विकासोन्मुख पर्वतको होश्राङ्ग्दी गाविस तर बासिन्दा अझै मर्कामा « Himal Post | Online News Revolution
Logo

विकासोन्मुख पर्वतको होश्राङ्ग्दी गाविस तर बासिन्दा अझै मर्कामा



-मौसम भुसाल, पर्वत

पर्वत जिल्लाको दक्षिण भेगमा पर्ने होश्राङ्ग्दी गाविस भौगोलिक, प्राकृतिक र सांस्कृतिक हिसाबले धनी भएतापनि विकासको कुरामा भने अलि पछाडी नै देखिन्छ। यसै गाविसको उत्तर भेग गडिमा मल्ल राजा रामराजा सिंहले आफ्नो राज्य स्थापित गरेका थिए। राज्य एकीकरणका बेला उक्त राज्य गोरखाले आफ्नो हातमा लिएपछि अहिले त्यहाँ भगवती देवीको मन्दिर छ। केही साल अघि दरबारका भग्नावसेष पनि निकालिएका थिए।

उक्त डाँडो प्याराग्लाइडिङ्गको विकास गर्न सके पर्यटक आउन सक्थे भने केबलकार संचालनमा ल्याउन सके पुर्व पैयुँ राज्य एवं भगवती देवीको मन्दिरको दर्शन गर्न भक्तजनहरु आउन सक्थे। गाउँको माझमा रहेको मगर टोल पाहारकुनामा बुद्ध गुम्बा पनि छ। बर्सेनि विभिन्न ठाउँबाट भिक्षु तथा भक्तजनहरु आउने गर्छन्।तर विकट ठाउँ र यातायातको मुख्य समस्या हुने कारणले उनीहरु आउनमा कठिनाइँ हुने गर्छ।15086423_880338692066259_367136868_n

भोक्सिङ्ग,बालाकोट,उराम,काउँ,सरौँखोला,बेउलिबास, हुवास जस्ता गाबिसका माझमा रहेको होश्राङ्ग्दी गाविस प्राकृतिक रुपले पनि उत्तिकै सु-सज्जित छ। उत्तरमा रहेको गोर्ल्याङ्ग वन एवं धाम,गोरादीको सुन्तला बगान,पैयुँबाट देखिने सुन्दर अन्नपूर्ण हिमशृङ्ग्खला आदिले यो गाउँ प्राकृतिक हिसाबले कमजोर छ भन्न नसकिएला। यहाँका ताल,कुवा,वन,पाखा-पखेरा,मन्दिर,गुम्बा र यहाँका मिलनसार गाउँबासीको विन्यासले पर्यटकको आँखा र मन कसो नखिच्ला। यहाँको यातायात,शिक्षा,कृषि, पर्यटन जस्ता क्षेत्रमा विकास हुन सक्ने हो भने यो गाउँले बेग्लै रुप लिने थियो। पर्यटकका लागि होमइस्टे,होटेल लज,सुलभ यातायात, राम्रो मार्ग निर्देशन हुन सक्यो भने यहाँका प्राकृतिक, साँस्कृतिक एवं धार्मिक सुन्दरता खेर जाने थिएनन्।15032361_880339128732882_474665892_n

यहाँका बासिन्दाको आर्थिक स्थिती पनि उज्ज्वल हुन सक्ने थियो। यसै गाबिसमा रहेको सुर्य माविका पुर्वशिक्षक मेख बहादुर थापा भन्नुहुन्छ “यहाँ अपुग एउटा मात्र चिज छ त्यो हो विकास। सरकारको आँखा पुग्न सके केही न केही सजिलो हुने थियो।” शिक्षाको विषय उठान गर्ने हो भने यहाँ पक्की स्कुल त छ, शिक्षक पनि छन् । तर विद्यार्थी भने सहर लागिसके। गाउँमा विकासको कुनै गन्ध नपाएर बसाइँसराइमा होम्मिन थाले यहाँका बासिन्दाहरु। यहिँ व्यवसाय गर्ने चेत प्रसाद भट्टराई भन्नुहुन्छ ” गाउँमा खनियाँ छन्, बेडुला छन्,पुरै पाखो एक्लो छ, बाँझा वारि छन् तर मान्छे छैनन्। व्यवसाय गरेर सकिएन। अब आफ्नो मेसो पनि बाटो तताउने नै हो।” स्थानीय लगानीमा खनिएको कच्ची मोटर बाटोमा एक दुई जीप-ट्रक चल्ने गर्छन्। तैपनि झरीमा पहिरो गएर बाटो नै ठप्प हुने गर्छ। यस कारण स्थानीय तथा यातायात व्यवसायी डम्वर बहादुर शाही र मान बहादुर नेपाली यसैको मर्कामा परेका छन्।15045804_880352705398191_1200504760_n

गाउँको दक्षिणी भेग गोरादीमा सुन्तला खेती थालनी गरेका सोम राना भन्छन् ” सुन्तला समयमा बजारसम्म पुर्याउन नसक्दा घाटामा पर्ने डर हुन्छ। यहाँको बाटोको भर हुँदैन।” हिजो भरखर सोमीडाडाँं टोलमा जीप दुर्घटनामा परी दस जना घाइते भए। उनीहरुको उपचार गर्न नजिकै कि त वालिङ्ग कि त पोखरा सम्म पुर्याउन पर्ने हुन्छ। गाउँको हस्पिटलमा औषधि तथा आवश्यक सामाग्रीको अभावमा उपचार गर्न गाह्रो भएको भन्दै डा. राम प्रसाद काफ्ले गुनासो राख्नुहुन्छ। यसरी विभिन्न अभावको घेराबन्दिमा परेको यो गाउँमा बिजुली, नयाँ वेल इक्विप्ड हस्पिटल तथा प्रसुती गृह, नेट सुबिधाको सहितको स्कुल जस्ता केही विकासका झिनो लक्षण चाहिँ नदेखिएको होइन । पर्यटकिय हिसाबले सुन्दर, कृषिका हिसाबले उर्बर यश गाबिसमा सरकारको एउटा आँखा पुग्न सके यहाँका बासिन्दालाई आर्थिक रुपमा लाभ पुग्ने थियो। यसो भएमा बसाइँसराइको यो बढ्दो चल्ती कम हुने थियो कि?