प्रचण्डलाई आरामले हराउँछु : विक्रम पाण्डे - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रचण्डलाई आरामले हराउँछु : विक्रम पाण्डे



१४ कात्तिक, चितवन ।

वनमन्त्री तथा राप्रपा (प्रजातान्त्रिक)का नेता विक्रम पाण्डेले प्रचण्ड मात्र हैन जो आए पनि आफुले चुनाव जित्ने बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा मंगलबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पाण्डे माओवादी अध्यक्ष प्रचण्डसँग चितवन क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धा गर्दैछन् ।

कांग्रेसको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग प्रतिनिधिसभा निर्वाचन लड्न लागेका विक्रम पाण्डेले कांग्रेसका मतदाताको सबै भोट आफूले पाउने दावी समेत गरेका छन् । कांग्रेसकै चाहनामा प्रचण्डसँग चुनाव लड्न लागेको उनले बताए ।

‘यसैपनि यो क्षेत्रमा कांग्रेस बलियो छ । हामी पनि कम छैनौं, दुवैको मत मिल्दा जित्न सजिलो छ,’ , ‘कांग्रेसका सबै मतदाताले मलाई भोट हाल्नेमा ढुक्क छु ।’

भरतपुर महानगरको निर्वाचनमा कांग्रेसले माओवादीलाई समर्थन गरेको र त्यसको ३ महिना पनि पुग्दानपुग्दै माओवादीले धोका दिएकाले कांग्रेसको मत आफूले पाउने उनले बताए ।

कांग्रेस नेता-कार्यकर्ताहरुकै सल्लाहमा र उनीहरुकै चाहानामा आफूले उम्मेदवारी दिन लागेको भन्दै नेता पाण्डेले जित सुनिश्चित भएको दावी गरे ।

आफ्ना धेरै प्रतिस्पर्धीमध्ये माओवादी अध्यक्ष प्रचण्ड पनि एउटा भएको उनले बताए । जनताको काम र विकास निर्माणका कामले चितवनमा आफूले जति अरुले नगरेको उनको दावी छ । माओवादी अध्यक्ष प्रचण्डले चितवनबाट निर्वाचन जितेर देशको नेतृत्व गर्छु भन्नुभएको छ, तपाईं के गर्ने भन्ने प्रश्नमा पाण्डेले भने, ‘मैले पनि देशको नेतृत्व नै गर्ने हो ।’