बाँस्कोटाका योजनाकार अभियोग लाग्ने डरले अमेरिका भागे - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बाँस्कोटाका योजनाकार अभियोग लाग्ने डरले अमेरिका भागे



काठमाडौं- सेक्युरिटी प्रेस स्थापनाका लागि घुस मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएसँगै अर्का एक पात्र पनि चर्चामा छन्– सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल।

उनी चर्चामा आउनाका कारण हो– प्रेस स्थापनाका लागि उनले खेलेको शंकास्पद भूमिका।

सेक्युरिटी प्रेसमा उनको भूमिकाका विषयमा संसदको लेखा समिति बैठकमा बिहीबार सांसदहरूले प्रश्न गर्दा पौडेल नाजवाफ भएका थिए। त्यसको केही समयमै सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिए। थप यस्तै प्रश्नको जवाफ सामना गर्नुपर्ला भनेर हुन सक्छ, त्यही राति पौडेल अमेरिका उडे।

मन्त्रालय स्रोतका अनुसार पौडेलकी पत्नी, छोरा र छोरी अमेरिकामै बसोबास गर्छन्। १० दिने बिदा स्वीकृत गराएर गएको भए पनि चिकित्सक पत्नीको अमेरिकी ग्रिनकार्ड रहेकाले उनी उतै बस्ने अनुमान छ। ‘उनको पनि ग्रिनकार्ड हुन सक्छ,’ उनीसँगै सुरक्षण मुद्रण केन्द्रमा काम गरेका एक पूर्वकर्मचारीले भने।

फ्रान्सको आईएन ग्रुपसँग सेक्युरिटी प्रेस स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गरिसकेको अवस्थामा पौडेलकै पहलमा जर्मन कम्पनीले प्रेस स्थापनाका लागि प्रस्ताव पेस गरेका थिए।

सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटा युरोप भ्रमणमा गएका बेला गत वर्ष माघमा फ्रान्सको आईएन ग्रुपसँग प्रेस स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो। उक्त समझदारीमा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकका हैसियतमा पौडेलले नै हस्ताक्षर गरेका थिए।

सन् २००२ मा काठमाडौं विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङमा बीई सकेका उनले पूर्वाञ्चल विश्वविद्यलायबाट मास्टर्स गरेका छन्। बीई सकेलगत्तै उनले सूचना प्रविधि केन्द्रमा काम थालेका थिए। उनले एमबीएको अध्ययन पनि सकेका छन्।

प्राविधिक विषयका ठेक्कापट्टामा सरकारले सूचना तथा प्रविधि केन्द्रका पनि राय लिने भएकाले उनी सरकारको सूचना तथा प्रविधिसबन्धी ठेक्का जोडिन पुगेका जानकारहरू बताउँछन्। यो खबर आजको कान्तिपुरमा विजय तिमल्सिनाले लेखेका छन्।

प्राविधिक एवं व्यावसायिक दुवै विषयमा जानकार भएकाले केन्द्रको राय लिने प्रायः ठाउँमा उनलाई नै प्रतिनिधि तोक्ने गरिन्थ्यो।

‘प्रायः ठेक्कापट्टामा संलग्न हुने व्यक्ति भन्ने थाहा भएपछि धेरै कम्पनीका ऐजन्टले उनीसँग सम्पर्क बढाए,’ पौडेललाई नजिकबाट चिनेका केन्द्रका एक कर्मचारीले भने, ‘ठेक्का सम्झौताअघि नै नीतिगत व्यवस्था मिलाउन उनी माहिर छन्।’

नेपाल टेलिकमले दुई कम्पनीलाई दिएको फोरजीको ठेक्कामा पनि पौडेलले सक्रिय भूमिका खेलेका थिए। १९ अर्बको फोरजी ठेक्का सम्झौता हुनुअघि कम रकम कबोल गर्ने हङकङस्थित सीसीएसआईका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर मन्त्री बाँस्कोटा र पौडेलले छलफल गरेको कर्मचारी स्रोतले जानकारी दियो।

‘नेपाल टेलिकमबाट हुनुपर्ने छलफलमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक सहभागी हुनुपर्ने कारण थिएन,’ ती कर्मचारीले भने, ‘मन्त्रीज्यूले बढी विश्वास गरेका कारण उनी सहभागी हुन पाएका हुन्।’