काठमाडौँ छुट्यो हेर्दाहेर्दै... - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

काठमाडौँ छुट्यो हेर्दाहेर्दै…



मधुर धूनमा ‘काठमाडौँ छुट्यो हेर्दाहेर्दै…’ बोलको गीत लागिरहेको थियो । ५/६ जना युवा अधवैंसे मान्छे गाडीमा थिए, संयोगले मेरो यात्रा पनि सँगैको गाडीमा भयो । गाडीमा कोही घाँटीमा खादा र नयाँ झोला भिरेका थिए ।

कोही पुरानै झोला, कसैको हातमा निलो पासपोर्ट टिकट त कसैको हातमा मोबाइल फोन थियो । कसैलाई कुनै चीजको परवाह थिएन, उनीहरू गहिरो सोचमा थिए । घरि-घरि बोल्न नसक्ने ५/६ महिनाको बच्चाको अनुहार मन-मस्तिष्कमा घुम्थ्यो ।

विदेश जाँदा बुबाआमाले टर्रो आँशु निशब्द भावविव्हल अनुहारले राम्रोसँग गएस् है, गैर फोन गरेर भन्ने दुखद शब्दले कतिपयको मन मडारिएको हुनुपर्छ । प्राण प्यारीले केही नबोली आँखामा आँशु छचल्काउँदै आँखा मिच्दै आँखाको छेउबाट विदेश जाने श्रीमानलाई हेरेर भावविव्हल भएको सम्झिदै थिए ।

बीचमा अधवैंशे गाडी चालक दाइले ‘काठमाडौँ छुट्यो हेर्दाहेर्दै…’ बोलको गीत बजाइरहेका थिए । उनी पनि यो यात्रामा कत्ति पनि खुसी देखिएनन । विदेश जाने उनका कोही आफन्त थिएनन्, तर पनि उनी किन दुखी देखिन्थे कुन्नी ?

छेउमा बसेका विदेश जाने युवा, जसको घाँटीमा खादा र हातमा निलो पासपोर्ट थिए । कतिपयको छेउमा उनका आफन्त पनि बसेका थिए । निशब्द युवाहरूको अनुहार खिन्न थियो, म पालैपालो सबैको अनुहारमा नजर दौडाएको थिएँ । मेरो मन निचोरियो किनभने हातमा पासपोर्ट हुनेहरूले देश छोड्दा सबैको मन निचोरिन्छ ।

हातमा पासपोर्ट बोकेकाहरू मध्ये एकजना अष्ट्रेलिया जाँदै रहेछन्, उनीहरूले गरेको कुराकानीबाट मलाई थाहा भयो । तीमध्ये कतिपय खाडी जाँदै थिए, प्रत्येकलाई सोध्ने कुरा भएन । जनतालाई गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी दिन्छौं भन्दै सत्तामा पुग्नेहरूको अनुहार पनि याद आयो । निर्वाचन आउँदै छ, यस्ता नाराहरू गाउँ शहरमा अझै कति गुन्जिन्छन् ।

समृद्धिको सपना देखाएर नेताहरूले यो देशमा जनयुद्ध गराए । हजारौंको संख्यामा युवा सहिद भए । तर स्थिति फेरिएन । ठेकेदारले चुनाव जिते, गुण्डाहरूले देश चलाए । शिक्षित युवाहरू खाडी गए, अशिक्षित नेताहरू गाडी चढे । सरकार नै म्यानपावर व्यवसाय चलाएर बसेको छ । यहाँ एकजना मान्छेले पार्टी छोड्यो भने हल्ला गरिन्छ, दैनिक हजारौंले देश छोड्दा सबै चुपचाप किन बसिरहेका छन् ?

ड्राइभर दाइले बजाएको गीत ‘काठमाडौँ छुट्यो हेर्दा हेर्दै…’ एक दशकअघि नरेन्द्र प्यासीले नोगेन्द्र भण्डारीको शब्दमा गाएका थिए । एक दशकपछि पनि समस्या उही छ । हेर्दा हेर्दै धेरैले काठमाडौँ छोडेका छन् र उडेका छन् सपना पूरा गर्न ।

काठमाडौँबाट छुटेकाहरू फर्किएलान् तर धेरैले आफ्नो सपना उतै छोडेर फर्किन्छन् । धेरै सपना साँचेर विदेशिएकाहरूलाई आफ्नै घर फर्किनु पनि अर्को सपना बन्छ ।