विक्रम पाण्डेलाई नेकपामा भित्राउन लबिङ तिब्र - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विक्रम पाण्डेलाई नेकपामा भित्राउन लबिङ तिब्र



काठमाडौं- नेकपामा नेतृत्वको चर्को विवादकाबीच अर्को खबरले राजनीतिक माहोल तताएको छ । एकातिर पार्टी फुट्ने अवस्था आएको चर्चा भैरहेको छ भने अर्कोतर्फ व्यवसायी तथा राप्रपाका पूर्व उपाध्यक्ष विक्रम पाण्डेलाई पार्टीमा भित्राउन लबिङ तिब्र बनेको खेलेको छ

अध्यक्ष प्रचण्डसंग चुनावमा प्रतिद्वन्दी बनेका पाण्डे चितवनमा शक्तिशाली मानिन्छन । उक्त क्षेत्रमा गएको निर्वाचनमा ४८ हजार मत ल्याएर विजयी भएका प्रचण्डको मुख्य प्रतिष्पर्धी पाण्डे नै थिए । उनले ३८ हजार भन्दा बढी मत पाएका थिए । यस भन्दा अगाडि पाण्डे नै यस क्षेत्रको सांसद थिए ।

हाल सत्तारुढ दल नेकपा आन्तरिक विवादको भूमरीमा फसेको छ । प्रधानमन्त्री ओली र प्रचण्ड–माधव गरी दुई समूह नेकपामा देखिनेगरी सक्रिय भएपनि झलनाथ खनाल, वामदेव गौतम, रामबहादुर थापा र नारायणकाजी श्रेष्‍ठका पनि गुट अस्तित्वमा छन् ।

हाल चुलिदैँ गएको विवादले पार्टी विभाजन हुने अवस्था आएमा चाहिँ प्रचण्डसँगै नेपाल, खनाल, थापा र श्रेष्‍ठ गुट एकै ठाउँमा उभिने पक्का छ ।

चितवनलाई स्थायीरुपमा राजनितीक थलो बनाउन लागेका प्रचण्डलाई यसै क्षेत्रमा काउन्टर दिने नेताको खोजी प्रधानमन्त्री ओलीले गरेको पनि पनि चर्चा चलेको छ । त्यसका लागि राप्रपाका पूर्व उपाध्यक्ष तथा निर्माण व्यवसायी विक्रम पाण्डे उपयुक्त पात्र हुनसक्ने ओली निकट नेताहरुको बुझाई छ ।

तर, कतिपय नेकपा नेताहरूले भने पाण्डेलाई नेकपामा ल्याउने प्रस्ताव अध्यक्ष प्रचण्ड =ले नै गरेको बताएका छन् । चितवनमा आफ्नो पकड बलियो बनाउनका लागि प्रचण्डले उनलाई नेकपा ल्याउन लबिङ गरिरहेको बताइएको छ ।

अध्यक्ष प्रचण्डले यसको छनक चुनाव जित्नेबित्तिकै दिएका थिए । चुनाव जितेलगत्तैको एक कार्यक्रममा प्रचण्डले राजनीतिमा स्थायी सत्रु र स्थायी मित्र कोहि नहुने बताएका थिए । उनले भोलिको दिनमा मिलेर अगाडी बढ्ने सम्मको बाचा गरेका थिए ।

हाल राप्रपामा आफ्नो सम्मानजनक पोजिसन नभएको गुनासो गर्दै आएका र चुनाव चिन्ह हलो हुनुपर्ने अडानमा रहेका पाण्डेले राप्रपा छाड्न सक्ने चर्चा राप्रपाभित्रै सुरु भएको छ ।

पाण्डे पशुपति शमशेर जबराले नेतृत्व गरेको राप्रपाको उपाध्यक्ष थिए । हाल कमल थापा, पशुपति शमशेर र डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको ३ वटा राप्रपा बिच पार्टी एकता भएपछी पाण्डे पार्टीमा धेरै सक्रिय छैनन् ।

त्यसो त राप्रपाका संस्थापक नेता सुर्यबहादुर थापाका छोरा एवं पार्टीका सहमहामन्त्री तथा पूर्वमन्त्री सुनिल थापा काँग्रेस प्रवेश गरिसकेका छन् । त्यसभन्दा अगाडि राप्रपाका पुर्व कोषाध्यक्ष कास्कीका नेता सुर्यबहादुर केसी पनि काँग्रेस प्रवेश गरी समानुपातिक सांसद बनिसकेका छन् ।

यद्यपि राप्रपा नेता पाण्डेले भने आफुले पार्टी छाड्ने कुरा आफ्नै सहकर्मीले चलाएको हल्ला मात्रै भएको टिप्पणी गरेका छन् । तर उनले पार्टीभित्र आफ्नो असन्तुष्‍टी रहेको चाहिँ स्वीकार गरेका छन् ।

चितवनमा प्रचण्डको राजनीतिक पकड भन्दा पाण्डेको पकड बलियो छ । पाण्डेले खासगरी पश्‍चिम चितवन र माडी क्षेत्रमा आफ्नो राजनीतिक पकड बलियो बनाएका छन् ।

हाल माडीमा नै भगवान रामको जन्मभूमि भएको भन्दै आएका प्रधानमन्त्रीलाई हिन्दू धर्मको राजनीति गरेका, स्थानियमा पकड भएका र पैसा समेत खर्च गर्न सक्ने क्षमताका पाण्डेलाई पार्टीमा ल्याउँदा सोहि क्षेत्रका प्रचण्डलाई काउन्टर दिन सकिने विश्‍वास छ ।