनेका र सड़कमा गुडाउन अयोग्य भएको प्रतिवेदन दिन्छ । बसको खोल एउटा र सामान अर्कै भएको प्रतिवेदन आउँछ ।

-बोलकबोल अनुसार किनिएको सामानमा स्पेसिफिकेशन नभए या गुणस्तर नभए फिर्ता गर्न मिल्छ । ती बस योजना अनुसार लुम्बिनी गएको भए या भन्सारमा गुणस्तर चेक भएको भए फिर्ता हुन पनि सक्थे । तर, त्यसो नहोस् भन्नका लागि ती बस सोझै काठामाडौं आए र प्रधानमन्त्रीलाई राखेर हतार हतार सडकमा गुडाइयो । अब त्यत्रो मिडियामा गुड़िसकेको सामान फिर्ता गर्न कम्पनी बाध्य हुने कुरो भएन ।

-यसरी एउटै बसलाई डेढ़ करोड़ भन्दा बढ़ी मूल्यको देखाएर भारतबाट थोत्रो बसमा पेन्टिङ्ग गरिएको रहस्य मन्त्रालय आफैले खोल्छ । अन्ततः बस सड़कमा चलाउने निर्णय हुन्छ । तर चिनियाँ कम्पनीले भने यो आफ्नो ख्यातिलाई क्षति पुर्याउने नियोजित षड्यन्त्र मात्रै भएको र सम्झौताअनुसार नै बस आएको दाबी गर्छ ।

-तपाईंलाई लाग्यो होला, यसरी चीनमा बनेको भनेर भारतीय लोकल ग्यारेजमा बनेको बस बेच्ने या किन्नेलाई कारबाही भयो होला । अथवा गलत प्राविधिक रिपोर्ट दिएर करोडौं रुपियाँका बसलाई बेकामको बनाउने र प्रधानमन्त्रीलाई फसाउनेलाई कारबाही भयो होला । तर, त्यस्तो कारबाहीको दुर्घटना भएन । किन्ने पनि आफै, दर्तासम्म नहुँदै उद्घाटन गर्ने पनि आफै अनि बस त नक्कली रहेछ भनेर रिपोर्ट बनाउने पनि आफै । कसले कसलाई कारवाही गर्नु ? सबै मिलेर बसे । तिनैले फेरि मञ्च पाउँदा भ्रष्टाचारमा शून्य सहनशीलताको भाषण गरे, र गरिरहनेछन् । कथा सकियो ।

लेखक